पेट्रोलियम पाइपलाइनकाे शिलान्यास ओली-मोदीले गर्ने तयारी



अमलेखगन्जसम्म मात्र बिछ्याइने भनिएको पाइपलाइनलाई चितवनसम्म तान्ने टुंगो

भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्जसम्म बिछ्याइँदै गरेको पेट्रोलियम पाइपलाइनको शिलान्यास गर्ने तयारी भएको छ । विश्व व्यापार संगठन (डब्लुडिओ) को मन्त्रीस्तरीय बैठकमा भाग लिएर बिहीबार स्वदेश फर्किएका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रूपमा पाइपलाइनको शिलान्यास गर्ने तयारी भइरहेको जानकारी दिए ।

बिहीबार दिउँसो विमानस्थलमा सञ्चारकर्मीसँगको भेटघाटमा मन्त्री यादवले भने, ‘हाम्रो प्रधानमन्त्री (ओली)को आसन्न भारत भ्रमणकै समयमा संयुक्त रूपले शिलान्यास हुने सम्भावना उच्च छ ।’

अहिले अमलेखगन्जसम्म मात्र बिछ्याइने भनिएको पाइपलाइनलाई चितवनसम्म तान्ने टुंगो लगाइएको छ ।’ उनले पाइपलाइन शिलान्यासको प्रक्रिया अघि बढाउने विषयमा भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धमेन्द्र प्रधानसँग छलफल भएको बताए । ‘चितवनसम्म पाइपलाइन ल्याउने कुराको सम्झौता पहिले नै भइसकको थियो, तर सम्झौता भएर मात्र काम अघि बढ्ने रहेनछ,’ उनले भने, ‘यसका लागि सर्भे गर्नेुपर्ने, योजन बनाउनुपर्ने हुन्छ । यसलाई अन्तिम रूप दिइएको छ ।’

मोतिहारी–अमलेखगन्ज पाइपलाइन अहिले दुई देशबाट निर्माण सुरु भएको छ । ७२ किलोमिटर लामो पाइपबाट नेपालमा खपत हुनेमध्ये ५० प्रतिशतभन्दा बढी इन्धन आयात हुनेछ ।

ग्यास बुलेटको समस्या हल
नेपाली नम्बरप्लेटको बुलेटमा ग्यास आयात गर्न भारतले एक्स्प्लोसिभ लाइसेन्स नदिएको विषयमा पनि मन्त्री यादवले भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानसँग छलफल भएको बताएका छन् । सो छलफलमा भारतका तर्फबाट भएका अवरोध हटाउने निर्णय भएको उनले जानकारी दिए । ‘बुलेटका विषयमा जे समस्या छ, त्यसलाई हल गर्न लाग्छौँ भनेर त्यहाँका मन्त्रीले भनिसक्नुभएको छ,’ उनले भने, ‘मन्त्रालयका सचिवलाई के समस्या हो, तुरुन्तै हल गर्नुस् भनेर मेरै सामुन्ने निर्देशन दिनुभएको छ ।’ उनले अबका दिनमा बुलेटको समस्या नदोहोरिने दाबी गरे ।

२४ अप्रिलमा आइजिसी
२४ अप्रिलदेखि काठमाडौंमा दुई देशका वाणिज्य सचिवस्तरीय बैठक (आइजिसी) राख्ने निर्णय भएको छ । उक्त बैठकमा दुई देशमा देखिएका व्यापारसम्बन्धी समस्या हल गर्न पहल गर्ने समझदारी भएको उनले बताए । मन्त्री यादवसँगै बैठकमा सहभागी हुन गएका वाणिज्य सचिव चन्द्र घिमिरेले आइजिसी बैठकमा दुई देशका प्रधानमन्त्रीले सहमति गरेका तर कार्यान्वयन नभएका विषयलाई उठाउने बताए।

‘अप्रिलको तेस्रो २४ तारिखमा आइजिसी बैठक हुँदै छ । त्यसको तयारी हुँदै छ । पहिले–पहिले दुवै देशका प्रधानमन्त्रीले संयुक्त वक्तव्यमा जारी भएका विषयलाई आइजिसी बैठकमा लगेर टुंग्याइनेछ,’ घिमिरेले भने ।

सुष्मा स्वराजसँग व्यापारकेन्द्रित छलफल
नेपालमा लगानी बढाउन मन्त्री यादवले भारतीय पक्षलाई आह्वान गरेका छन् । उनले विदेशमन्त्री सुष्मा स्वराज, उद्योग तथा वाणिज्यमन्त्री सुरेश प्रभुसँग भेट गरी लगानी विस्तारका लागि आग्रह गरेको बताए । ‘हामी आर्थिक समृद्धिको कुरा गरिरहेका छौँ । यसका लागि मुख्य रूपमा लगानी चाहिन्छ । उत्पादन बढाएर व्यापारघाटा घटाउनुपर्छ,’ उनले भने, ‘भारतलाई लगानी बढाउन आग्रह गर्दा सकारात्मक भएको छ ।’

भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग मन्त्री यादवले अलग्गै द्विपक्षीय भेटभाट गरेका छन् । उनले त्यसक्रममा आर्थिक विषयमा बढी कुरा गरेको जानकारी दिँदै भने, ‘मैले क्रस बोर्डर रेल्वे सुविधा बनाउन भारतलाई भनेको छु । व्यापारका लागि जहाँ–जहाँ उपयुक्त हुन्छ, त्यहाँ–त्यहाँ संरचना खडा गरिदिनुपर्‍यो भनेका छौँ ।’

उनले कोलकातादेखि कोसी नदीसम्म जलमार्गको व्यवस्था गर्न पनि आग्रह गरेको बताए । ‘नेपालबाट बंगलादेशसम्म टनेलमार्फत जोडिने मार्गको कुरा उठायौँ । यी सबै विषयमा भारतको सकारात्मक उत्तर आएको छ । हामी गर्न तयार छौँ भनेका छन्,’ उनले भने । बैठककै क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनले छोटो भेट गरेको बताए ।

हामी अरूको बजार मात्र भयौँ : मन्त्री यादव
डब्लुडिओ बैठकमा ५३ राष्ट्रको सहभागिता थियो । अतिकम विकासशील राष्ट्र, त्यसमा पनि भूपरिवेष्ठित राष्ट्रले पाउनुपर्ने हकको विषय उठ्यो । व्यापारको हक उपयोग गर्न पाएको देखिँदैन । किनभने, त्यहाँ अवरोधहरू छन् । हामी अतिकम विकसित राष्ट्रहरू अरूका लागि बजार मात्र हुने गरेका छन् । यी विषयहरू हाम्रातर्फबाट राखियो । विश्व व्यापार प्रणालीमा सुधार हुनुपर्छ । अतिकम विकसित राष्ट्रको हित संरक्षण गर्न गम्भीर कदम चाल्नुपर्छ । साना–ठूला, गरिब–धनी सबै देशले समान अवसर पाउनुपर्छ भन्ने विषयहरू हामीले उठायौँ । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्