संसारका उत्कृष्ट पथप्रदर्शकमा सिलवाल



काठमाडौँ, ८ चैत

मूलधारको सक्रिय पत्रकारिताबाट अलग भएर पर्यटकका पथप्रदर्शक बन्नुभएका अशोक सिलवाल संसारका ‘टप हन्ड्रेड गाइड’को सूचीमा समेटिनुभएको छ ।

संसारभरिका यात्री र पर्यटकलाई जोड्ने सबैभन्दा ठूलो अनलाइन पोर्टल टुरएचक्यूले उहाँलाई ‘ग्लोबल टुर गाइड अवार्ड २०१८’ प्रदान गरेको छ । सिंगापुरस्थित संस्थाले पर्यटकलाई अविश्वसनीय अनुभव दिलाएको भन्दै सिलवाललाई उक्त सम्मान प्रदान गरेको हो । उक्त पोर्टलले संसारभरका २६ हजारभन्दा बढी सक्रिय पथप्रदर्शकमध्येबाट उत्कृष्ट १०० को सूची तयार गरेको थियो । “२६ हजारभन्दा बढी गाइडहरुले यो सफल यात्रामा योगदान गरेका छन्, तपाईं जस्तै केही गाइडले बृहत् ज्ञान, अतुलनीय सेवा र मिलनसार व्यवहारका कारण उत्कृष्टता हासिल गरेका छन्” टुरएचक्यूले भनेको छ ।

आधा दशकअघिसम्म पत्रकारितामा सक्रिय सिलवाल पछिल्लो समय पथप्रदर्शन र लेखनमा सक्रिय हुनुहुन्छ । उहाँले भूकम्पपछि मानवविहीन लाङटाङमा पत्रकारका रुपमा सबैभन्दा पहिले पैदलै पुगेर त्यहाँको अवस्था समेटिएका दुई वृत्तचित्र ‘घर फर्किरहेका मान्छे’ र ‘वेकिङ एन्ड वाकिङ’(बिउँझँदै र हिँड्दै) तयार गर्नुभएको थियो । पछिल्लो तीन वर्षको पथप्रदर्शन काममा ६० भन्दा बढी देशका पर्यटकलाई आफूले घुमाएको सिलवाल बताउनुहुन्छ ।

भूकम्पले थिलथिलो भएको लाङटाङको वास्ताविकता जनसमक्ष ल्याउन भूमिका खेलेवापत सिलवाललाई लाङटाङ मेनेजमेन्ट एन्ड रिकन्सट्रक्सन कमिटीले लाङ्टाङ सद्भावनादूत बनाएको छ । मुलुकको पर्यटकीय क्षेत्रको उत्थान र प्रवद्र्धनमा भूमिका खेलेको भन्दै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले पनि उहाँलाई सम्मान गरिसकेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्