नेपाल आइडल पहिलो सेसनका बुद्ध लामाले विजेता घोषित पुरस्कारबापतको कार नपाएको खुलासा गरेको अडियोले नेपालमा सञ्चालित रियालिटी सोबारे आशंका बढाइरहेको बेला अर्को रियालिटी सोका निर्माता ठगीमा जोडिए ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको लामाको अडियोमा उनले विजेता भएबापत घोषित पुरस्कार महिन्द्राको केयुभी हन्ड्रेड अझै नपाएको गुनासो गरेका थिए ।
नेपाल आइडलको सिजन टुको अडिसन सुरु भइसकेको बेला उनको सार्वजनिक भएको अडियोमा आफूले घोषित २० लाख पुरस्कार पाएको तर कार नपाएको दाबी गरेका थिए ।
‘गाडी लैजाने हो भने ट्याक्सबापतको ८ लाख लिएर आउनु भन्छन्,’ लामाको दाबी गरिएको अडियोमा छ ‘घरमा एक रुपैयाँ छैन । कहाँबाट ल्याउनु त्यत्रो पैसा ।’
त्यसको एक सातामै कार्यक्रमका विजेतालाई दिने पुरस्कार नै नदिएको र पैसा उठाएर ठगी गरेको आरोपमा ‘डान्स नेपाल डान्स’ का सञ्चालक विक्रम अछामी पक्राउ परे ।
सो रियालिटी सोको पहिलो र दोस्रो सिजनको विजेताले घोषित पुरस्कार रकम नपाएको र तेस्रो सिजन भन्दै पैसा उठाइरहेको उजुरीको आधारमा महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको छ ।
प्रतियोगितामा पहिलो सिजनमा प्रथम हुनेलाई १ लाख र दोस्रो सिजनमा पुरस्कारको रकम बढाएर साढे दुई लाख घोषणा भएको थियो । त्यस्तै दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई १८ हजार नगद पुरस्कार दिने कार्यक्रम आयोजकले दाबी गरे पनि कसैले पैसा पाएनन् ।
रियालिटी सोको पहिलो सिजन २०६८ जेठ २७ र दोस्रो सिजन २०७३ साउन २६ बाट सुरु भएको थियो ।
विजेतालाई पुरस्कारबापतको पैसा दिनुको साटो अछामी बेपत्ता भएको र अर्को सिजनको तयारी गरेको जानकारी पाएपछि पुरानो कार्यक्रममा सहभागीले प्रहरी गुहारेका थिए ।
ठगीको उजुरीको आधारमा महाशाखाले कार्यक्रमको आयोजक रहेको भी एण्ड भाइरस डान्स एकेडेमीका सञ्चालकसमेत रहेका अछामीलाई पक्राउ गरेर ठगीको अभियोग लगाएको छ ।
प्रहरीले कार्यक्रमको प्रयोजन, कार्यक्रममा सहभागिताबापतको शुल्क, एसएमएस भोटिङमार्फत ठगी गरेको अभियोग लगाएको छ ।
महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीका अनुसार पक्राउ परेका अछामीले तेस्रो सिजनको अडिसनका लागि भन्दै काठमाडौंका विभिन्न विद्यालयमा फारम वितरण गरी रकम उठाएको खुलेको छ ।
कार्यक्रम सञ्चालकका लागि पार्टनरसिप गर्ने भन्दै विभिन्न व्यक्तिसँग लाखौं रुपैयाँ लिएको प्रहरीको दाबी छ । धेरै एसएमएस ल्याइदिएर जिताइदिने भन्दै कार्यक्रमका प्रतियोगीसँग समेत पैसा लिएको प्रहरीको दाबी छ ।
प्रहरीले उनको साथबाट ‘डान्स नेपाल डान्स’ का विभिन्न प्रचार सामग्रीसमेत बरामद गरेको छ । उनी अहिले महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । प्रारम्भमा १५ जनाको उजुरी परेकोमा उजुरीको संख्या बढिरहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जानकारी दिए । (साभार : शुक्रवारबाट)