कोइराला नेपाली जनताका अभिभावक : प्रचण्ड



गिरिजाप्रसाद कोइरालाको आठौँ स्मृति दिवस

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरिजाप्रसाद कोइराला कांग्रेस पार्टीको मात्र नभई राजनेताका रूपमा सबै नेपालीको अभिभावक रहेको बताएका छन् । गिरिजाप्रसाद कोइराला मेमोरियल कलेजको पाँचौँ स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले सबै नेपालीको अभिभावक कोइरालाका विषयमा गरिने प्रत्येक कार्यक्रममा बोलाउन आग्रह गरेका थिए ।

‘उहाँको (गिरिजाप्रसाद) नाम जोडेर गरिने कार्यक्रममा म अतिथि भइन भने त्यो कार्यक्रम अधुरो हुन्छ,’ प्रचण्डले भने, ‘गिरिजाबाबु र मेरो शान्तिप्रक्रियामा आउँदा अभूतपूर्व सम्बन्ध कायम भएको थियो, उहाँका कारण नै हामी यहाँसम्म आइपुग्यौँ । तसर्थ उहाँको नामसँग जोडिएका कार्यक्रममा मलाई बोलाउन नबिर्सनुहोला ।’ माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन गिरिजाबाबुले लामो पहल गरेको र त्यसका कारण आफ्नो सम्बन्ध राम्रो भएको प्रचण्डको भनाइ थियो ।

मुलुकमा गणतन्त्र ल्याउन आफूले गिरिजाप्रसादसँग रोल्पा, रुकुम र भारतको दिल्लीबाट दैनिक १ घण्टासम्म कुराकानी गर्ने गरेको उनले स्मरणसमेत गरे । गिरिजाप्रसादको सपना पूरा गर्नका लागि शान्ति, सहमति र सहकार्यलाई सबैले अँगाल्नुपर्नेमा उनको भनाइ छ ।

कांग्रेस र कम्युनिस्ट मिलेर निरंकुश पञ्चायत र राजतन्त्रको अन्त्य गरेजस्तै अब मुलुकको विकास र समृद्धिको नयाँ यात्रा कोर्न सत्ता र प्रतिपक्ष एकजुट भएर लाग्नुपर्ने उनले बताए । राजनीतिक रूपमा सत्तापक्ष र प्रतिपक्ष अलग भए पनि राष्ट्रिय मुद्दामा एकजुट भएको उनले बताए । ‘सत्तापक्ष र प्रतिपक्ष परम्परागत रूपमा रहने हो भने देश बन्दैन, त्यसैले दुवै मिलेर देश बनायौँ भने मात्र गिरिजाको सपना पूरा हुन्छ,’ प्रचण्डले भने । गिरिजाप्रसादको ७ चैत ०६६ मा निधन भएको थियो ।

गणतन्त्र कोइरालाको अगुवाइमा आएको हो : नेपाल

०६२–६३ सालको जनआन्दोलनका कमान्डर एवं पूर्वप्रधानमन्त्री गिराजाप्रसादको आठौँ स्मृति दिवसमा काठमाडौंमै आयोजित अर्को कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपालले गणतन्त्र ल्याउन कोइराला सहमत नभएको भए मुलुकमा सहजै गणतन्त्र नआउने बताए । गणतन्त्र ल्याउनकै लागि नेपालीले धेरै मूल्य चुकाउनुपर्ने उनको तर्क थियो ।

कार्यक्रममा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले अहंकारवादले देश अगाडि बढ्न नसक्ने बताएका छन् । नेपालको इतिहासमा सबैभन्दा शक्तिशाली कोइरालाले सबैभन्दा कम शक्ति प्रयोग गरेर सबैको सहमतिमा गणतन्त्र ल्याउने महान् कार्य गरेको उनले बताए । माओवादी नेता नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको महारोगलाई नेपालबाट अन्त्य गर्न सके मात्र मुलुक समृद्ध बन्ने बताए । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्