प्रोस्टेट ग्रन्थि खराब हुने कारण



दीपक रौनियार, युरोलोजिस्ट

पछिल्लो समयमा प्रोस्टेटग्लान्डका बिरामी बढ्दै छन् । प्रोस्टेट शरीरमा हुने एक किसिमको ग्रन्थि हो । हाम्रो बिग्रँदो जीवनशैलीले पुरुषहरूमा प्रोस्टेट ग्रन्थि बिग्रने समस्या धेरै देखिएको छ । प्रोस्टेट पिसाबथैलीको ठीक तल हुन्छ । यसलाई प्रजनन ग्रन्थि वा पुरुष ग्रन्थि पनि भनिन्छ ।

लक्षणहरू
प्रोस्टेट ग्रन्थिमा खराबी आएको लक्षणहरूबाट थाहा पाउन सकिन्छ । यसका लक्षणहरूमा पिसाब छिटो–छिटो लाग्ने, पिसाबको धारा मसिनो हुने, पिसाब छरिएर जाने, पिसाब लागेजस्तो हुने तर नआउने अथवा कम आउने, पिसाब फेर्न जाँदा झट्ट ननिस्कने अर्थात् एकछिन पर्खनुपर्ने, पिसाब फेर्न बल गर्नुपर्ने, पिसाब फेरिसकेपछि पनि बाँकी रहेजस्तो हुने, पिसाब रोक्न नसकिने, पिसाब फेरिसकेपछि र फेर्नुअघि दुख्ने, नाइटोवरिपरि दुख्ने, नाइटोदेखि अण्डकोषसम्म दुख्ने, कम्मरदेखि अण्डकोषसम्म दुख्ने, अण्डकोषदेखि मलद्वारसम्म दुख्ने, पिसाब गन्हाउने, पिसाबमा रगत देखा पर्ने, नाइटोवरिपरि दुख्ने, यौनसम्पर्क गर्न नसक्ने, यौनसम्पर्कपछि वीर्य खस्दा दुख्ने, पोल्ने, वीर्यमा रगत देखा पर्ने, लिंगमा कडापन नहुने, यौनरुचि कम हुँदै जाने आदि हुन् । यस्तो समस्या देखिएमा तुरुन्त चिकित्सककहाँ जानुपर्छ । समयमा उपचार नपाए निःसन्तान हुनुका साथै क्यान्सर पनि
हुन सक्छ ।

के छन् कारण ?
प्रोस्टेट ग्रन्थि बिग्रने कारण हाम्रो खराब जीवनशैली हो । पछिल्लो समयमा रहनसहनले नै यो रोग बढिरहेको छ । यसको प्रमुख कारण हामीले लगाउने टाइट कपडाहरू हुन् । टाइट कपडा लगाउने पुरुषलाई प्रोस्टेटमा केही न केही खराबी हुन्छ । महिलाहरूमा पनि पिसाबमा संक्रमण हुन्छ । टाइट अन्डरवेयर, टाइट जिन्स, कट्राइज पाइन्ट आदि यसका मुख्य कारण हुन् । वीर्य निस्कनुपर्ने समयमा निस्कन पाएन भने पनि प्रोस्टेट ग्रन्थि खराब हुन्छ । सातामा कम्तीमा पनि तीनपटक वीर्य निस्कनु आवश्यक छ । ढिलो विवाह गर्ने, लामो समय यौनसम्पर्क नगर्नेहरूमा यो समस्या धेरै देखिन्छ । यदि लामो समयसम्म वीर्य निस्किएन भने वीर्यमा संक्रमण हुन्छ र प्रोस्टेटग्लान्ड बिग्रने हुन्छ । प्राकृतिक रूपमा वीर्य निस्कनुपर्दछ, दैनिक वीर्य निस्कनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्