विश्वकै चर्चित फ्रान्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) सुरु हुन अब दुई साता मात्र बाँकी छ । तर यस अघिका संस्करणभन्दा यसपालिको आईपीएल नेपालीका लागि पनि विशेष बनेको छ । यस पटक नेपाली लेग स्पिनर सन्दीप लामिछाने पनि आईपीएल खेल्दै छन् । लामिछानेलाई जर्सी हस्तान्तरण गर्न उनको टोली दिल्ली डेयर डेभिल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हेमन्त दुवासहितको टोली बिहीबार नेपाल आएको छ । दिल्ली डेयर डेभिल्सका प्रमुख कार्यकारी अधिकृत दुवासँग सन्दीपको अनुबन्धलगायतका विषयमा केन्द्रित रहेर अन्नपूर्ण पोस्ट्का दीपेन्द्र गुरुङ र विष्णु थापाले गरेको कुराकानीको सम्पादित अंश
सन्दीपलाई जर्सी हस्तान्तरण गर्न नेपालमै आउने कार्यक्रम कसरी बन्यो ?
यसका दुई कारण छन्। सन्दीप नेपाली क्रिकेटका प्रकाश बनिसकेका छन्। हामी उनको यो सफलता नेपालमै आएर मनाउन चाहन्थ्यौं। हामीले उनको सफलता अझ अविस्मरणीय बनाउन प्रधानमन्त्रीबाट जर्सी हस्तान्तरण गराउने कार्यक्रम तय गरेका थियौं। तर, सम्भव भएन। हामीले त्यसका लागि प्रयास गर्दा प्रधानमन्त्री प्रदेशका मुख्य मन्त्रीहरूसँग व्यस्त हुनुहुन्थ्यो। हामीले उहाँको व्यस्ततालाई पनि सम्मान गर्नै पर्छ।
उहाँको अनुपस्थितिमा खेलकुद मन्त्रीबाट जर्सी हस्तान्तरण होस् भन्ने चाहेका थियौं। तर, अन्त्यमा खेलकुद परिषद्का सदस्यसचिव (केशव) विष्टजीबाट सम्भव भएको छ। यसमा हामी खुसी छौं। प्रधानमन्त्रीज्यूबाट हस्तान्तरण गराउन पाएको भए अझ विशेष हुने थियो। अर्को कारण उनको सफलता मनाएर नयाँ युवा खेलाडीहरूलाई प्रोत्साहन गर्न पनि हामी नेपालमै आउने निर्णयमा पुगेका हौं। हामी यसबाट नयाँ युवा खेलाडीलाई यदी राम्रो क्रिकेट खेल्ने हो भने सन्दीपजस्तै सफल र अघि बढ्न सक्छौ भन्ने देखाउन चाहन्छौं।
दिल्लीले सन्दीपको पछिल्ला प्रायः खेलहरू ‘फलो’ गरिरहेको छ। सन्दीपको पछिल्लो खेललाई दिल्लीले कसरी हेरेको छ ?
हो हामीले उनको खेललाई पछ्याइरहेका छौं। उनले निक्कै राम्रो प्रदर्शन पनि गरिरहेका छन्। उनी निक्कै राम्रा बलर हुन् भन्ने हामीलाई थाहा छ। तर, एसोसिएट स्तर र आईपीएलमा खेलिने क्रिकेट निक्कै फरक छ। आईपीएलमा राम्राभन्दा राम्रा खेलाडीले खेल्छन्। त्यसैले यो अझ अघि बढ्नका लागि राम्रो सुरुवात हुन सक्छ। तर, उनले दिल्लीबाट खेल्छन् कि खेल्दैनन् भन्ने कुरा म भन्न सक्दिनँ। यो निर्णय पूर्ण रूपमा प्रशिक्षकको हो। उनीसँग क्षमता छ। उनले पहिलो खेलमै खेल्न पनि सक्छन्। दोस्रो, तेस्रो वा अन्तिम खेलमै अवसर पाउन पनि सक्छन्।
तर महत्वपूर्ण कुरा के भने उनले ड्रेसिङ रुममा राम्रा क्रिकेटरहरूसँग बिताउन पाउनेछन्। उनको टोलीमा निक्कै नै अनुभवी लेग स्पिनर अमित मिश्रा छन्। उनले मिश्राबाट धेरै सिक्न सक्छन्। सम्भवतः सन्दीपले आफ्नो जीवनकै महत्वपूर्ण समय त्यही बिताउनेछन्। यो भनिरहँदा नेपालीहरूको चासो र उत्सुकतालाई पनि बुझ्न सक्छु। किनभने सन्दीपले अहिले नेपालकै आशा बोकेका छन्। त्यसैले सन्दीपले खेल्न पाउँछन् कि पाउँदैनन् भन्ने चासो बढेको छ। तर, यो निर्णय प्रशिक्षक र कप्तानको हो।
सन्दीपलाई अनुबन्ध गर्नुको विशेष कारण केही छ कि ?
छ। त्यो पूर्ण रूपमा उनको क्षमता हो। मान्छेहरूले अन्य तरिकाले पनि हेर्न र सोच्न सक्छन्। तर, म बारम्बार भन्छु कि सन्दीपलाई हामीले छान्नुको पछाडि पूर्ण रूपमा उनको क्षमता हो। हामीले सन्दीपलाई झन्डै एक वर्षदेखि ट्र्याकिङ गरिरहेका थियौं। तर, मैले उनलाई पहिले कहिल्यै देखेको थिइनँ। म उनलाई भौतिक रूपमै भेट्न चाहन्थे। त्यसैले हामीले उनलाई दिल्लीमा ट्रायलका लागि छुट्टै बोलायौं। हाम्रा म्यानेजर सुनील भाल्सनले मैदान पनि तयार पारिसकेका थिए। तर, त्यस दिन वर्षा भएपछि उनलाई मैदानमा ट्रायल लिन सकेनौं।
दिल्लीसँग इन्डुअर ट्रेनिङ हल पनि नभएकोले हामीले बाहिर खोज्यौं। सानासाना नानीहरूले खेल्ने एउटा ‘गेमिङ सेन्टर’ भेट्यौं। हामीले उनलाई त्यहाँ आधा घन्टा लगातार बलिङ गर्न लगायौं। उनले त्यसबेला निक्कै राम्रो टर्न गराए। हामीले त्यति नै बेला निर्णय गरिसकेका थियौं। त्यो ट्रायलको फुटेजपछि प्रशिक्षक रिकी पोन्टिङलाई देखायौं। गौतम गाम्भीरलाई पनि टोलीमा फर्काउने सहमति भइसकेकाले उनलाई पनि देखायौं। पोन्टिङ र गाम्भीर दुवैले हुन्छ भन्ने सल्लाह दिएपछि उनको अनुबन्ध सम्भव भएको हो। हामीले अन्य कुनै कारणको पछि लागेर उनलाई अनुबन्ध गरेका हैनौं। अर्काे महत्वपूर्ण कुरा आईपीएलले सधैं ‘सरप्राइज’ दिन्छ। यस्तै सरप्राइज सन्दीपले पनि दिन सक्छन्। कस्लाई के थाहा। उनीसँग क्षमता छ। यदि राम्रो बलिङ गरे भने सन्दीपले आईपीएललाई सरप्राइज दिनेछन्।
सन्दीपको आईपीएल अनुबन्धले नेपाली क्रिकेटलाई के फाइदा पुग्ला ?
ठूलो फाइदा पुग्छ। उनको अनुबन्धपछि नेपाली क्रिकेटमा जुन उत्सुकता र उत्तेजना फैलिएको छ, त्यसले पक्कै पनि नेपाली क्रिकेटलाई अघि बढ्न मद्दत पुग्नेछ।
नेपाली क्रिकेटलाई केही सुझाव छ ?
नेपालसँग क्षमता छ। तर, नेपाल सुरुवाती चरणमै छ। जति धेरै क्रिकेट खेल्न पायो त्यति राम्रो हुने हो। क्रिकेट खेल नै यस्तो हो कि जति खेल्यो त्यति राम्रो हुँदै जान्छ। नेपालले हालै एकदिवसीय टोलीको मान्यता पनि पाएको छ। यो अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको ठूलो ‘रिकग्निसन’ हो। यसमा नेपाली क्रिकेट र क्रिकेटरलाई बधाई छ। घरेलु बोर्ड निलम्बनमा रहेको अवस्थामा समेत यो सफलता सम्भव भएको छ। यो वास्तवमै उदाहरणीय सफलता हो। (अन्नपुर्ण पोस्ट)