राष्ट्रसेवक जीवराजको सिर्जना मोह



भलाकुसारीका लागि उनको कार्यकक्ष राज्य व्यवस्था समितिको सचिवायलमा पुग्दा उनी
‘आजै र राति के देखेँ सपना
मै मरी गएको …!
गीतमा आफैँले तयार पारेको बाँसुरीको धुन मग्न मुद्रामा सुनिरहेका थिए । सम्भवतः मेरो प्रवेशले उनको एकाग्रता भंग भयो । ‘यो मैले बझाङ गएका वेला सेती नदी किनारमा बसेर तयार पारेको धुन हो,’ नेपाल सरकारका सह–सचिव जीवराज बुढाथोकीले सुन्दै गरेको बाँसुरीको धुनबारे प्रस्टीकरण दिए । दृश्यमा सेती नदीको किनारमा अडिएको अग्लो ढुंगो छ । त्यसमा बसेर बुढाथोकी बाँसुरी सुसेलिरहेका छन् । पृष्ठभूमिमा बगेको सेती नदीको कलकल आएर धुनसँगै बगिदिँदा त्यो थप कर्णप्रिय लाग्छ । मन्त्रमुग्ध बनाउँछ ।

बुढाथोकी प्रकृतिको छेउ पर्नेबित्तिकै आफ्नो बालापन सम्झिन्छन् । सानो हुँदा गाउँपाखामा बाँसुरी बजाएको स्मृति ताजा हुन्छ । समयको मेलोमेसो मिलाउँछन्, बाँसुरी बोक्छन् र दृश्य सुहाउँदो धुन बाँसुरीमा सुसेल्न थाल्छन् । ‘म गाउँपाखामा जन्मिएँ, खोला, जँघार, भीरपाखा र हिमाल मेरा लागि सानैदेखिका साथी बने, प्रिय लागे,’ प्रकृतिपे्रमबारे उनले भने, ‘त्यसैले पनि म प्रकृतिसँग औधी नजिक हुन चाहन्छु ।’ विक्रम संवत् २०२७ सालमा आमा देवकुमारी र बुबा रेसम बुढाथोकीका जेठा छोराका रूपमा सल्यानमा जन्मिए । खलंगाकै महेन्द्र बहुमुखीमा पढे । उतै रमाए, उतै खेले ।

मान्छेका लत अनेक हुन्छन् । भिन्नाभिन्नै रुचि हुन्छन् । ‘फ्रेस’ हुने तरिका आ–आफ्नै हुन्छन् । त्यसमा कहीँ न कहीँ ऊ हुर्केको परिवेशले सुषुप्त प्रभाव पारेको हुन्छ । पेसाले सरकारी कर्मचारी बुढाथोकी पनि कामको रफ्तारमा हुँदा कहिलेकाहीँ थकित हुन्छन् । फ्रेस हुन मन लाग्छ ।

‘प्रकृतिको माझमा बसेर बाँसुरी बजाउन पाउँदा मलाई महिनाभरिको थकान मेटिएझैँ लाग्छ,’ बुढाथोकीले भने । त्यसो नहुँदा उनी कविता लेख्छन् । गीत रचना गर्छन् र गजल कोर्छन् । उनका कतिपय रचना विभिन्न सञ्चारमाध्यममा प्रकाशित छन्, प्रसारित छन् ।

बुढाथोकीको कला प्रस्तुतिमा एउटा विशेषता भेटिन्छ । उनी स्थान, अवस्था, ठाउँ र परिवेशअनुसारको रचना गर्छन् । बाँसुरी बजाउँछन् । इलामको चिया बगानमा पुग्दा उनी
‘अल्झेर क्यारे पछ्यौरी तिम्रो,
चियाको बोटमा …’
को धुन बजाउँछन् । भारतको नैनीतालमा सयर गर्दा उनी
‘निले गगनके तले,
धर्तीका प्यार …।
गीतको धुन बाँसुरीमा सुसेल्छन् ।
केही वर्षअघि बाढीपहिरोले दार्चुलाको जनजीवन नराम्ररी खलबलियो । बस्ती बगायो । त्यसलगत्तै त्यहाँ पुगेका बुढाथोकीले महाकालीको किनारमा बसेर
फूलको थुँगा बगेर गयो
गंगाको पानीमा …।

गीतको धुन हुबहु बाँसुरीमा उतारे । ब्रस, कोलगेट, एक–दुई जोर लुगाजस्तै बुढाथोकीले यात्राका क्रममा नछुटाउने सामग्री बनेको छ, बाँसुरी । विदेशमा पनि बुढाथोकीको बाँसुरीबाट निस्केको सुरिलो भाका निकै रुचाइएको छ । युगान्डा भ्रमणमा रहँदा उनले ‘भिक्टोरिया लेक’मा बजाएको बाँसुरीको धुनले भ्रमण दलका सबै पाहुना मोहित भएको पल उनी सम्झिन्छन् ।

विभिन्न विश्वविद्यालयबाट समाजशास्त्र, राजनीतिशास्त्रमा एमए, एमपिए र बिएड गरेका बुढाथोकीलाई रहर गरेर मात्र हुँदैन भन्ने थाहा छ । बाँसुरीका अनेक आयामबारे उनले बुझ्ने प्रयास गरेका छन् । ‘मेरा लागि यो आत्मसन्तुष्टिको क्षेत्र मात्र हो,’ बुढाथोकीले भने, ‘र, पनि बाँसुरीका बारे जान्नु त पर्‍यो नि !’ यसका लागि उनले बाँसुरीमा विद्यावारिधि गरेका ललितकला कलेजका डा. नीरञ्जन भण्डारीदेखि बाँसुरीका ज्ञाता बुद्ध लामा, डम्बर खड्काथोकी, सरोज अधिकारीसँगसमेत भेटेका छन् । लय, ताल, सुरका बारेमा जानकारी लिएका छन् । कवितामा छन्दजस्तै बाँसुरीवादनमा पनि सुर, ताल र लय हुने ज्ञान उनले लिएका छन् ।

बुढाथोकी विभिन्न राष्ट्रिय, सदाबहार र पूर्व–पश्चिम क्षेत्रका गीतमा आधारित करिब सयवटा बाँसुरीका धुन रेकर्ड गर्ने तयारीमा छन् । कतिपय गीतका धुन बनाएर उनले आफ्नै युट्युब च्यानलमा राखेका छन् ।

‘यो नेपाली शिर उचाली’, ‘नेपाली हामी रहौँला कहाँ’, ‘पश्चिम रुन्छ महाकाली पूर्व रुन्छ मेची’जस्ता राष्ट्रभक्तिका गीतसँगै उनी नारायणगोपालका ‘यो सम्झिने मन छ’, ‘केही मीठो बात गर’, पर्खी बसेँ आउला भनी’, ‘अल्झेछ क्यारे पछ्यौरी’, प्रेमध्वज प्रधानको ‘पर लैजाऊ फूलहरू’, ‘घुम्तीमा नआऊ है’, ‘यो नानीको शिरैमा’, योगेश वैद्यको ‘सपना भुलाई सारा’, फत्तेमानको ‘यस्तो पनि हुँदो रैछ’, ‘मर्न बरु गाह्रो हुन्न’, बद्री दुर्गा खरेलको ‘बोलाऊँ भने तिमीलाई’, तारादेवीको ‘फूलको थुँगा झरेर गयो’जस्ता सदाबहार गीतमा बाँसुरीको धुन सिर्जना गर्ने तयारी गरेका छन् ।

त्यो मात्र होइन, कविता, गीत र गजलमा पनि गहिरो रुचि राख्ने बुढाथोकी समय, परिस्थिति र अवस्थाअनुकूलका भावना अक्षरमा पोख्छन् । जननी अर्थात् आमा नै जीवनमा सर्वेसर्वा हुन् भन्ने भाव उनले यसरी पोखेका छन् :
आमाविना छैन सम्भव, यो संसार र सृष्टि,
सन्तानप्रति आमाको, अमूल्य छ कृपा दृष्टि !!
कहिले हुर्किन्छन् सन्तान, कहिले आत्मनिर्भर,
चिन्ता चासो सबै जननीको, यही एक निरन्तर !!
निःस्वार्थ माया ममता, आमा चाहन्नन् अरू,
पाइन्न माया आमासरी, संसारै खोजी हेरूँ !!
आमा स्वर्ग, आमा नै धरती, आमा नै सृष्टि हुन्,
पुग्दैन कोही त्यहाँ जननीको, स्थान रहन्छ जुन !!

बाढीपहिरोले मुलुकका बस्ती डुबानमा पर्दा होस् कि भूकम्पले सिंगो देश काँप्दा होस्, त्यो पीडा उनले सिर्जनामा पोखेका छन् । ‘म आफू दुखेको कुराभन्दा समाज र मेरो देश दुखेको कुरा लेख्न खोज्छु,’ उनले भने, ‘आफ्नो पीडा त सबैले महसुस गर्छन्, सर्जकले त अरूको पीडा पनि अनुभूत पो गर्न सक्नुपर्छ ।’

गीत, कविता र गजलका करिब छुट्टाछुट्टै तीन–तीनवटा पाण्डुलिपि तयार भए पनि उनले कृतिका रूपमा भने प्रकाशन गरेका छैनन् । राष्ट्रसेवामै रहेका शंकरप्रसाद कोइराला, दिनेश अधिकारी, कालीप्रसाद रिजाल, ज्ञानुवाकर पौडेलहरू सरकारी सेवामा रहेकै वेला पनि सिर्जनाको क्षेत्रमा स्थापित भए । तर, बुढाथोकी सिर्जनाको क्षेत्रमा स्थापित नाम भने बन्न सकेको छैन । उनी भन्छन्, ‘अवकाशपछिको जीवनमा पनि त केही गर्नुपर्ला नि ।’

२०५१ सालमा सेक्सन अफिसरका रूपमा सरकारी सेवामा प्रवेश गरेका जीवराज बुढाथोकी उपसचिव हुँदै २०७० सालमा सहसचिवको जिम्मेवारीमा पुगे । जिम्मेवारीले उनी यतिवेला विधि व्यवस्थापन महाशाखामा बसेर आएका विधेयकमाथि छलफल गराउने र त्यसलाई कानुन बनाएर बाहिर निकाल्ने काम गर्छन् ।

उनी राज्यव्यवस्था समितिको सचिवको जिम्मेवारी पनि सम्हालिरहेका छन् । ‘सिर्जना मेरो इच्छा, रहर र सोखको विषय हो,’ बुढाथोकीले भने, ‘यो (पेसा) मेरो जिम्मेवारी हो । दुईतिर सँगै लाग्दा कता–कता अलमल हुन्छ किजस्तो लाग्यो ।’

२४ वर्ष सरकारी सेवामा बिताइसकेका उनी आफ्ना सम्पूर्ण सिर्जनालाई सँगालेर राखेको बताउँछन् । ‘अवकाशपछिको जीवनमा फुर्सदिलो भएर बस्न सकिँदैन,’ उनले भने, ‘त्यस समयमा म सिर्जनशीलतालाई बाहिर ल्याउने कामलाई मूर्त रूप दिन्छु ।’

सिर्जनशीलतालाई सबैले पेसा बनाउनुपर्छ भन्ने उनलाई लाग्दैन । ‘मेरो पेसा त छँदै छ नि ! यो त मैले आत्मसन्तुष्टिका लागि अपनाएको बाटो न हो ।’

उनले सम्झिए, बंगलादेश भ्रमणको क्षण । जहाँ उनको बाँसुरीको धुनले हजारौँको ताली पाएको थियो । नेपाली विद्यार्थीहरू पढिरहेको मेडिकल कलेजमा उनी ८० जनाका माझ थिए । कसैले उनलाई बाँसुरी बजाउन आग्रह गर्‍यो । उनले बजाएर सुनाइदिए ।

त्यो खबर त्यहाँको म्यानेजमेन्टले थाहा पाएपछि नजिकै भइरहेको सांस्कृतिक कार्यक्रममा उनको नाम नेपालबाट आएका अतिथि प्रस्तुतिका लागि राखियो । मञ्चबाट उनलाई बासी (बाँसुरी) प्रस्तुतकर्ताका रूपमा नाम पुकारियो । उनले ‘निले गगनके तले’ गीतको धुन बाँसुरीमा सुनाए । हजारौँको भीडले उनलाई वाहवाही गरे । ‘मेरो कलाको त्यत्रो प्रशंसा सायद त्यो पहिलोपटक थियो,’ उनले भने ।

बाँसुरीवादनमा लागेर उनले बाँसुरीबारे अनेक ज्ञान बटुलेका छन् । बाँसुरी पनि विभिन्न स्केलका हुन्छन् भन्ने थाहा पाएका छन् । अनेक सुर र तालसँग आफूलाई अभ्यस्त बनाउँदै बाँसुरीलाई सारथि बनाएका छन् । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्