काठमाडौं : मन्टेश्वरी भनेको त्यस्तो आधुनिक शिक्षा विधि हो जहाँ विद्यार्थीहरु आत्म-निर्दे्शित अर्थात् रुचिकर गतिविधिहरुमा तल्लीन रहन्छन। सबै इन्द्रीयहरुको प्रयोग मार्फत आफैंले छोएर, हेरेर, गरेर अनि व्यक्तिगत वा समुहगत रुपमा विभिन्न क्रियाकलाप अथवा खेलमा सहभागी हुँदै सिक्न अग्रसर रहन्छन।
मन्टेश्वरी कक्षामा विद्यार्थीहरुले के सिक्ने भन्ने आफैं निर्धारण गर्दछन र शिक्षकले विद्यार्थीको उमेर समूहको आधारमा सोही किसिमको सहजीकरण तथा वातावरणको निर्माण गर्दछन। विद्यार्थीहरुले एक्लै वा समुहगत रुपमा विषयबस्तुको खोज, अन्वेषण गर्दै आफ्नो क्षमतालाई तिखार्दै अध्ययन गर्ने गर्दछन। परम्परागत स्कुलमा जस्तै घोकेर, रटेर नभई प्रयोगात्मक गतिबिधि मार्फत आफैं सिक्ने भएकाले विश्वभरि नै मन्टेश्वरी शिक्षा प्रख्यात छ। यो विधि मारिया मन्टेश्वरीले प्रयोग गरेर अत्यन्त सफल बने पछि संसार भरि सिकाइमा यसको प्रयोग गरिन थालियो।
को हुन् मारिया मन्टेश्वरी ?
मारिया मन्टेश्वरीको जन्म इटालीको अङ्कोना भन्ने ठाउँमा सन् १८७० मा भएको थियो। सन् १९८० मा परिवारसहित उनी रोम गईन र त्यहीं बस्न थालिन। उनी पेशाले चिकित्षक थिइन्। आफ्नो डाक्टरी पढाइ सम्पन्न हुनासाथ उनले मानसिक रुपमा कमजोर, अशक्त बालबालिकालाई हेर्ने गरी रोम युनिभर्सि्टिको मनोविज्ञान साखामा इण्टर्न गर्न थालिन। त्यहीं काम गर्दै गर्दा उनलाई ती मन्द बुद्धीका भनिएका बालबालिकाको शिक्षा प्रति गहिरो रुचि बढ्न थाल्यो। उनले विभिन्न बिधि र तरिका अवलम्बन गरेर सिकाउन थालिन।
केही समय इण्टर्न गरे पछि सन् १९०७ मा डा. मन्टेश्वरीले रोमको कुनै एउटा सुकुम्बासी बस्तीमा “बालबालिका को घर“ (कास देइ बाम्बिनी) नामक संस्था खोलिन। उनले त्यहींका गरिबीका कारण स्कुल जान नसकेका, अशक्त तथा कमजोर मानसिक अवस्थाका बालबालिका जम्मा गरेर पढाउन थालिन। इन्टर्न गर्दा ताका आफूले पत्ता लगाएका नयाँ तरिका तथा विभिन्न शैक्षिक सामाग्रीहरुको प्रयोग गर्न थालिन। सबै उमेर समुहका बालबालिकालाई एकै ठाउँमा राखिन। बालबालिकाको चौतर्फी विकासका लागि आवश्यक पर्ने विभिन्न सामग्री हरुको निर्माण गर्न लगाइन। ती सामग्रीहरु प्रयोग गर्न उत्साहित गरिन। आफु चाहिं बालबालिकाले स्वतन्त्र ढंगले गरेका गतिविधिहरुलाई नियाल्ने काम गरिन। छोटो समयभित्रै बुद्धु भनिएका उनले सिकाएका विद्यार्थी महंगा र तेज बुद्धिका भनिएका बालबालिकाभन्दा धेरै राम्रा र अब्बल देखिए।
सन् १९०९ मा डा. मन्टेश्वरीले “बालबालिकाको घर“ मा आफुले अवलम्बन गरेको विधिलाई समेटी बैज्ञानिक पद्दतिको रुप दिएर जर्नलर लेख प्रकाशित गरिन। बिस्तारै उनको यो विधि र अभियान युरोपभरि फैलियो। सन् १९१५ मा अमेरिकाको निम्तोमा उनी अमेरिका गईन। पछि त्यहाँ युद्ध चर्किन थालेपछि भारत आइन र सन् १९४६ सम्म आफ्नो विधिलाई बिस्तारित गरिन। त्यसपछि उनी हल्याण्ड गईन। सन् १९५२ मा उनको त्यहीं मृत्यू भयो। युरोप, अमेरिका, एसिया लगायत विश्वभरि नै आज उनैले प्रतिपादन गरेको शिक्षण विधि मन्टेश्वरी विधिका रुपमा प्रख्यात छ। भनि आजको अन्नपुर्ण पोस्टमा यो खबर छ ।
परम्परागत सिकाइ र मन्टेश्वरी शिक्षामा भिन्नता
* मन्टेश्वरी स्कुलमा बालबालिकाको व्यक्तिगत आवश्यकतालाई मध्यनजर गरेर सोही किसिमको वातावरण तयार गरिन्छ। विद्यार्थी केन्द्रित सिकाइलाई अवलम्बन गरिन्छ। विद्यार्थीको रुचि केमा छ त्यही अनुसार शिक्षकले वातावरण तयार गर्छ। तर, परम्परागत स्कुलमा शिक्षक केन्द्रित विधि लागू गरिन्छ। विद्यार्थीले के सिक्ने भन्ने शिक्षकको मनस्थितिमा भर पर्छ।
* मन्टेश्वरी कक्षाकोठामा बालबालिकाले आफ्नो रुचिअनुसारको विषयमा कक्षाकोठामै भएका सामाग्रीहरु खेलेर, चलाएर, छोएर जानकारी प्राप्त गर्छन अनि सिक्छन। तर, परम्परागत स्कुलमा शिक्षकले बोलेको कुरा निष्क्रिय भएर सुन्ने, घोक्ने, स्मरण गर्ने र त्यही कुराको मूल्यांकन गर्न परिक्षा लिने गरिन्छ।
* मन्टेश्वरी कक्षाकोठामा बालबालिकालाई रुचि लागेको विषयमा खेल्न, खोज्न, अध्ययन गर्न पर्याप्त समय दिइन्छ, ताकि उनीहरु विषयबस्तुको गहिराइमा पुग्न सकून। तर परम्परागत स्कुलमा कुनै पनि विषय पढ्न निश्चित समय छुट्याइएको हुन्छ। रुटिन बनाइन्छ र सोही अनुसार गर्न दबाब दिइन्छ।
* मन्टेश्वरी स्कुलमा शिक्षकले प्रत्येक बालबालिकाको व्यक्तिगत क्षमता पहिचान गरेर फरक फरक शैलीले सिक्न प्रेरित गरिन्छ तर परम्परागत स्कुलमा सबै खाले क्षमता भएका विध्यार्थीलाई एकै ठाउँमा राखेर, एकै विधिले पढाइन्छ।
* मन्टेश्वरी स्कुलमा बालबालिकाको विकासक्रम अनुसार जस्तै तीन बर्ष, ३ देखि ६ वर्ष, ६ देखि ९ बर्ष, ९ देखि १२ बर्ष उमेर समूह भित्रका बालबालिकालाई एकै कक्षाकोठामा राखिन्छ। तर, परम्परागत स्कुलमा एउटै उमेर समुहका विद्यार्थीलाई संगै राखिन्छ।
* मन्टेश्वरी पाठ्यक्रम बालबालिकाको रुचि र आवश्यकता अनुसार तर्जुमा गरिन्छ, तर परम्परागत पाठ्यक्रम पूर्व्निर्धा्रित हुन्छ, बालबालिकाको रुचि र आवश्यकतालाई ख्याल गरिदैन।
* मन्टेश्वरी कक्षाकोठामा एक अर्कासंग प्रतिष्पर्धा गराइदैन। प्रत्येक बालबालिकाको आफ्नै क्षमता हुने भएकाले उनीहरुलाई अझ राम्रो गर्न प्रोत्साहन गरिन्छ तर परम्परागत स्कुलमा सबै विध्यार्थीलाई एउटा तराजुमा राखेर जोख्न खोजिन्छ।
* मन्टेश्वरी शिक्षकले बालबालिकामा आफैं सिक्न खोज्ने, अध्ययन गर्न खोज्ने उत्सुकता हुने कुरामा विस्वास गरेका हुन्छन तर परम्परागत स्कुलमा विद्यार्थीलाई पढ्न बाध्य बनाइन्छ।
मन्टेश्वरी पाठ्यक्रम
मन्टेश्वरी पाठ्यक्रम बालबालिकाको चौतर्फी विकासलाई टेवा पुग्ने गरी तयार परिएको हुन्छ। परम्परागत पाठ्यक्रमको ठीक विपरीत बालबालिकाको रुचि अनिसार नै मन्टेश्वरी पाठ्यक्रम तय गरिने भए पनि मन्टेश्वरीका केही क्षेत्रहरु छन्:
* सेन्सोरियल लर्निङ्ग :
इन्द्रियहरुको प्रयोग गरेर गरिने सिकाइ जस्तै विभिन्न रंगहरु चिन्न, आकाररप्रकार छुट्याउन, वास्नारगन्ध चिन्न , ध्वनि पहिचान गर्न लगायत विभिन्न क्रियाकलापहरु यस अन्तर्गत गरिन्छ।
* जीवनोपयोगी सिकाईः
आफ्नो जीवनमा आवश्यक पर्ने सबै काम आफैं गर्नु पर्छ भनेर बालबालिकालाई सानै उमेरबाट आत्मनिर्भर बन्न प्रेरित गरिन्छ। आत्मविश्वास, आत्मनिर्भरता तथा सीपको विकासको लागि यो क्षेत्र महत्वपुर्ण मानिन्छ।
* गणितः
अंक र यसको विज्ञानलाई यसमा समेटिएको हुन्छ। गन्ने, भिन्नता पहिचान गर्ने, जोड्ने, घटाउने, गुणन गर्ने, भाग गर्ने मात्र नभएर गणितका अत्यन्त जटिल कुराहरु पनि सरल र सहज रुपमा विभिन्न मन्टेश्वरी सामाग्रीहरुको प्रयोगबाट बालबालिकाले सजिलै सिक्न सक्दछन।
* भाषाः
अक्षर चिन्ने, लवज सिक्ने, सुन्ने, बोल्ने, पढ्ने, लेख्ने सबै सीप भाषा अन्तर्गत पर्दछ।
* कला, संस्कृति र विश्वः
यस अन्तर्गत बालबालिकाले गाउने, नाच्ने, अभिनय गर्ने, विभिन्न सृजनात्मक क्रियाकलाप गर्ने देखि समाज, संस्कृति, धर्म, इतिहास, भूगोल, अन्तरिक्ष, विज्ञान सबैको ज्ञान लिने गर्दछन।
मन्टेश्वरी कक्षाकोठा
मन्टेश्वरी कक्षा कोठा परम्परागत कक्षाकोठा भन्दा फरक हुन्छ। आजकल मन्टेश्वरी स्कुलहरुले डेस्क बेञ्च हटाएर कार्पेट ओछ्याएर मन्टेश्वरी कक्षाकोठा बनाएको पाइन्छ तर त्यति मात्रले पुग्दैन। मन्टेश्वरी कक्षा फराकीला र खुल्ला हुन्छन। यहाँ विभिन्न उमेर समुहका बालबालिकालाई एकै ठाउँमा राखिन्छ। ठुला बालबालिकाले सानालाई सिकाउन सक्छन भन्ने अभिप्रायले यसो गरिएको हो। कक्षाकोठा भित्र बालबालिकाले पुग्ने ठाउँमा विभिन्न विषयका शैक्षिक सामग्रीहरु राखिएका हुन्छन। ती सामग्रीहरु बालबालिकाले अरुको सहयोग बिना आफैं निकाल्ने, खेल्ने अनि फेरि त्यहीं राख्ने गरी मिलाइएको हुन्छ।
मन्टेश्वरी कक्षाकोठाभित्र विभिन्न कर्नर छुट्ट्याइएका हुन्छन। प्रत्येक कर्नर फरक विषयको हुन्छ। त्यहाँ विषय अनुसारका धेरै सामग्रीहरु राखिएका हुन्छन। मन्टेश्वरी सामग्रीहरु अत्यन्त वैज्ञानिक र होसियार पुर्वक बनाइएका हुन्छन। बालबालिकाको रुचि, सिकाई र उमेर अनुसार ती सामाग्रीहरु को निर्माण गरिएको हुन्छ।
मन्टेश्वरी कक्षाकोठाहरु सुन्दर र आकर्षक ढंगबाट सजाइएका हुन्छन। त्यस्ता सजावट सामाग्रीहरु बालबालिकाको सिकाई आवश्यकता पूर्ति गर्न बडो होसियार अनि सृजनात्मक ढंगबाट बनाइएका हुन्छन। तर, नेपालमा कक्षाकोठा सजाउने नाममा अनावश्यक रंगीचंगी कागज र फूलबुट्टा टाँसेर भद्दा र कुरुप बनाइएको हुन्छ। त्यसो गर्नु गलत हो। त्यस्ता सजावट्ले बालबालिकालाई आकर्षण भन्दा बढी विकर्षण गर्दछन। कक्षाकोठाभित्र र बाहिर राखिएका र सजाइएका प्रत्येक सामग्रीहरु बालबालिकाको उमेरनुरूपको सिकाई संग जोडिएको हुनुपर्छ।
आजकल सबै खाले स्कुलले आफुलाई मन्टेश्वरी स्कुल भनेर प्रचार गरेको पाइन्छ। तर, नेपालमा नगन्य स्कुलले मात्र पूर्ण मन्टेश्वरी विधिको प्रयोग गरेका छन्। अधिकांश स्कुलले मन्टेश्वरीलाई अन्य विधिसंग मिसाएर प्रयोग गरेका छन्। अहिले त प्रि-स्कुललाई नै मन्टेश्वरी भन्ने चलन विकसित भएको छ। मन्टेश्वरी त सिकाइका धेरै विधि मध्ये एक विधि मात्र हो।
मन्टेश्वरी शिक्षा महँगो हुन्छ ?
पूर्ण रुपमा मन्टेश्वरी कक्षा स्थापना गर्ने हो भने धेरै सामग्री आवश्यक पर्छ। कक्षाकोठाको आकार, बालमैत्री संरचनाको निर्माण, दक्ष शिक्षक आदि आवश्यक पर्ने भएकोले मन्टेश्वरी शिक्षा अलि खर्चिलो देखिएको हो। तर, धेरै मन्टेश्वरी सामग्रीहरुको निर्माण आफैं गर्न सकेमा मन्टेश्वरी शिक्षा सस्तो बन्न सक्छ।
अहिले देशैभरि नेपाली माटो सुहाउँदो मन्टेश्वरी शिक्षाको अवधारणा स्थापित गर्न बहस चलिरहेको छ। मन्टेश्वरी शिक्षाको मूल मर्मलाई नमारी यसलाई नेपाली सन्दर्भमा ढालेर बालबालिकाको सिकाईमा जोड्न सकियो भने नेपाली बालबालिकाको सिकाइ सस्तो, सरल र गुणस्तरीय बनाउन सकिन्छ। आयातीत सामग्री भन्दा आफ्नै ठाउँका ढुंगा माटो, बालुवा लगायत खेर जाने अन्य सामग्रीलाई मन्टेश्वरी सामग्रीका रुपमा विकसित गर्न सकियो भने मन्टेश्वरी शिक्षा सस्तो मात्र होइन सबै नेपाली बालबालिकाको पहुँचमा पुर्याउन सकिन्छ।
(घिमीरे मन्टेश्वरी, किण्डर गार्टेन र प्रि-स्कुलहरुको छाता संगठन (अपेन ) का महासचिब हुन्।)