काठमाडौँ, १० चैत
चिकित्सकहरुले स्वदेशमा उत्पादित औषधिलाई प्रयोग गर्न आग्रह गरेका ।
हाम्रो डक्टर अनलाइन तथा मासिक पत्रिकाको दोस्रो वार्षिकोत्सवका अवसरमा सुक्रबार साँझ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधारको आवश्यकता रहेको बताउनुभयो । “अस्तव्यस्त भएको स्वास्थ्य क्षेत्रलाई सुधार्नु मेरो पहिलो प्राथमिकता हुनेछ,”– उहाँले भन्नुभयो ।
राज्यमन्त्री अर्यालले हरेक क्षेत्रको समृद्धिले मात्र मुलुकको समृद्धि हुने हुँदा स्वास्थ्य क्षेत्रलाई समेत समृद्ध बनाउनुपर्ने बताउनुभयो ।
सांसद अन्जना विसंखीले प्रविधिको प्रयोगसँगै चिकित्सकको भूमिकामा सहजता आएको भन्दै उचित प्रविधिको प्रयोग गरी बिरामीलाई निको पार्न डाक्टरले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले नेपालमा उत्पादित औषधिलाई प्रयोग गरेमात्र मुलुक समृद्ध हुने बताउनुभयो ।
हाम्रो डक्टर अनलाइनका प्रधानसम्पादक उद्धवराज भेटवालले प्रविधिको विकाससँगै हाम्रो डक्टर अनलाइन तथा पत्रिकालाई अगाडि बढाउँदै गएको बताउनुभयो । दुई वर्ष पहिले मल्टिमिडियाको रुपमा समाचार, सूचना तथा सहजीकरण सेवा प्रवाह गर्दै आएको ‘हाम्रो डक्टर’ अनलाइनमा २० हजारभन्दा बढी चिकित्सकको व्यक्तिगत विवरण र ३०० भन्दा बढी अस्पतालको विवरण उपलब्ध गरिएको हाम्रो डक्टर मासिकका प्रकाशक मधुसुदन ढकालले जानकारी दिनुभयो ।