तीन स्वास्थ्यचौकी भवन हस्तान्तरण



धुलिखेल, १० चैत

नेपाल रेडक्रस सोसाइटीको समन्वय र कोरियाली रेडक्रसको आर्थिक सहयोगमा बनेका तीन  स्वास्थ्य संस्थाको भवन शुक्रबार हस्तान्तरण गरेको थियो ।

रेडक्रस सोसाइटीका केन्द्रीय सभापति सञ्जीव थापाले स्थानीय तहलाई भवन हस्तान्तरण गर्दै विसं २०७२ को भूकम्पपछि ती स्वास्थ्य संस्था निर्माण गरी स्थानीय तहलाई हस्तान्तरण गर्न सफल भएको बताउनुभयो ।  स्वास्थ्य मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक रमेश अधिकारीले स्वास्थ्य संस्थाबाट दिने सेवा नियमित चलिरहेको छ छै हेर्ने र  त्यसको रेखदेखलगायत काम अब स्थानीय तहले गर्नुपर्ने बताउनुभयो । कोरियाली रेडक्रसका लागि नेपाल निर्देशक सनी किमले नेपालमा कोरियाली रेडक्रसले स्वयंसेवक परिचालन गरेर स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको बताउनुभयो ।

रेडक्रस सोसाइटीको भूकम्प प्रतिकार्य कार्यक्रमका प्रमुख उमेश ढकालले भवन नेपाल सरकारले स्वीकृत गरेका डिजाइनमा प्रि फेब्रिकेटेड प्रविधिमा आधारित भएर बनाइएको बताउनुभयो । रेडक्रस सोसाइटीले धुलिखेल नगरपालिका–२ रविओपीमा नागर्जुन बाइसधारा जेवीसँग ठेक्का सम्झौता गरी निर्माण गरेको भवनमा कर्मचारीको आवाससहित नौ कोठा, दुईकोठे शौचालय र उपकरणसहित छन् । हस्तान्तरण गरिएका स्वास्थ्य चौकीमा धुलिखेल नपा–२को रविओपी स्वास्थ्य चौकी, बनेपा नपा–१२ को महेन्द्रज्योति स्वास्थ्य चौकी र पनौती नपा–१ र्यालेको स्वास्थ्य चौकी भवन छन् ।  रेडक्रसले जिल्लामा १२ स्वास्थ्य संस्थाको भवन निर्माण गर्ने जिम्मा पाएको थियो ।

काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पले ४३  स्वास्थ्य संस्थाको भवनमा पूर्ण क्षति पुर्याएकामा छ स्वास्थ्य संस्थाका लागि जग्गा उपलब्ध नभएको र ३७  स्वास्थ्य सस्ंथाको भवन भने केही निर्माण भइसकेको तथा केही निर्माणाधीन रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद चौरासियाले बताउनुभयो ।

रेडक्रस सोसाइटीले १२ वटा बनाउने जिम्मा लिएकामा तीन वटा हस्तान्तरण भइसकेको, युनिसेफ नेपालले १० वटा बनाउनुपर्नेमा पाँच वटा बनाएर हस्तान्तरण भइसकेको र पाँच  निर्माणाधीन रहेको, टिडिएजले पाँच प्रिफाइब भवन बनाउनुपर्नेमा चार वटा निर्माण भइसकेको, एड्रा नेपालले चार वटा बनाउने जिम्मा लिएकामा सबै बनाएर हस्तान्तरण भइसकेको र टिडिएजको नै सहयोगमा किर्डाक नेपालले सात वटा पक्की भवन बनाउनका लागि सन् १०१८ सम्ममा बनाइसक्नुपर्ने भन्ने सम्झौता रहेकामा काम शुरु भइसकेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्