‘रारा कर्णाली पर्यटन वर्ष २०७५’ घोषणा



५ लाख पर्यटक भित्राउने लक्ष्य, कर्णाली प्रदेशको अर्थतन्त्र आत्मनिर्भर बनाइने

कर्णाली प्रदेश सरकारले वि.संं. २०७५ लाई ‘रारा कर्णाली पर्यटन वर्ष’ घोषणा गरेको छ । आन्तरिक तथा बाह्य गरी वार्षिक ५ लाख पर्यटक भित्राउने लक्ष्यसहित पर्यटन वर्ष मनाउन लागिएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिए । नाम र राजधानी सर्वसम्मत निर्णयमार्फत टुंगो लगाएर अग्रणी प्रदेश बनेको कर्णाली प्रदेशले अब आर्थिक विकासका सम्भावना खोज्न थालेको मुख्यमन्त्री शाहीले बताए ।

‘हाम्रो पहिचान अब बदल्ने वेला आएको छ,’ उनी भन्छन्, ‘विगतको दुःखी, विकट, गरिब र मगन्ते क्षेत्रको पहिचान बदल्दै कर्णाली प्रदेश सरकार आत्मनिर्भर अर्थतन्त्र बनाउने अभियानमा छ ।’ अथाह सम्भावना भए पनि पर्यटनको मूलधारबाट पछि परेको भन्दै आगामी वर्षभर पर्यटकलक्षित विविध गतिविधि सञ्चालन गर्ने योजना प्रदेश सरकारको छ ।

के हुन् कर्णालीका आकर्षण
जातीय विविधताभित्र भाषा, कला र संस्कृतिका दृष्टिकोणबाट यो प्रदेश धनी मानिन्छ । नेपालकै सबैभन्दा ठूलो ताल रारा कर्णालीको प्रमुख आकर्षण हो । स्वशासित क्षेत्र तिब्बतमा रहेको कैलाश मानसरोवर प्रवेशद्वार पनि यो प्रदेशमा पर्छ । रारा राष्ट्रिय निकुञ्ज, विश्वकै अग्लो स्थानमा रहेको छायानाथ, डोल्पाको सेगुम्बा र फोक्सुन्डो ताल, वाला त्रिपुरासुन्दरी, जुम्लाको नेपाली भाषा तथा सभ्यताको उद्गमथलो सिन्जा उपत्यका यहाँका आकर्षण हुन् । सुर्खेतको काँक्रेबिहार, बुलबुले ताल, देउतीबज्यै मन्दिर, कालीकोटको रास्कोट, पञ्चदेवल, विश्वकै अग्लो मानिएको पातल छहरा, हुम्लाको लिमी उपत्यकासमेत यस भेगका आकर्षण हुन् ।

सम्भावना के हुन् ?
आगामी वर्षभर पर्यटन प्रवद्र्धनका विविध आयामलाई कर्णालीमा भित्राउने गरी कार्यक्रम तय गर्ने प्रदेश सरकारको तयारी छ । प्रदेश सामाजिक तथा विकासमन्त्री दल रावलका अनुसार कर्णालीमा र्‍याफ्टिङ, प्याराग्लाइडिङ, बोटिङ, पदयात्रा, अतिथि सत्कार, साहासिक यात्रा, होमस्टेजस्ता गतिविधिमार्फत पर्यटक भित्राइनेछ । ‘एकपटक कर्णाली पुगेको पर्यटकलाई पटक–पटक पुग्न लालायित हुने प्रकारका कार्यक्रम ल्याउ“छौँ,’ मुख्यमन्त्री शाहीले भने, ‘अर्कोतर्फ हामी मौलिक तथा अर्गानिक खाना र परिकारमार्फत पर्यटकको मन जित्न चाहन्छौँ ।’

१ वैशाखमा राराबाट उद्घाटन
रारा–कर्णाली पर्यटन वर्ष ०७५ राराबाट सुरुवात गर्ने प्रदेश सरकारको तयारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन वर्ष शुभारम्भ गर्नेछन् । पर्यटन विकासमा प्रदेश सरकारको सक्रियता महत्वपूर्ण रहेको नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले बताए ।

‘एनजिओ–आइएनजिओ खेदिन्छन्’
कर्णाली प्रदेशको बाध्यता र विवशतालाई बेचेर आफ्नो लाभ पूर्ति गर्ने गैरसरकारी संस्था कर्णाली प्रदेश सरकारले बन्द गराउने भएको छ । बिहीबार काठमाडौंमा पर्यटन वर्ष घोषणा गर्न आयोजित कार्यक्रमको फरक प्रसंगमा बोल्दै मुख्यमन्त्री शाहीले जनतालाई बसीबसी पैसा आउँछ भन्ने भ्रममा पारेर कर्णालीका जनताको उत्पादकत्व घटाउन गैरसरकारी संस्थाको ठूलो हात रहेको बताए ।

‘मानिसले परिश्रम गर्न छाडेका छन्,’ उनी भन्छन्, ‘जबदेखि गैरसरकारी संस्था कर्णाली छिरे, तब यहाँ गरिबी भित्रियो ।’ प्रदेश सरकारले तोकेको क्षेत्रमा काम नगर्ने गैरसरकारी संस्था बन्द गराउने उनको घोषणा छ । ‘कानुन बनाएर कडाइ गर्दै छौँ, नमान्ने एनजिओ–आइएनजिओ खेदिन्छन्,’ उनले भने । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्