पाँच वर्षपछि काठमाडौंमा मोनोरेल !



काठमाडौं : आगामी पाँच वर्षपछि काठमाडौं चक्रपथको परिक्रमा मोनोरेलबाट गर्न पाइने भएको छ। लगानी बोर्डले अगाडि बढाएको योजनाअनुसार पाँच वर्षमा काठमाडौं मोनोरेलबाटै साढे २८ किमिको चक्रपथ परिक्रमा गर्न सकिने गरी प्रक्रिया अगाडि बढाएको छ।

‘मलेसियन कम्पनीसँगको सहकार्यमा काठमाडौं मोनोरेल प्रालिले विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) बनाउने भएको छ। डीपीआरका लागि लगानी बोर्डले दुईपक्षीय सम्झौता (एमओयू)को ड्राफ्ट काठमाडौं मोनोरेललाई पठाइसकेको छ। यो कम्पनीसँग एमओयू गर्ने अन्तिम चरणको तयारीमा पुगिसकेका छौं’, ट्रान्सपोर्ट इन्जिनियर आशीष गजुरेलले भने।

काठमाडौं मोनोरेल प्रालिका डीएन थापा, तारादेवी ढकालसहितको टोलीले डीपीआर बनाउन प्रक्रिया अगाडि बढाइरहेको बोर्डले जानकारी दिएको छ। बोर्डका अनुसार काठमाडौं उपत्यकाभित्रको हाल सञ्चालनमा रहेको कलंकीदेखि कोटेश्वर चाबहिल, महारागन्ज हुँदै पुनः कलंकीसम्म पुग्ने सडकमै यस्तो मोनोरेल निर्माण हुने भएको छ। यो सडकको बीचबाट रेलको आवश्यक पूर्वाधार बनाइने र रेल कुदाइने भएकाले बोर्डले यसअघि नै सरकारलाई खानेपानीको पाइप निर्माण गर्दा ध्यान दिन आग्रह गरिसकेको उल्लेख छ। चक्रपथको बीच सडकमै रेलका लागि आवश्यक पूर्वाधार बनाउनुपर्ने भएकाले उक्त रुटमा कुनै अवरोध हुने साधन नराख्न आग्रह गरिसकिएको पनि बोर्डले जानकारी दिएको छ।

बोर्डका अनुसार प्रारम्भिक सम्भाव्यता अध्ययनको प्रतिवेदनबाट साढे २८ किमि मोनोरेल बनाउन करिब ८० अर्ब रुपैयाँ खर्च हुनेछ। यो रकम जुटाउन मलेसियन कम्पनी तयार रहेको गजुरेलले जानकारी दिए। उनका अनुसार काठमाडौं मोनोरेल कम्पनीसँग एमओयू गर्ने अन्तिम तयारीमा बोर्ड छ। सम्झौता तत्कालै हुन सक्ने र त्यसको एक वर्षमा डीपीआर बनाउनुपर्ने सर्त राखिएको छ। डीपीआर बनेपछि तीनदेखि चार वर्षभित्रमै रेलमार्ग बनाइसक्नुपर्ने र रेल दौडाउनुपर्ने सर्त पनि तोकिएको छ। यसका कारण आगामी पाँच वर्षमा काठमाडौंको चक्रपथमा प्रतिघण्टा १० हजार यात्रुलाई सेवा दिने गरी तीनवटा डिम्बासहितको रेल दौडनेछ।

काठमाडौं उपत्यकाभित्र हाल सञ्चालनमा रहेका कलंकीदेखि कोटेश्वर चाबहिल, महारागन्ज हुँदै पुनः कलंकीसम्म पुग्ने सडकमै मोनोरेल निर्माण हुनेछ।

यस्तो रेलको एउटा डिम्बामा करिब एक सय ५० जनासम्मको क्षमता हुने उल्लेख छ। सहरी क्षेत्रमा करिब ३० लाख जनसंख्या भएको अवस्थामा रेल सञ्चालन गर्न सकिने अन्तर्राष्ट्रिय मान्यता छ। हाल काठमाडौंको जनसंख्याले यो सम्भावना देखाइसकेकाले पनि मोनोरेल निर्माणको आवश्यक तयारी थालिएको बोर्डको बुझाइ छ।

नागढुंगा–धुलिखेल मेट्रोरेलको परामर्शदाता खोज्दै
नागढुंगादेखि धुलिखेलसम्मको ३७ किमि दूरीमा दौडाउने गरी प्रारम्भिक सम्भाव्यता अध्ययन भइसकेको मेट्रो रेलमा पनि परार्शदाता खोजी हुँदै छ। यो मार्गमा मेट्रो रेल दौडाउन सकिने सम्भाव्यता औंल्याइएकाले बोर्डले नै डीपीआर बनाउने तथा रेलमार्ग निर्माण गर्न चाहने कम्पनीको खोजी गर्ने भएको छ। बोर्डले यसका लागि आवश्यक कागजात तयार पारिसकेको र छिट्टै सार्वजनिक प्रस्ताव माग गर्ने जानकारी पनि बोर्डमै बसेर काम गरिरहेका ट्रन्सपोर्ट इन्जिनियर गजुरेलले जानकारी दिए।

‘मेट्रोरेल जमिन माथि र मुनि दुवै स्थानमा हुन सक्ने भएकाले कम्तीमा १५ वर्षे कार्य अनुभव भएको विदेशी कम्पनीसँग नेपाली कम्पनीसँगको साझेदारमा अगाडि बढ्न दिइने सर्त अगाडि सारिएको छ’, गजुरेलले भने। ६ वर्ष अगाडि भएको काठमाडौंमा मेट्रोरेलको सम्भाव्यता अध्ययनलाई आधार बनाएर सरकारले काठमाडौं पूर्व–पश्चिम र उत्तर–दक्षिण गरी दुईवटा रूटमा रेलमार्ग बनाउने योजना अगाडि सारेको छ। काठमाडौंको पूर्व–पश्चिम खण्डअन्तर्गत यो ३७ किमि दूरीको प्रक्रिया लगानी बोर्डले अगाडि बढाएको छ भने बुढानिलकण्ठबाट सातदोबाटो हुँदै काठमाडौं तराई द्रुतमार्गको एलाइनमेन्टमा जोडिने गरी कम्तीमा २५ किमिको रेलमार्ग भने रेल विभागको जिम्मेवारीमा रहेको उल्लेख छ।

लगानी बोर्डले अगाडि सारेको नागढुंगा–धुलिखेलसम्मको ३७ किमिको यस्तो मेट्रोरेलको लागत प्रतिकिमि पाँच अर्ब रुपैयाँको हुने अनुमान गरिएको छ। प्रतिघन्टा प्रतिदिशातर्फ आठ सय किलोमिटरको गतिमा दौडने क्षमतामा यस्तो मेट्रोरेल हुनेछ। करिब एक किलोमिटर दुरीमा एउटा स्टेसन हुनुपर्ने यो मेट्रोरेल यसअघि काठमाडौं उपत्यकाभित्र जमिनमुनि दुई र जमिनमाथि तीनवटा गरी पाँच रूटमा अध्ययन भएको थियो। साढे पाँच खर्ब रुपैयाँ लागत अनुमान भएको यो रेलको कोरियाली कम्पनी चुङसुङ इन्जिनियरिङले अध्ययन प्रतिवेदन तयार पारेको थियो। उपत्यकाका तीन सहर जोड्ने ७८ किलोमिटरको मेट्रोरेललाई नै मोडिफाई गरेर दुईवटा रुटमा मात्रै अगाडि बढाउन लागिएको पनि लगानी बोर्डको भनाइ छ। (अन्नपुर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्