राष्ट्र बैंकको सबै ढुकुटी भरिभराउ, तर भारुको माग अत्यन्तै न्यून आयो
नेपालमा भारतीय रुपैयाँ (भारु)को माग स्वात्तै घटेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष भारुको माग ५० प्रतिशतभन्दा कम रहेको राष्ट्र बैंकले जनाएको छ । माग कम हुँदा यतिवेला राष्ट्र बैंकका भारु राख्ने सबै ढुकुटीहरू भरिभराउ छन् । तर, भारुको माग भने अत्यन्तै न्यून आउने गरेको राष्ट्र बैंकका कार्यकारी निर्देशक झलक शर्मा आचार्यले जानकारी दिए । ‘अघिल्लो वर्ष यतिवेला राष्ट्र बैंकमा भारु साट्नेको लाइन हुन्थ्यो, भारु पाउन थुप्रै अनुरोध र भनसुनहरू आउँथे,’ उनले भने, ‘तर, यस वर्ष भारुको माग अपत्यारिलो तरिकाले घटेको छ ।’
हाल दैनिक बढीमा २ करोड भारु सटही भइरहेको छ । यो अघिल्लो वर्षको तुलनामा ५० प्रतिशतले कमी हो । गत वर्ष यही सिजनमा भारुको दैनिक माग ४ करोडभन्दा बढी रहेको थियो । ‘राष्ट्र बैंकको सातैवटा प्रादेशिक कार्यालय र थापाथली शाखामा पर्याप्त भारु छन्, हामी नियमअनुसार जति पनि भारु उपलब्ध गराउन सक्छौँ,’ उनले भने, ‘तर, माग भने पहिलाजस्तो आएको छैन ।’
राष्ट्र बैंकसँग कति छ नगद भारु ?
नेपाल राष्ट्र बैंकले भारतीय रिजर्भ बैंक (आरबिआई)बाट सम्झौताअनुसार भारु ल्याउने गर्छ । पछिल्ला वर्षहरूमा नेपालले सरदर ३ देखि ५ अर्ब भारु ल्याउने गरेको छ । तर, अघिल्लो वर्ष भारुको माग थेग्नै नसक्ने गरी बढेपछि राष्ट्र बैंकले ६ अर्ब भारु ल्याएको थियो । यस वर्ष पनि माग सोही मात्रामा हुने भन्दै राष्ट्र बैंकले ६ अर्ब भारु ल्याउने समझदारी आरबिआईसँग गरेको छ । तर, नेपालमा भारुको माग घटेपछि समझदारीअनुसार भारु आयात गर्न नसकिने अवस्था आएको हो । ‘यसबीचमा ३ अर्ब भारु आइसकको छ, तर त्यसमध्ये अझै २ अर्ब राष्ट्र बैंकसँगै मौज्दात छ,’ उनले भने, ‘माग नै नभएका कारण अब थप १ अर्ब भारु मात्रै ल्याउन सकिएला, तर बाँकी २ अर्ब भारु ल्याउन सकिँदैन ।’ अघिल्लो वर्ष विशेष आग्रह गरेर भारु आयातको परिमाण बढाउन लगाइएका, तर यस वर्ष पुनः घटाउनुपर्ने अवस्था आएपछि राष्ट्र बैंक नै अलमलमा परेको छ ।
आखिर किन भयो माग कम ?
राष्ट्र बैंकमा भारुको माग अत्यन्तै कम आउन थालेपछि सबैले एउटै प्रश्न गर्न थालेका छन्, ‘बजारको माग धान्ने भारु कहाँबाट आउँछ ?’ यस विषयमा राष्ट्र बैंकका उच्च अधिकारीहरूबीच छलफलसमेत भएको छ । राष्ट्र बैंकको अनुसन्धान विभागका प्रमुखसमेत रहेका कार्यकारी निर्देशक नरबहादुर थापाले यस विषयमा अध्ययन भइरहेको जानकारी दिए । ‘राष्ट्र बैंकमा भारुको माग घटेपछि पक्कै अन्तैबाट यसको आपूर्ति भइरहेको हुन सक्छ,’ उनले भने, ‘भारुको माग किन घट्यो, भारु कहाँबाट आइरहेको छ भन्ने विषयमा अध्ययन भइरहेको छ ।’
सुन र मदिराको प्रभाव कति ?
अहिले नेपालको सीमावर्ती क्षेत्रमा भारतीयहरू मदिरा सेवन गर्न आउने क्रम बढेको छ । भारतको बिहार र उत्तरप्रदेश राज्यले मदिरा बिक्रीमा रोक लगाएपछि त्यहाँका नागरिक नेपाल आएर मदिरा सेवन गर्न थालेका छन् । उनीहरूले ल्याउने भारुले पनि बैंकिङ प्रणालीबाट प्रवाह हुने भारुको परिमाणलाई घटाएको हुन सक्ने कतिपयको भनाइ छ । तर, त्यसरी प्राप्त हुने भारुको परिमाण थोरै हुन्छ । सबैभन्दा बढी सुन तस्करीबाट नेपालमा भारु भित्रिएको हुन सक्ने कतिपयको आशंका छ ।
चार कारणले भारुको माग कम भएको हुन सक्छ
अहिले भारुको माग कम भएकै हो । के–कति कारणले भारुको माग घट्यो भनेर हामीले अध्ययन गरिरहेका छौँ । मुख्यतः तीन–चारवटा कारणले भारुको माग कम भएको हुन सक्छ । सबैभन्दा पहिला निर्वाचनका वेलामा नेताहरूलाई भारतबाट सहयोग आएको हुन सक्छ । त्यसैले पनि राष्ट्र बैंकमा भारुको माग नभएको हुन सक्छ । दोस्रो कारणचाहिँ एकातर्फ नेपालका बैंकले निक्षेपको ब्याजदर उच्च दिएको छ । त्यसैले यहाँबाट यसअघि हुने गरेको पुँजी पलायन रोकिएको हुन सक्छ भने अर्कातर्फ भारतबाट पैसा ल्याएर नेपाली बैंकमा निक्षेप गरिएको पनि हुन सक्छ । तेस्रोचाहिँ नेपालबाट भारततर्फ सुन तस्करी भएका कारण पनि भारुको माग न्यून भएको हुन सक्छ ।
-नरबहादुर थापा, कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक