ऋण असुली न्यायाधीरकणले कर्जा भुक्तानी नगर्ने ऋणीलाई पहिलोपटक पक्राउ पुर्जी जारी गरेको छ । एनआइसी एसिया बैंकले ऋणीलाई नै थुनामा राखी बैंकको कर्जा रकम असुलउपर गरीपाउँ भनी न्याधीकरणमा दिएको निवेदनअनुसार न्यायाधीकरणले महानगरीय प्रहरी परिसरलाई पत्राचार गरेको थियो ।
सोहीअनुसार महानगरिय प्रहरीले ऋणीमध्येका मधुसूदन अग्रवाल र विनोदकुमार अग्रवाललाई बुधबार पक्राउ गरेको छ । उनीहरूलाई अर्को आदेश नआएसम्म एक वर्ष थुनामा राखिने न्यायाधीकरणका स्रेस्तेदार भेषराज कोइरालाले बताए ।
एनआइसी एसिया बैंकले न्यु अनिल टेक्सटाइल इन्डस्ट्रिजका विरुद्धमा दिएको उजुरीमा फैसला गर्दै न्यायाधीकरणले ९ करोड २१ लाख रुपैयाँ बिगो हठर गरेको थियो । न्यायाधीकरणले टेक्सटाइल तथा व्यक्तिगत जमानीकर्ताको चल–अचल सम्पत्ति लिलाम गरी बिगो रकम असुलउपर गर्न निर्देशन दिएको थियो । तर, बारम्बारको तोकतापछि पनि ऋणी सम्पर्कमा नआएको र ऋणीको कुनै पनि सम्पत्ति फेला नपरेको भन्दै न्यायाधीकरणले पक्राउ पुर्जी जारी गरेको ऋण असुली शाखा प्रमुख प्रकाश पराजुलीले बताए ।
न्यु अनिल टेक्सटाइल इन्डस्ट्रिजले विनोदकुमार अग्रवाल, मधुसूधन अग्रवाल र किशन शर्माको व्यक्तिगत जमानीमा एनआइसी एसिया बैंकबाट ५ करोड रुपैयाँ कर्जा लिएको थियो । टेक्सटाइलले अधिविकर्ष कर्जा २ करोड ५० लाख रुपैयाँ १ वर्षभित्र भुक्तानी गर्ने गरी र माग कर्जा २ करोड ५० लाख रुपैयाँ ४ महिनाभित्र भुक्तानी गर्ने गरी कर्जा लिएको थियो ।
तर, टेक्सटाइल नै बन्द गरी ऋणीहरू सम्पर्कमा नआएपछि बैंकले २०७१ साल पुस ३ गते न्यायाधीरकणमा टेक्सटाइलका विरुद्ध उजुरी दिएको थियो । त्यस्तै, न्यायाधीकरणले २०७३ साल माघ १३ गते ऋणीको चल–अचल सम्पत्ति लिलाम गरी बैंकको सावाँ र ब्याज असुलउपर गर्ने फैसला गरेको थियो । ऋणीमध्येका दुईजना पक्राउ परे पनि किशन शर्मा भने अझै सम्पर्कविहीन छन् । पक्राउ परेका विनोदकुमार अग्रवाल मधुसूदन अग्रवालका पिता हुन् । अमृत भोगमा उनीहरूले अप्रत्यक्ष लगानी गरेको बुझिएको न्यायाधीकरणले बताएको छ ।
बैंककै नेतृत्वमा पक्राउ
न्यायाधीरकणले पहिलोपटक ऋणीलाई पक्राउ गरी थुनामा राखेको हो । ऐनअनुसार बैंकले निवेदन दिएको अवस्थामा ऋणीलाई पक्राउ गर्न पाउने व्यवस्था छ । तर, हालसम्म कुनै पनि बैंकले सहयोग नगरेकै कारण ऋणीले उन्मुक्ति पाउँदै आएको न्यायाधीकरणका ऋण असुली शाखा प्रमुख पराजुलीले बताए । ‘तर, यो मुद्दामा एनआइसी एसिया बैंकले नै नेतृत्व लियो । बैंकहरूको ऋण असुली गर्न हामी उत्साही छौँ । वित्तीय संस्थाले हामीलाई यसरी नै सहयोग गर्नुपर्छ,’ उनले भने ।
नौ महिनामा करिब १ अर्ब असुली
चालू आर्थिक वर्ष २०७४/७५ को फागुन महिनासम्ममा न्यायाधीरकणले ९७ करोड ३४ लाख रुपैयाँ ऋण असुलउपर गरेको छ । मिलापत्र र फैसला कार्यान्वयनबाट न्यायाधीकरणले सो रकम असुलउपर गरेको हो । चालू आवको अन्त्यसम्ममा न्यायाधीरकणले ४ अर्ब रुपैयाँ असुली गर्ने लक्ष्य लिएको न्यायाधीरकण ऋण असुली शाखाका प्रमुख प्रकाश पराजुलीले बताए । न्यायाधीकरणको तथ्यांकअनुसार हालसम्ममा भने न्यायाधिकरणले १८ अर्ब १६ करोड रुपैयाँ असुल गरेको छ । (नयाँ पत्रिका)