अवैधानिक बाटो हुँदै युएई पुगेकी नेपाली महिलाको उद्धार



वैदेशिक रोजगारीका लागि अवैधानिक रूपमा भारतको बाटोबाट कुवेत हुँदै युएई पुर्‍याइएकी कास्की भरतपोखरी–३ की अञ्जना चन्दलाई उद्धार गरी नेपाल पठाइएको छ । आफन्तले क्लिनिङ कम्पनीमा काम लगाइदिने भन्दै विभिन्न प्रलोभन देखाएर वनारस हुँदै चन्दलाई कुवेत पठाइएको थियो।

युएईस्थित अलएनमा रहेको अल तवान रिक्रुटमेन्टको एजेन्टको रूपमा भारतमा रहेर महिला कामदार विभिन्न देश पठाउने कार्य गर्दै आइरहेका सतीश र मीना भनिने दलाललाई ५६ हजार रुपैयाँ बुझाएर उनी कुवेत आएकी थिइन् ।

कुवेतमा घरेलु कामदारका रूपमा १२ दिन काम गरेपछि घरमालिकले मानसिक यातना दिएपछि उनी युएई आएकी थिइन् । नयाँ पत्रिकालाई प्राप्त भिडियोमा चन्दले आफू कुवेतमा रहँदा घरमालिकले गाली गर्ने, समयमा खान नदिने, रातदिन काम गर्नुपर्ने बताएकी छिन् ।

‘कम्पनीमा काम गरेर पैसा कमाएर छोरा पाल्ने आशामा आएकी थिएँ, दलालले फसायो । मैले गल्ती गरेँ । घरेलु कामदारका रूपमा भनेको भए आउने थिइनँ । पैसा बुझाएको थिएँ, पक्कै कम्पनीको काम हुन्छ भन्ने भरोसा थियो,’ उनले भनेकी छिन् ।

कुवेतमा काम गर्न नसकेपछि उक्त रिक्रुटमेन्टको युएईस्थित अलएनमा रहेको अल तवान रिक्रुटमेन्टमार्फत २० मार्चमा उनलाई युएई ल्याएर राखिएको थियो । उनलाई युएई रोजगारको व्यवस्था गर्ने, नभए ओमन पठाउने तयारी रिक्रुटमेन्टले गरेको थियो । सोही अवस्थामा पवन पन्तको सूचनाका आधारमा गैरआवासीय नेपाली संघ युएईको अलएन क्षेत्रीय समितिका अध्यक्ष गोपाल पौडेलको सक्रियतामा उद्धार गरिएको थियो ।

उद्धारपछि अलएनमा रहेकी नेपाली महिला सविता ढकालकहाँ आश्रय दिई उनलाई २२ मार्चमा दूतावास र अन्य आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी नेपाल फर्काइएको गैरआवासीय नेपाली संघ युएईका प्रवक्ता मनु क्षेत्रीले बताए । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्