माल्दिभ्समा संकटकाल हट्यो



माल्दिभ्स सरकारले ४५ दिनदेखि जारी संकटकाल बिहीबारदेखि हटाएको छ । राष्ट्रपति अब्दुल्ला यमिनले एक विज्ञप्ति जारी गर्दै सो घोषणा गरेका हुन् ।

‘माल्दिभ्सको सर्वोच्च अदालतका न्यायाधीशले संविधान, स्थापित कानुनी मूल्य र मान्यताविपरीत हुने गरी राजनीतिक नेतृत्वसँग मिलेर गरेको फैसलापछि सरकारको आग्रहमा घोषणा भएको संकटकाल यही मार्च २२ देखि लागू हुने गरी हटाइएको छ,’ प्रेस विज्ञप्तिमा भनिएको छ ।

प्रहरी सेवाले भ्रष्टाचार तथा अन्य अपराधजन्य संवैधानिक संकटको अनुसन्धान गरी अघि बढ्न सक्ने भएकाले संकटकाल हटाइएको जनाइएको छ । सर्वोच्च अदालतले फेब्रुअरी १ मा थुनामा रहेका प्रतिपक्षी दलका नेताहरू तथा स्वघोषित निर्वासनमा रहेका पूर्वराष्ट्रपति मोहमद नसिदको रिहाइका लागि आदेश गरेपछि संवैधानिक संकट बढेको भन्दै राष्ट्रपति यमिनले ५ फेब्रुअरीमा संकटकाल घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्