जगतगुरु शंकराचार्य जयनेन्द्र सरस्वतीको निधन भएको दिन भारतीय छापाका पानाहरू अभिनेत्री श्रीदेवीको अन्तिम बिदाइसम्बन्धी समाचारले भरिए । कारण के हो भने भारतीयहरू चलचित्रप्रति असाध्यै रुचि राख्छन् र कतिपय त दिवाना नै छन् । चलचित्रमा देखाइएका अवास्तविक दृश्यका विषयमा समेत भारतमा अनेक विवाद देखिन्छन् । चलचित्रले भारतीय समाजमा ठूलो छाप छोडेका छन् । त्यहाँ सफल अभिनेतालाई राजनीतिमा पनि योग्य मानिन्छ । हिन्दी चलचित्रको भारतभित्रै ठूलो बजार भए पनि सम्पूर्ण भागमा एकछत्र राज भने छैन । दक्षिण भारतमा अनेक भाषाका चलचित्रका आफ्नै बजार छन् । भारतमा चलचित्रभन्दा पनि ठूलो प्रभाव क्रिकेटको छ । क्रिकेटले भारतको काश्मिरदेखि कन्याकुमारीसम्म सबैलाई जोडेको छ । क्रिकेटको एक लोकप्रिय व्यावसायिक प्रतियोगिता हो- इन्डियन प्रिमियर लिग (आईपीएल) । यसपालिको आईपीएल प्रतियोगितामा इतिहासमै पहिलोपटक एक नेपाली युवा सन्दीप लामिछाने दिल्ली डेयर डेभिल टिममा अनुबन्धित भएका छन् । नेपालको क्रिकेट जगत्मा यो एक नयाँ आयाम हो ।
हालसम्म टेस्ट क्रिकेट मान्यता पाएका संसारमा मात्र *१२ देश छन्-क्यारेबियन राष्ट्रहरू मिलेर बनेको टिम वेस्ट इन्डिजका अलावा, अस्ट्रेलिया, न्युजिल्यान्ड, भारत, *इङ्ल्यान्ड, *श्रीलंका, पाकिस्तान, दक्षिण अफ्रिका, जिम्बावे र बंगलादेश पहिलेदेखि टेस्ट मान्यता पाएका राष्ट्र हुन भने *यसै वर्ष आईसीसीले अफगानिस्तान र आयरल्याण्डलाई पनि टेस्ट क्रिकेट खेल्न मान्यता दिएको छ । । क्रिकेटको अर्को प्रारुप एक दिवसीय र सबभन्दा छोटो प्रारुपको खेल टी-२० खेलमा यिनै देशको वर्चस्व छ । भारतमा प्रत्येक वर्ष विश्वभरिका उत्कृष्ट खेलाडीको सहभागितामा टी-२० प्रारुपको आईपीएल प्रतियोगिता गरिन्छ । यसमा खेलाडीको मूल्य करोडौंको हुन्छ । यो प्रतियोगितामा टेस्ट, अन्तर्राष्ट्रिय एक दिवसीय र टी-२० प्रतियोगिता खेलेका अनुभवी खेलाडीको बाहुल्यता हुन्छ ।
लोकतन्त्र आएपछि सेना र प्रहरीप्रमुखमा समेत योग्यलाई पाखा र अयोग्यलाई काखा लगाउने काम भयो । योग्यताको अनादर गर्नुको एउटै उद्देश्य हुन्छ, भ्रष्टाचार । यी ‘केकिस्टोक्रेसी (अयोग्यको शासन)’का उदाहरण हुन् । श्रेष्ठताको आधारमा छनोट नभई कुनै पनि पदको गरिमा रहँदैन ।
२५ जनाको दिल्ली डेयर डेभिलको टिममा भएका आठजना विदेशीमध्ये एक हुन् सन्दीप । महत्वपूर्ण प्रश्न हो, तुलनात्मक रुपले क्रिकेटको नयाँ देश नेपालका खेलाडी सन्दीप कसरी आईपीएलको चयनमा परे ? खेलमैदान मेरिटोक्रेसी अर्थात योग्यताको कदरको एक उत्कृष्ट नमुना हो । खेलमा जित हासिल गर्न सक्ने हैसियत हेरिन्छ र खेलाडीको कौशलता हेरिन्छ । कसैसँग सम्बन्धित हुनु वा कसैको नातामा पर्नुले खेल मैदानमा अर्थ राख्दैन । उत्कृष्टताले मात्र खेल मैदानमा महत्व राख्छ । सन्दीप केवल मेरिट अर्थात प्रतिभाको आधारमा आईपीएलमा छनोट भएका हुन् ।
आफ्नो टिमका सबैभन्दा कम अनुभवी खेलाडी भएकोले सन्दीपलाई मैदानमै उत्रिने अवसर सीमित हुन सक्छ । तर अभ्यास खेलमा उनको साक्षात्कार संसारका उत्कृष्ट ब्याट्सम्यानसँग हुनेछ । संसारकै प्रसिद्ध खेलाडी रिकी पोंटिङबाट उनी प्रशिक्षित हुने छन् । ड्रेसिङ रुम र पेभिलियनमा उनलाई संसारकै उत्कृष्ट बलरसँग अनुभव साट्ने मौका मिल्ने छ । टिमका कप्तान एक सफल खेलाडी गौतम गम्भीरसँग उनले आफ्नो अनुभव साट्ने मौका पाउनेछन् । सन्दीपका लागि यति अनुभव नै पर्याप्त हुनेछ । अनुबन्धित भएपश्चात सन्दीपले खेलेका प्रतियोगितामा दिल्ली डेयर डेभिलले आफ्नो ट्विटमार्फत सन्दीपको बलिङको बारेमा हौसलापूर्ण सन्देश लेख्ने गरेको छ ।
अभिभावकीय भूमिकामा एक अन्तर्राष्ट्रिय टिम पाउनु सन्दीप जस्ता उदीयमान खेलाडीका लागि थप हौसलाको विषय हो । भारतीय क्रिकेटर विशनसिंह बेदीदेखि विराट कोहलीसम्म नेपालमा अपिरिचित छैनन् । भारत पाकिस्तानको रोमान्चक खेलमा नेपाली क्रिकेटप्रेमीहरूको रुचि कम हुँदैन । सन्दीपको आईपीएल प्रवेश नेपालका क्रिकेटप्रेमीहरूका लागि समेत एक अभूतपूर्व र सुखद् अनुभव हुनेछ । आईपीएल क्रिकेटको कुम्भ मेला नै हो । आईपीएलको प्रत्यक्ष प्रसारण विश्वभरि नै हुन्छ । सन्दीपको नामसँगै नेपालको नाम विश्वव्यापी रूपले जोडिने छ । यसरी एक नागरिकको उत्कृष्टतामा देशले गौरव गर्नेछ ।
भारतीयहरू नेपालमा उच्च तहसम्म पुगेका छन् तर भारतमा पेसागतरूपमा नेपालीले ठूलो सफलता प्राप्त गरेका छैनन् । भारतमा नेपालीको स्वर्णिम स्थान भारतीय सेनामा मात्र हो । भारतीय सेनाका पूर्व कर्नेल ललित राईले कतै
लेखेका छन्, कारगिल युद्धमा उनले नेतृत्व गरेको गोर्खा राइफल्ससामु एकजना युद्धबन्दीले उनलाई यस्तो प्रश्न सोध्यो ‘ए गुर्खा दिखते कैसे हैं (गोर्खाली कस्ता हुन्छन् ? )’। त्यसपछि उसलाई नांगो खुकुरीसहित एउटा गोर्खा सैनिक देखाइयो । ललित राईले गोर्खा जवानको खुबै प्रशंसा गरेर लेखेका छन् । उदितनारायण झा र मनिषा कोइरालाबाहेक पत्रकार युवराज घिमिरेले भारतमा ठूलो पेसागत सफलता प्राप्त गरेका छन् । यस्ता व्यक्तिको उपस्थितिले दुई देशको सम्बन्ध समान बनाउन मद्दत गर्छ । नेपालका प्रधानमन्त्रीले भारत भ्रमण गरेको समाचारले समेत भारतीय छापामा उचित स्थान पाउँदैन तर यसपाली आईपीएल छनोटको विषयमा भारतमा लेखिएका प्रत्येक समाचारमा नेपाल उल्लेख गरिएको छ । नेपालीलाई बहादुरको भूमिकामा सीमित राख्ने भारतीय चलचित्र निर्देशकहरू रंगशालामा सन्दीपको हातमा क्रिकेटको बल देख्दा एकछिन झस्केलान् ।
नेपालले ओलम्पिकमा सहभागी भएको ५० वर्षमा पनि सफलता प्राप्त गर्न सकेको छैन । यसको कारण के होला ? ब्राजिलको रिओ ओलम्पिकमा नेपालले ७ खेलाडी पठाएको थियो । त्यसका लागि ५९ जना पदाधिकारी पनि थिए । तीमध्ये एउटा पदधिकारीले एउटा टीभी अन्तर्वार्तामा आफ्नी श्रीमतीलाई समेत किन विदेश भ्रमणमा लगेको भन्ने प्रश्नको उत्तरमा भनेका थिए, उनले आफ्नी श्रीमतीलाई त्यहाँ नलगेको भए रिओमा नेपालको बेइज्जत हुने थियो ।
उनले आफ्नी श्रीमती लगेर नेपाललाई बेइज्जत हुनबाट जोगाए । ओलम्पिकमा जानु, भ्रमण गर्नु र फर्कनु उद्देश्य थियो, जो सफल भयो । श्रेष्ठता उनीहरूको उद्देश्य नै थिएन । संसारमै क्रिकेट लोकप्रिय भएकोले नेपालमा यसको
स्वतः स्फूर्त विकास भएको हो । नेपाली युवाले प्रमुखरूपले आफ्नै साधन र स्रोतको प्रयोग गरेर दक्षता हासिल गरेका हुन् । सन्दीपको छनोट नेपाल ओलम्पिक कमिटीको गालामा हानिएको एक दरिलो झापड पनि हो ।
एकछिन चर्चा गरौं मेरिटोक्रेसी (योग्यको शासन) पालना नगर्दाका हाम्रै अनुभवहरू । अख्तियार प्रमुखमा सूर्यनाथ उपाध्याय जस्ता योग्यको खोजी गर्नु भन्दा लोकमानसिंह कार्की जस्ताको खोजी गरियो । त्यो पदका लागी कार्कीको
न्यूनतम योग्यतासमेत नपुगेको प्रमाणित भयो । ठूलो पदले व्यक्तिलाई नैतिकवान वा चरित्रवान बनाउँदैन । मेरिटको अपमान गरेर नियुक्त गरिएको व्यक्तिका लागि त्यो पद सकेसम्म कमाउने अवसर मात्र हुन्छ ।
लोकमानले त्यही गरे । यस्ता व्यक्तिबाट देशले सेवा प्राप्त गर्दैन । प्रधानन्यायाधीश जस्ता सम्मानित व्यक्तिको आगमन र बहिर्गमन विवादास्पद भयो । मेरिट (योग्यता) लाई लात हानेर प्रकाश वस्ती जस्ता योग्यलाई पाखा लगाएर राजनीतिक भागबन्डामा न्यायाधीश नियुक्ति गरिएको परिणाम अझै देख्न बाँकी छ । पुनर्निर्माण प्राधिकरणले चारवटा नेतृत्व पाइसक्यो, तर नेतृत्वको नियुक्तिमा योग्यता र क्षमता नहेरिएकाले त्यसले परिणाम दिन सकेन । अहिले नेताहरूको व्यवस्थापन समस्याका रूपमा देखिएको छ । व्यवस्थापन भनेको ‘आरामले खाने व्यवस्था मिलाइदेऊ’ भनेको हो जुन मेरिटोक्रेसीको विरुद्ध हुन्छ । अघिल्लो सरकारले त्यसरी नै कार्यकर्ताको व्यवस्थापन गर्दागर्दै ६४ जनाको मन्त्रिमन्डल बनाएको थियो । त्यसले करदातालाई अनावश्यक व्ययभार थोपर्छ ।
अहिलेको स्पष्ट बहुमतको सरकारलेसमेत मन्त्रीहरूको चयनमा अयोग्यहरूको खोजीमा समय खर्चेर आफ्नो परिचय दिइसकेको छ । लोकतन्त्र आएपछि सेना र प्रहरी प्रमुखमा समेत योग्यलाई पाखा र अयोग्यलाई काखा लगाउने काम भयो । योग्यताको अनादर गर्नुको एउटै उद्देश्य हुन्छ, भ्रष्टाचार । यी ‘केकिस्टोक्रेसी ( अयोग्यको शासन)’ का उदाहरण हुन् । श्रेष्ठताको आधारमा छनोट नभई कुनै पनि पदको गरिमा रहँदैन । यो खबर आजको अन्नपुर्ण पोस्टमा छ।
डेमोक्रेसीमा पनि ‘मेरिटोक्रेसी’ लागू गरिएन भने उत्पादन बढ्दैन । जीवनको स्तरोन्नति गर्न नागरिकले आफ्नो क्षमताअनुसारको शिक्षा र त्यसको आधारमा उसले प्रतिस्पर्धात्मक छनोटको अवसर प्राप्त गर्नुपर्छ । कसैसँगको चिनजानको आधारमा गरिएको नियुक्ति घातक हुन्छ । स्वस्थ शैक्षिक वातावरणका लागि प्राज्ञले आफ्नो चेन अफ कमान्डको मेरिट हेर्छ । अहिलेका केही विद्यार्थीले स्नातकोत्तरमा नेपालमै बसेर उत्कृष्ट स्तरको अनुसन्धान गरेका छन् । कतिपय प्राध्यापकहरूले बाह्य अनुदान ल्याएर युवालाई अनुसन्धानमा प्रेरित गराइरहेका छन् । विश्व परिपे्रक्ष्यले गर्दा नेपालमा प्राप्त नहुने अवसर पनि केही नेपालीले प्राप्त गरेका छन् । विश्वविद्यालयमा गुणस्तरीय सुधारका लागि मेरिटको आधारमा नियुक्ति एक न्यूनतम आवश्यकता हो । नेपालमा शासन बदलिए पनि शासक पुरानै हुन् । त्यसैले यो सरकारबाट सक्रियरूपमा सुधारका कार्यक्रमको आउने आशा कमै छ । कुशासन र भ्रष्टाचारबाट मुक्ति पाउन पनि समय लाग्छ । तर नराम्रो काम नगर्न आजैबाट सुरु गर्न सकिन्छ । भ्रष्टाचार निर्मूल गर्न समय लाग्ला, तर कम गर्न आजै सकिन्छ । खेलकुदमा जस्तै शिक्षा, स्वास्थ्य र अनुसन्धान मेरिटमा चल्ने भएकाले त्यहाँ राजनीतिक नेतृत्व नथोपर्न आजै सकिन्छ । विद्यार्थीलाई राजनीति नगराउन, उनीहरूलाई आफ्नै कक्षाकोठामा ताला नलगाऊ भन्न, कर्मचारीबाट राजनीति नगराउन, कर छलीलाई प्रोत्साहन नगर्न र न्यायालयमा हस्तक्षेप नगर्न आजैबाट सकिन्छ । निकृष्ट हुने बाटो बन्द गरिदिए उत्कृष्ट हुने बाटो आफैं खुल्छ । देशको नेतृत्व असक्षम भएमा केकिस्टोक्रेसी (अयोग्यतन्त्र) र क्लेप्टोक्रेसी (लुटतन्त्र ) स्वयं प्रकट हुन्छन् । अहिलेको सरकारले यति नियन्त्रण गरिदिए काफी छ ।
अन्त्यमा, विदेशीको खेल हेरेर मनोरन्जन गर्नुपर्ने नेपालका क्रिकेटप्रेमीका लागि नेपाली क्रिकेटका अथक योद्धा पारस खड्का र सम्पूर्ण टिमले एक सुनौलो उपहार दिएका छन् । छोटो समयको अनुभवमा नेपाल अन्तर्राष्ट्रिय एक दिवसीय खेल खेल्न योग्य भएको छ । यो नेपाल ओलम्पिक कमिटीको गालामा हानिएको झापड हो । यो नेपाल क्रिकेट टिमको लगनशीलता, कौशलता र उत्कृष्टताको परिणाम हो । आर्थिक क्रान्तिका लागि चाहिने पनि त्यही हो । मेरिटोक्रेसी अथवा उच्च क्षमतावानहरूको शासन ।
*सच्याइएको: टेस्ट क्रिकेट मान्यता पाएका संसारमा मात्र *१० देश हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । टेस्ट मान्यता पाएका राष्ट्रहरु: क्यारेबियन राष्ट्रहरू मिलेर बनेको टिम वेस्ट इन्डिजका अलावा, अस्ट्रेलिया, न्युजिल्यान्ड, भारत, *इङ्ल्यान्ड, *श्रीलंका, पाकिस्तान, दक्षिण अफ्रिका, जिम्बावे र बंगलादेश । -सम्पादक