कोरियाली प्रायद्वीपमा तनाव कम गराउने प्रयास लगातार भइरहेका छन् । उत्तर कोरिया, दक्षिण कोरिया र अमेरिका सम्बन्धमा जमेको बरफ पगाल्ने कोसिसमा जुटिरहेका छन् । यी कोसिसबीच अमेरिका र दक्षिण कोरियाली सेनाले १ अप्रिलदेखि सैन्य अभ्यास गर्न गइरहेका छन् ।
यद्यपि दुवै देशले यस अभ्यासलाई उत्तर कोरियालाई भड्काउने कारबाहीका रूपमा हेर्न नहुने बताएका छन् । यो सैन्य अभ्यास मार्चमा सुरु गर्नुपर्ने थियो, तर हिउँदे ओलम्पिक आयोजनाका क्रममा कूटनीतिक सम्बन्धमा आएको लचकतालाई ध्यानमा राख्दै यसको मिति पर सारिएको थियो ।
ठूलो स्तरको सैन्य अभ्यास
दक्षिण कोरियाका अनुसार आपसी माहोल थप सुमधुर बनाउन यसै महिना पप गायक तथा अन्य कलाकारको समूह छिमेकी देश उत्तर कोरिया पठाउने तयारी भइरहेको छ । कलाकारको सो टोलीले प्योङयाङमा दुईवटा सो गर्नेछ । यी कलाकारमा ब्यान्ड रेड वेलवेट र गायक चो योङ पिल जस्ता ठूला नाम सामेल छन् । यता १ अप्रिलदेखि तीन लाखभन्दा बढी सुरक्षा बल निकै ठूलो परिमाणका युद्ध सामग्रीका साथ अभ्यास गर्नेछन् ।
यसअघि उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाबीचको यस्तो सैन्य अभ्यासलाई आफूमाथिको आक्रमणको तयारीका रूपमा हेर्ने गथ्र्यो । यसै महिनाको सुरुवातमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका शीर्ष नेता किम जोङ उनका तर्फबाट आएको भेटघाटको निमन्त्रणा स्विकारेका थिए ।
तनाव कम गर्ने कोसिस
किम जोङ उनको यस कदमले पूरै विश्वलाई चकित बनाइदिएको छ । यसलाई कोरियाली प्रायद्वीपमा तनाव कम गराउने अभूतपूर्व कूटनीतिक प्रयासका रूपमा हेरिएको छ । दक्षिण कोरियाली अधिकारीका अनुसार उत्तर कोरियाले आणविक हतियार छाड्ने प्रतिबद्धता जनाएको छ । यसभन्दा बढी कुनै जानकारी आएको छैन ।
र, उत्तर कोरियाका तर्फबाट यस विषयमा कुनै प्रकारको सीधा प्रतिक्रिया आएको छैन । तर, यो कुराकानी अगाडि बढ्यो भने बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीचको भेटवार्ता पहिलोपटक सम्भव हुनेछ ।
उत्तर कोरियाका विदेशमन्त्री री योङ हो यसै साताको प्रारम्भमा स्विडेनमा थिए । भनिँदै छ, अमेरिका र उत्तर कोरियाका नेताहरूको भेटवार्ता यहीँ हुन सक्छ । कैयौँ मानिसको अनुमानअनुसार उत्तर कोरियाली विदेशमन्त्री भेटवार्ताको तयारीका लागि नै त्यहाँ पुगेका थिए ।
‘भड्काउने उद्देश्य होइन’
अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको मिति पहिले दक्षिण कोरियामा सम्पन्न हिउँदे ओलम्पिकको मितिसित जुधिरहेको थियो । तर, दक्षिण कोरियाले जनवरीमा सैन्य अभ्यासको मिति पछाडि सार्ने निर्णय गरेको थियो ।
मंगलबार रक्षामन्त्रीले भनेका छन् कि यो सैन्य अभ्यास १ अप्रिलदेखि गर्न सकिनेछ । र, अभ्यासको स्तर पछिल्ला वर्षमा जस्तै रहनेछ । पेन्टागनले भनेको छ कि उत्तर कोरियालाई यस निर्णयबारे जानकारी दिइएको छ । पेन्टागनले यो पनि प्रस्ट गरेको छ कि यो अभ्यास सुरक्षाका दृष्टिले गरिँदै छ र उत्तर कोरियाले यसलाई भड्काउने अभ्यासका रूपमा नहेरोस् ।
दक्षिण कोरियाका अधिकारीले वासिङ्टनमा बोल्दै किम जोङ उनले यसलाई सामान्य अभ्यासका रूपमा लिएको बताएको उल्लेख गरेका छन् । उत्तर कोरियाली नेताको यो भनाइले उनको परिवर्तित रवैयालाई संकेत गरेको छ । यसअघि भएका सैन्य अभ्यासलाई उत्तर कोरियाले ‘आगोमा घिउ खन्याउने’ प्रयास बताउने गरेको थियो र यसको कडा जवाफ दिने चेतावनी पनि दिँदै आएको थियो ।
(बिबिसी हिन्दीको समाचार टिप्पणी)
बिबिसी डट कम/हिन्दीबाट