काठमाडौँ, ९ चैत
सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सचिव अजम्बर राई काङमाङ कम्युनिस्ट पार्टीमै फर्किएका छन् । नेकपा (एमाले) परित्याग गरी सङ्घीय समाजवादी पार्टी निर्माण गरेका काङमाङसहितका केही नेता शुक्रवार नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका हुन् । उनीहरूलाई माओवादी केन्द्रको मुख्यालयमा पेरिस डाँडामा अध्यक्ष पुष्ष कमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरे ।
पार्टी प्रवेश कार्यक्रममा उनले फोरम नेपाल सरकारमा सहभागी हुने तर आन्दोलनको बाट समात्ने कुरा असैद्धान्तिक र अव्यावहारिक हुने भएकोले पार्टी त्याग गरेको बताए । उनले भने, ‘पहिचान र संघीयतका विषयमा रहेका विमतीहरु संविधान संशोधनको माध्यमबाट टुग्याइने आम सहमति बनेको छ, संविधान लेखन र कार्यान्वयनमा शान्तिपूर्ण र वैधानिक कानुनी संवैधानिक प्रक्रियाबाट टुग्याइने, अझ फोरम नेपाल समेत सरकारमा सहभागी हुने भइसकेपछि राजनीतिकरुप दुविधा सिर्जना गर्छ, सरकारमा जाने तर आन्दोलनको बाटाे समात्ने कुरा असैद्धान्तिक र अव्यावहारिक हुने भएकोले त्याग गरेका हुन् ।’
यस्तै उनले वर्ग निर्माण र विकासका प्रक्रियामा नेपालको सन्दर्भमा अन्य मुलुकको जस्तो नभई विशिष्ट खालको बताउँदै वर्ग निर्माण र पहिचानलाई सापेक्षरुपमा लानका निम्ति नै कम्युनिस्ट पार्टीमा प्रवेश गरेको बताए ।
‘वर्ग सर्घषले माध्यम मात्रले नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधता विशेषता युक्त विशेषतालाई उचित किसिमले सम्बोधन गर्न नसकिन्ने प्रस्ट छ, वर्ग निरपेक्ष पक्षपोषणले एकल केन्द्रियतालाई मात्र बोकेर हिँड्दा निरपेक्ष संकिर्णतामा फसिन्न हुँदा आज विविधता युक्त पहिचान, एउटा वर्ग चाहिँ एउटा सिक्काको दुई वटा पाटाको रूपमा लिनु पर्नेछ ।’ उनले भने, ‘यी कुरा हामीले पाँच वर्षमा गरेका अनुभव र सङघर्षका प्राप्त शिक्षा र यर्थाथ हुन्, त्यसो हुँदा वर्ग निर्माण र पहिचानलाई सापेक्षरुपमा लानका निम्ति नै मैले यस्तो निर्णय गरेको हुँ ।
उनले मुलुक निर्माणमा मूलधारको पार्टीबाटै योगदान गर्ने चाहनाको साथ आफू मूलधारको पार्टीमा प्रवेश गरेकाे बताए ।
अध्यक्ष प्रचण्डले कार्यक्रममा निशर्त पार्टी प्रवेश गरेको बताएका राईलाई पार्टी उचित जिम्मेवारी दिने बताए । उनले शनिबार केन्द्रीय कार्यलयको विस्तारित बैठक बस्ने जानकारी गराउँदै उचित जिम्मेवारी प्रदान गर्ने बताए ।
उनी तत्कालीन एमाले केन्द्रीय सदस्य काङमाङले तत्कालीन उपाध्यक्ष अशोक राई सहित पार्टी परित्याग गरेका थिए । परित्याग गरेर बनाएको सङ्घीय समाजवादी नेपालमा उनी उपमहासचिव थिए । त्यसपछि सङ्घीय समाजावादी फोरम नेपाल निर्माण गरेपछि उनी केन्द्रीय सचिवको जिम्मेवारी थिए ।
४० सालताका देखि तत्कालीन मालेसम्बद्ध अनेरास्ववियुबाट राजनीति सुरु गरेका एमाले निकट तत्कालीन प्रजातान्त्रिक युवा सङ्घको अध्यक्ष पनि बनेका थिए । ०६५ को आठौँ महाधिवेशनमा वैकल्पिक केन्द्रीय सदस्यमा निर्वा्चित भएका अजम्बर, ०६९ मा अजम्बर एमालेबाट बाहिरिएका थिए । – नयाँपेज