काठमाडौं, ९ चैत
कहाँ हराएँ म ? यो प्रश्नको उत्तर म आफैंसँग पनि छैन । म कुनै एउटा कण होइन, जो यसै हावामा विलिन भएर जान्छ, म कुनै एउटा प्रकाश होइन, जसलाई पृथ्वीको यो अनन्त यात्राले कतै ओझेल पारिदिन्छ । म त हुँ एउटा सामन्य पाइला, जो विस्तारै विस्तारै हिँडिरहेको छ– आफ्नो गन्तव्यमा ।
के साँच्चिकै म हराएँ ? कहाँ छु म ?
यो प्रश्न आजभोलि मैले आफैंलाई पनि सोध्न थालेको छु । किनकि मलाई प्रायः भेटमा सोधिन्छ– कहाँ हराउनु भयो तपाईं आजभोलि ?
किन यो प्रश्न सोधिन्छ, मलाई थाहा छैन ।
किनकि हराउनुको अर्थ मैले बुझेको छैन, किनकि देखिनुको वास्तविक अर्थ के हुन्छ भन्ने मैले बुझेको छैन ।
मेरा केही अनन्य मित्रहरु हुनुहुन्छ, केही शुभचिन्तक हुनुहुन्छ, जोसँग म दैनिकजसो वा साप्ताहिक रुपमा कुराकानी गरिरहेको हुन्छु । त्यस्तो कुराकानी कहिले सामाजिक सन्जालहरुमा हुन्छ त कहिले सिधै फोन सम्पर्कमा । कहिलेकांही कफी गफमा पनि यी र यस्तै केही कुरा हुन्छ ।
तर एक दुई दिनपछि भेट्दा फेरि ती साथीहरु सोध्नुहुन्छ– कहाँ हराइस् तँ ?
त्यसपछि म आफूलाई एउटा ठूलो अन्योलमा पाउँछु, आफूलाई कतै पर पुगेको जस्तो आभास हुन्छ । अनि म आफैंलाई प्रश्न गर्छु– कहाँ हराएँ म ?
यो प्रश्नको उत्तर म आफैंसँग पनि छैन । म कुनै एउटा कण होइन, जो यसै हावामा विलिन भएर जान्छ, म कुनै एउटा प्रकाश होइन, जसलाई पृथ्वीको यो अनन्त यात्राले कतै ओझेल पारिदिन्छ । म त हुँ एउटा सामन्य पाइला, जो विस्तारै विस्तारै हिँडिरहेको छ– आफ्नो गन्तव्यमा । त्यसैले के म हराउन सक्छु ? अहँ, सक्दिनँ । कदापि सक्दिनँ ।
किनकि हराउनका लागि पहिले एउटा त्यस्तो उपस्थिति भएको हुनुपर्छ, जसको अभाव निमेषभरमा नै देखियोस् । हराउनकै लागि पहिले त्यस्तो अमिट छाप छोडेको हुनुपर्छ, जसको सुगन्ध पर कतै गएको जस्तो आभास होस् । हराउन त ‘मिराज’ हराउँछ, जो हाम्रो आँखामा भ्रम छोडेर बसेको हुन्छ । हराउन त त्यो समय हराउँछ, जसले हाम्रो मुटुमा एउटा मीठो संगीतको धुन छोडेको हुन्छ ।
सन्तोष लामाका यसअघिका ब्लग पढ्नुहोस् :
ब्लग: आई लभ क्रिकेट, आई हेट क्रिकेट
ब्लग: सांगीतिक दुनियाँको यात्रा अन्त्यतिर
म त्यस्तो केही होइन, जो अनाहकमै देखिउँ र अनायसै हराइदिउँ । त्यसमाथि यी सब मेरो नितान्त नीजि कन्ट्रोलका कुरा पनि होइनन् ।
म यस्तै केही सोचिबस्छु । अनि एकदिन अचानक अर्का एक मित्र सोध्नुहुन्छ– के छ हो सन्तोष जी, हराउनु भयो त ?
केही दिन अगाडि यस्तै प्रश्नको सामना गर्दा म आफू लामो समयदेखि यही प्रश्नको सामना गरिरहेकाले ती मित्रलाई सोधेँ– हजुर, किन मलाई हराइस् भन्नुभएको ?
मित्रले खुलेर भन्नुभयो– तपाईं आजभोलि टिभीमा देखिनुहुन्न, पत्रपत्रिकामा देखिनुहुन्न, क्लबहरुमा देखिनुहुन्न, एल्बम पनि निकाल्नु भएको छैन । अनि हराएको होइन त ?
म झसङ्ग भएँ । के आजभोलि म कहिँ पनि देखिन्नँ ? यो प्रश्न सोध्नु भन्दा पहिले मैले आफूलाई सोधेँ– के म पहिले यी सबतिर देखिन्थेँ ?
‘होइन,’ आफैंले आफैंलाई जवाफ दिएँ, ‘देखिनु पनि हुन्थेन ।’
त्यसो भने यो सारा ब्रम्हान्डबाट आफूलाई किन हराइरहेको छु त मैले ? किन देखिन्नँ म ती ठाउँहरुमा जहाँ देखिनु पथ्र्यो ?
‘किनकि म जुन यात्रामा छु, जुन बाटोमा छु, जुन गोरेटोमा छु,’ फेरि आफ्नै मनले सम्झाउन खोज्छ, ‘त्यो गोरेटो एउटा स्वतन्त्र यात्रा गर्ने गोरेटो हो, त्यो बाटो निर्धक्क सबैसँग हिँड्ने बाटो हो र त्यो यात्रा समाजको गतिसँगै अगाडि बढ्ने यात्रा हो ।’
हुनसक्छ, देखिनका लागि मसँग भएको सामाजिक सन्जालको प्लेटफर्म मैले राम्रोसँग प्रयोग गरिनँ होला । हुनसक्छ, त्यहाँ मैले जसरी आफूलाई ‘ग्लोरिफाइ’ गर्नुपर्ने हो त्यसरी गरिनँ होला । तर, के चाहिँ सत्य हो भने म त्यसमा आफूलाई एउटा निरन्तरको यात्रीका रुपमा राखिरहन चाहन्छु, ग्लोरिफाइड र हाइलाइटेड हुन चाहन्नँ ।
यो घमन्ड सुनिन्छ, यो एक्लो दर्शन जस्तो सुनिन सक्छ । तर, मेरा मित्रहरुले बुझिदिनु पर्छ, यो कुनै घमन्ड होइन, यो कुनै एक्लो यात्रा होइन ।
मैले जानेबुझे देखि आफूलाई जहिले पनि एउटै यात्रामा राखिरहेको छु । त्यो हो– गायन । म एउटा साधक हुँ संगीतको, म एउटा साधक हुँ गायनको । म पुजारी हुँ स्वर र लयको । यही स्वर र लयलाई पुजा गरेर म बाँचिरहेको छु, यसैलाई आत्मसात् गरेर अगाडि बढिरहेको छु ।
त्यसैले, कहिलेकांही म तडकभडकका साथ सामाजिक सन्जालहरुमा नदेखिन सक्छु, पोस्टर र तस्वीरहरुमा नदेखिन सक्छु । त्यो समय म एउटा आनन्दित ध्यानमा हुनसक्छु, संगीतको । त्यो समय म एउटा सपनासँग गाँसिरहेको हुनसक्छु आफ्नो यात्रा । त्यो यात्रा कदापि टाढा हुँदैन गायनदेखि ।
मसँग पुग्नु पर्ने अरु थुप्रै क्षितिजहरु छन्, त्यसको यात्राको तय सामन्य छैन । ती क्षितिजहरुलाई भेटाउनु एउटा सरल बाटोमा हिँड्नु होइन । तर, निश्चित के हो भने म हराएको छैन ।
म निरन्तर काम गरिरहेको छु । दिनहुँ रमिता नदेखाए पनि मैले गरेका कामहरुबाट मलाई चाहिने सल्लाहसुझाव, प्रतिक्रिया र त्यसलाई सच्चाउन आवश्यक मार्गदर्शन केही मित्रहरुबाट पाइरहेको छु । यसका लागि म आफूलाई धन्य मान्छु, यसका लागि म साथीहरुप्रति नतमस्तक छु ।
हो, म हराएको छु । र, कहिल्यै देखिन चाहन्नँ– रमिताहरुमा ।
रमिताहरुबाट पर रहेर, हराएर बाँच्नुको सुखानुभूति गरिरहेको छु म ।