भोजपुर : सरकारले निःशुल्क उपलब्ध गरेको औषधिलाई मनोमानी ढंगले शुल्क लिने स्वास्थ्य चौकीका कर्मचारीलाई रामप्रसाद राई गाउँपालिका वडा नं ५ मानेभञ्जाङ कार्यालयले गाउँपालिकामा कारबाहीको माग गरेको छ।
मानेभञ्जाङस्थित प्राथमिक स्वास्थ्य चौकीमा निःशुल्क रुपमा वितरण गरिएको औषधि स्वास्थ्य चौकी प्रमुख सोनु साहले शुल्क लिएर बेच्ने गरेको खुलासा भएपछि कार्यालयले गाउँपालिकालाई कारबाहीको सिफारिस गरिएको हो।
ग्रामीण भेगकै स्वास्थ्य चौकीमा दिनदहाडै यसरी सरकारी औषधिलाई मनोमानी रुपले बेचविखन गरेको पाइएपछि वडा कार्यालयले बिहीबार नै बसेको स्वास्थ्य चौकी व्यावस्थापन समितिको बैठकले कारबाहीको सिफारिस सहितको निवेदन पेश गरेको थियो।बैठकले स्वास्थ्य चौकी प्रमुख साहले निःशुल्क औषधि बिरामीलाई बेचेको पाइएपछि कारबाहीको लागि गाउँपालिकामा सिफारिस गरिएको वडा अध्यक्ष विरेन्द्र राईले बताए।
महिनावारीमा अत्याधिक रक्तश्राव भएपछि स्लाइन बोटल औषधि लिन स्वास्थ्य चौकी आएकी सोही वडा ५, मानेभञ्जाङकी रमिता बोगटीलाई साहले उक्त स्लाइनको चार सय रुपैँया शुल्क लिएका थिए।
सामान्यतया स्थानीय बजारका क्लिनिकमा ७५ रुपैँया मूल्य पर्ने स्लाइनलाई सरकारी स्वास्थ्य संस्थामै चार सय रुपैँया लिएको कुरा खुलासा भएको हो।निःशुल्क रुपमा पाइने औषधिको शुल्क लिएको थाहा पाएपछि रमिता स्वयम् नै वडा कार्यालयमा पुगेर वडाध्यक्ष राईलाई उक्त घटनाको जानकारी गराएकी थिइन्।
बिहीबार समितिको बैठकमा स्वास्थ्य चौकी प्रमुख साहले पनि गल्ती गरेको स्वीकार गरेको र एकपटकलाई माफी दिन अनुरोध गरेपनि घटना गम्भीर भएका कारण दोषिलाई कारबाहीको लागि गाउँपालिकामा सिफारिस गरिएको अध्यक्ष राईले बताए।यता जिल्ला स्वास्थ्य प्रमुख त्रिभुवनचन्द्र झाले पनि घटनाको विषयको अध्ययन गरी आवश्यक कारबाही अगाडी बताउने बताएका छन्। (अन्नपुर्ण पोस्ट)