हृदयेस त्रिपाठीले आफु धेरै बाठो बन्दा गुम्यो मन्त्री पद



काठमाडौं, ८ चैत

मन्त्री पद आफैँ बाठो भएर गुमाएका छन् सुर्य चिन्ह लिएर चुनाव जितेका हृदयेश त्रिपाठीले । एमालेबाट चुनाव जितेका उनलाई केपी ओली पनि मन्त्री बनाउन चाहन्थे । तर, नचाहिने ठाउँबाट भन्न लगाउँदा हिस्स परेका छन् ।

विद्या भण्डारीलाई दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित गर्न योगदान दिने सांसदका लागि आयोजित दिवा भोजमा हृदयेश र उनीसँगै एमालेको चुनाव चिह्नमा जितेका वृजेशकुमार गुप्ता पनि सामेल थिए । त्यहाँ भेटिएका वृजेश पनि आशावादी देखिन्थे केपी ओलीको क्याबिनेटमा हृदयेशले स्थान पाउनेमा ।

तेस्रो पल्ट मन्त्रिपरिषद् विस्तार हुँदा हृदयेशलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइने चर्चा थियो र प्रधानमन्त्री ओली पनि यो विषयमा सकरात्मक थिए । तर, हृदयेशले आफूलाई शिक्षामन्त्री बनाइदिनुपर्यो भन्दै भारतीय दुतावासलाई गुहारेको समाचार  जनआस्था साप्ताहिकमा छ ।

दूतावासबाट प्रधानमन्त्रीलाई फोन गएसँगै उनलाई मन्त्री नबनाइएको चर्चा अहिले राजपाका नेताले गर्न थालेका छन् । गत २ गते नेपाल–भारत विकास मञ्चको एउटा कार्यक्रममा राजपाका नेताले यस्तो खुलासा गरेका हुन् । र, राजपा वृत्तमा चलेको पछिल्लो चर्चाअनुसार राजपालाई सत्ता आरोहण रोक्न उनै हृदयेश सक्रिय छन् । कारण उनी स्वास्थ्य मन्त्रालय ताकेर बसेका छन् । यदि, राजपालाई सत्तामा ल्याउनबाट रोक्न सकिए सो मन्त्रालय आफैले चलाउन पाइने भएका कारण हृदयेशले चलखेल गरेको राजपाका नेताको आरोप छ ।

यो विषयमा बुझ्न मंगलबार बिहान सम्पर्क गर्दा हृदयेशले ‘राजपालाई सत्तामा सामेल गराउनुपर्छ भनेर मुख्य भूमिका खेल्ने नै म हुँ । त्यहीअनुसार प्रयास भइरहेको र उनीहरूकै आन्तरिक किचलोका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको’ प्रतिक्रिया दिँदै यस्ता हावादारी कुराको पछाडि नलाग्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्