काम्ने रोग मनको भुइँचालो



मानसिक रोग मनको रोग हो । विश्वमा तीन सय भन्दा धेरै किसिमका मानसिक रोग देखापरेका छन् । सामान्यतः मानसिक रोग कडा र सामान्य गरी दुई प्रकारका हुन्छन् ।

कुनै मानसिक रोग रोगीको बाहिरी व्यवहार हेरेर चिन्न सकिन्छ । कुनै मानसिक रोग सहजै चिन्न गाह्रो हुन्छ । सामान्य किसिमका मानसिक रोगका बिरामीले केही समय औषधि खाएपछि निको हुन्छ । कडा खालका मानसिक रोगीले जीवनभरि औषधि खानुपर्ने हुनसक्छ । निको नहुने भन्ने हुँदैन । राम्रो औषधि उपचार भयो भने प्रायः सबै मानसिक रोग उपचारपछि निको हुन्छन् ।

काम्ने मानसिक रोगलाई ‘हिस्टेरिया’ भनिन्छ । पहिले–पहिले महिलाको पाठेघरको समस्या भएर महिलामा काम्ने मानसिक रोग लागेको हो भन्ने मान्यता थियो । त्यसैले काम्ने मानसिक रोगलाई ‘हिस्टेरिया’ भनिएको हो ।

(गोपाल ढकाल,मनोविद् (साइकोलोजिस्ट)

पछि पुरुषलाई पनि काप्ने मानसिक रोग लाग्ने रहेछ भन्ने खुल्यो । त्यसपछि काम्ने मानसिक रोगलाई ‘कन्भर्सन डिसअर्डर’को नामले चिनिन थाल्यो । काम्ने मानसिक रोग कडाखालको मानसिक रोग हैन ।
महिलामा मात्रै हुने काम्ने मानसिक रोगलाई ‘हिस्टेरिया’ भनेर चिनिन्छ भने महिला–पुरुष सबैलाई हुने काम्ने मानसिक रोगलाई ‘कन्भर्सन डिसअर्डर’ भनेर चिनिन्छ ।

काम्ने मानसिक रोगलाई मनको भुइँचालो पनि भन्न सकिन्छ । किनकी भुइँचालो पनि दुईवटा प्लेट ठोक्किएपछि सतहबाट इनर्जी आउँछ । जुन इनर्जी सतहले थाम्न सक्दैन, भुइँ हल्लिन्छ, जसलाई भूकम्प भनिन्छ ।

काम्ने मानसिक रोग भएको व्यक्तिको मनभित्र पनि समस्या कुण्ठित भएको हुन्छ । मनका पीडा, डर, चिन्ता, व्यक्त गर्न नसक्दा कुण्ठित हुन्छन् । धेरै कुण्ठित भएपछि मनमा पीडा सहन सक्दैन ।

शरीरमा मनका पीडा प्रस्फुटन हुँदा मानिस काम्ने लगायतका समस्यामा पर्छन्, त्यसैलाई ‘कन्भर्सन डिस अर्डर’ भनिन्छ । यसलाई हाम्रो समाजमा धामी निस्किएको तथा बोक्सी लागेको भनेर पनि भनिन्छ ।
पश्चिमा जगतमा पहिलो पटक दोस्रो विश्वयुद्धपछि पुरुषमा युद्धको डर र त्रासले काम्ने मानसिक रोग देखापर्याे । नेपालमा पनि माओवादी लडाकुमा काम्ने मानसिक रोग देखा परेको थियो ।

कन्भर्सन डिसअर्डर लागेको मानसिक रोगीले रोगले च्यापेको समयमा काम्ने, कराउने, लडिबडी गर्ने, चिच्याउने, धामी बसेजस्तो गर्ने, विभिन्न भाषामा बोल्ने जस्ता व्यवहार देखाउँछन् । कतिपयको बोली नआउने, हात नचल्ने प्यारालाइसिस जस्तो हुने, आँखा नै नदेख्ने लगायतका लक्षण देखा पर्छन् । यो समस्या सधैँ हुँदैन । बेलाबेलमा मात्रै यस्ता लक्षण देखिन्छन् । रोगले नच्यापेको बेला मानिस सामान्य अवस्थाको जस्तै हुन्छ ।

कन्भर्सन डिसअर्डर भएका काम्ने मानसिक रोगीले कामेका बेला भूत र भविष्यका कुरासमेत गर्छन् । मानिसको दिमागमा सानोमा भएका घटना पनि स्टोर भएर बसेको हुन्छ । कामेको बेला धामी हुँ भन्दै ती पुराना कुरा बोल्छ अनि समाजले पनि मानसिक रोगीलाई धामीको रुपमा विश्वास गर्छ । तर बकिरहँदा के बोलेँ भन्ने धेरै कुुरा मानसिक रोगीलाई थाहा हुँदैन ।

काम्ने मानसिक रोगको लक्षण देखाएको समयमा रोगीलाई केही थाहा हुँदैन । काम्ने मानसिक समस्या भएको समयमा बिरामीले सबै पीडा भुुल्छ । रोगीले काम्ने लगायतको लक्षण देखाएको समयमा सबै पीडा प्रस्फुटित हुन्छन् । मनभित्र गुम्सिएका पीडा शरीर बाहिर निस्किन्छन् । पीडाका शक्ति नै शरीरबाट प्रस्फुटित हुन्छन् । र, कामेको समयमा दुब्लो मानिस भए पनि एक दुई जनाले समाउन कठिन हुन्छ ।
मनका पीडा कम्पन्नमार्फत् बाहिर निस्किएपछि रोगीलाई आनन्द हुन्छ । रोगीका मनका पीडा कामिसकेपछि जान्छन् ।

कामिसकेपछि रोगी सामान्य अवस्थामा नै फर्कन्छ । त्यसैले यसलाई खुसी हुने रोग पनि भनिन्छ । रोगीले पीडा व्यक्त गरिसकेपछि आनन्द आउने भएकाले रोगीले पटक–पटक काम्ने लक्षण देखाउँछन् । त्यति मात्रै हैन, समाजले पनि धामी उत्रियो, कुल उत्रिए लगायतका देवता चढ्यो भनेर रोगीलाई सम्मान गर्न थाल्छन् ।

अगरबत्ती बालिदिने, फलफूल चढाउने लगायतका व्यवहार गर्छन् । जुठो खुवाउनु हुँदैन भनेर मानिस लाग्छन् । चोखो–नितो गर्छन् । रोगी पनि सबैले वास्ता गर्न थालेपछि धामी हुँदा सम्मान हुने रहेछ भनेर घर–परिवार र समाजको ध्यान तान्न बिस्तारै धामीजस्तो व्यवहार देखाउन थाल्छ । धामी हुँदा सहयोग र सम्मानको व्यवहार हुँदै जाँदा मानसिक रोगी पनि बिस्तारै मानसिक रुपमा धामी हुने मनस्थितिमा पुग्छ । समाजले धामी बनाउँछ र बोक्सी लाग्योे भनेर दुव्र्यवहार पनि गर्न सक्छन् । काम्दा रोगीलाई पनि आनन्द लाग्छ ।

कामेको बेला रोगी रमाइलो मान्दै जान्छन् तर माया तथा रोगीप्रति ध्यान आकर्षित भएन भने रोगको समस्या बढेर कडा खालको मानसिक रोगको सिकारसमेत हुन्छन् । मानिस धेरै भएका बेला, सहयोगी भएको बेला, भावना मिल्ने मानिस भएका बेला, भीडभाडमा, प्रवचन भएका बेला रोगी काम्न थाल्छ किनभने त्यहाँ सहयोग मिल्ने संकेत पाउँछ तर एकान्त ठाउँमा काम्ने समस्या कम हुन्छ ।

काम्ने लक्षण यति समयसम्म हुन्छ भन्ने हुँदैन । सामान्यतः पाँच मिनेटदेखि लामो समयसम्म पनि काम्ने समस्या हुन्छ । यो समस्याबाट छुट्कारा पाएपछि मानिस सामान्य अवस्थामा फर्किन्छ । एक पटक कामिसकेपछि बिरामीलाई आनन्द लाग्छ र पटक–पटक काप्न मन लाग्छ । धामी झाँक्रीकहाँ लानु हुँदैन । जबर्जस्ती समाउने प्रयास गर्नु हुँदैन । उसलाई स्वतन्त्र छाडिदिनु पर्छ ।

काम्ने मानसिक रोगको औषधि भनेको तनाव व्यवस्थापन नै हो । पारिवारिक तथा सामाजिक रुपमा रोगीको मानसिक समस्या बुझेर सो समस्या समाधान गरिदिनुपर्छ । यसको उपचार सुझाव (काउन्सिलिङ) हो । लामो समय काम्ने लक्षण देखाइरह्यो भने रोगीमा विभिन्न डिपे्रसन लगायतका मानसिक रोगको सिकार हुने खतरा हुन्छ । त्यो अवस्थामा चिकित्सकको सल्लाहअनुसार औषधिको प्रयोग नगरी निको हुँदैन । मानसिक स्वास्थ्यमा वातावरण, हावापानी, मौसम, ग्रह लगायतका कारणले पनि असर पर्छ ।

तनाव सहने क्षमता कम हुने भएकाले महिला बढी मात्रामा मानसिक रोगको सिकार हुन्छन् । विभेद, महिला हिंसा, सामाजिक विभेद जस्ता कारणले महिलामा काम्ने मानसिक समस्या बढी देखिन्छ ।
पुरुषमा भन्दा महिलामा दुईदेखि १० गुणा कन्भर्सन डिस अर्डर मानसिक समस्या हुन्छ । हार्मोनल चेन्ज तथा महिनावारीका कारणले पनि महिलामा यो समस्या बढी हुन्छ ।

महिलामा पनि किशोर उमेरका युवतीमा बढी मानसिक समस्या देखिन्छ । यो उमेरमा पढाइदेखि यौन हिंसाको डर, विवाहको दबाब, कामको जिम्मेवारी, हार्मोनल चेन्ज लगायतका कारणले काम्ने मानसिक रोगको सिकार हुन्छन् ।

समाजमा जो पीडित छ, जो गरिब छ, जसलाई दमन गर्न सकिन्छ, त्यसलाई नै हाम्रो समाजमा बोक्सीको आरोप लगाइन्छ । धनी परिवारमा काम्ने मानसिक रोग लाग्यो भने धामी वा माता भन्छन् ।
सानैदेखि डर त्रासमा हुर्कायो, मनका इच्छा पुर्याइएन तथा अपहेलित भए भने त्यस्ता महिला मानसिक रुपमा विक्षिप्त हुन्छन् । भूतपे्रतको कथा सुनाइयो, सम्झाउने बुझाउने क्षमता भएन, सानामा कुनै कहालीलाग्दो दुर्घटना भएको छ भने त्यस्ता व्यक्तिमा कन्भर्सन डिसअर्डरको हुन सक्छ ।

धामी–झाँक्री र कन्भर्सन डिस अर्डरमा फरक छ । धामीहरु परम्परादेखि नै तालिमप्राप्त हुन्छन् । उनीहरुले आफ्ना गुरुबाट काम्ने तालिम लिएका हुन्छन् । ती मानसिक रोगी हैनन् । ती परापूर्वकालदेखि नै डाक्टरको कामसमेत गर्थे । ती स्वस्थ हुन्छन् । दुव्र्यवहार गर्दैनन् । एक्कासि कामेका हुँदैनन् । लामो समयको तालिमपछि धामी काम्न थाल्छन् ।

तर धामीको पनि काम्ने दैविक शक्ति हुन्छ भन्ने विज्ञानले प्रमाणित गरेको छैन । धामी पनि जहीँतहीँ काम्न सक्दैन । बिरामी आएको समयमा बिरामीको दबाब र विभिन्न ढोल झ्याम्टा बजाएर मात्रै धामी पनि काम्ने दबाबमा पर्छ । दिमागलाई एकाग्र गरेर मानसिक रुपमा काम्न तयार गरेपछि मात्रै धामी काम्न थाल्छ ।

निरन्तरको अभ्यासपछि जो पनि काम्न सक्छन् तर मानसिक रुपमा काम्ने रोग लागेका व्यक्तिले दुव्र्यवहारसमेत गर्न सक्छन् । (शुक्रबारबाट)

प्रतिक्रिया दिनुहोस्