यी हुन् नेपालका रोगी नेताहरु , कुन कुन नेतालाई कुन कुन रोग ?



काठमाडौँ, १० चैत

स्वास्थ्य नै धन हो भन्ने उखान यत्तिकै चलेको होइन । मान्छे स्वस्थ हुनका लागि उसको तन र मन दुवै स्वस्थ हुनुपर्छ । स्वस्थ मान्छेको व्यवहार र क्रियाकलाप सहज र सामान्य हुन्छन्। स्वस्थ मान्छेको निर्णय क्षमता पनि राम्रो हुन्छ । देश सञ्चालनको जिम्मेवारी बोकेका नेताहरू शारीरिक र मानसिक दृष्टिले स्वस्थ हुनुपर्ने हो । उनीहरू बिरामी र अशक्त भइदिँदा उनीहरूबाट जनताले माग गर्ने सक्रियतामा प्रतिकूल प्रभाव पर्छ । फलतः राजनीतिक परिदृश्य पनि चुस्त हुन सक्दैन ।

प्रधानमन्त्री: केपी ओली
दुवै मिर्गौलाले काम नगरेपछि केपी ओलीले मिर्गाैला प्रत्यारोपण गरेका छन् । स्यालुलाइटिस भनिने छालाको संक्रमण र पछिल्लो समय सेवन गरिरहेका विभिन्न औषधिका कारण सुगरको मात्रा बढेर उनको हात समेत सुन्निएको छ । दस वर्षअघि भारतको अपोलो अस्पतालमा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसयता उनले नियमित रूपमा अपोलो गएर स्वास्थ्य परीक्षण गराउँदै आएका थिए । पछिल्लोचोटि हात सुन्निँदा पनि विस्तृत परीक्षण नगराई युरिक एसिडकै औषधिको भर पर्दा समस्या बल्झेको थियो । केही समयअघि अस्पताल भर्ना हुँदा उनको रगतमा चिनीको मात्रा पाँच सय नाघेको थियो । हेमोग्लोबिन एकदमै कम भइसकेको थियो ।

मिर्गौला प्रत्यारोपणपछि सेवन गरिरहेका विभिन्न औषधि (शरीरलाई शक्ति दिने स्टोरोयड सहित)का साथै उनी सुगर, पायल्स र उच्च रक्तचापको औषधि समेत नियमित खाइरहेका छन् । मिर्गौला प्रत्यारोपणपछि खाने औषधिले रक्तचाप, सुगर र युरिक एसिडसमेत बढाउन सक्ने र संक्रमणको जोखिम पनि बढी हुने भएकाले धेरै मानिससँग सम्पर्कमा नरहन उनलाई चिकित्सकले सुझाव दिएका छन् । स्वास्थ्य समस्याकै कारण खानामा मुख बार्ने गरेका ओली अहिले पनि खाना खानुअघि थाल, कचौरा र चम्चालाई उमालेको पानीले पखालेपछि मात्र ती भाँडामा खाना खान्छन् । थाल र भाडाकुडामा किटाणुहरूको संक्रमण हुने भएकाले तातोपानीले भाडा निर्मलीकरण गर्नुपरेको हो ।

झलनाथ खनाल: वरिष्ठ नेता, नेकपा एमाले
झलनाथ खनाल राति आँखा देख्दैनन् । रतन्धोको समस्या भएका उनी अँध्यारो भएपछि सहयोगीबिना हिँडडुल पनि गर्न सक्दैनन् । विद्यार्थी राजनीति गर्दा नै खनाललाई टीबी भएको थियो । उपचारपछि टीबी त निको भयो तर त्यसको ‘साइडइफेक्ट’का रूपमा उनलाई आँखा नदेख्ने रोगले गाँजेको उनका निकटहरू बताउँछन् । खनाललाई मुटुको पनि समस्या छ । उच्च रक्तचापका कारण कहिलेकाहीँ मुटुमा समस्या देखिन थालेपछि उनी नियमित चेकजाँच गराउँछन् । उनलाई मिर्गौला र प्रोस्टेटको समस्या पनि देखिन थालेको बताइन्छ ।

पुष्पकमल दाहाल प्रचण्ड: माओवादी केन्द्र
प्रचण्डलाई उच्च रक्तचाप र मधुमेहको समस्या छ । चिकित्सकहरूकोे सल्लाह अनुसार उनी नियमित औषधि सेवन गरिरहेका छन् । हरेक दिन बिहान व्यायामलाई निरन्तरता दिने गरेका कारण अहिले रक्तचाप र सुगर दुवै नियन्त्रणमा रहेका उनी निकटहरू बताउँछन् । प्रचण्ड डा. दामोदार गजुरेलसित नियमित स्वास्थ जाँच गराउँछन् ।

मोहन वैद्य: अध्यक्ष, नेकपा–माओवादी
मोहन वैद्यलाई दम र रक्तचापको पुरानै समस्या छ । उनी दुवै रोगको नियमित औषधि सेवन गरिरहेका छन् । उनले खानपिनमा विशेष ख्याल गर्नु परेको छ ।

शेरबहादुर देउवा: सभापति, नेपाली कांग्रेस
पेट र उच्च रक्तचापको समस्याबाट शेरबहादुर देउवा लामो समयदेखि पीडित छन् । सिंगापुरमा पेटको नियमित परीक्षण गराउन जाने गरेका छन् । पेटमा समस्या देएिपछि चुरोट पिउन छोडेका छन् । पछिल्लो समयमा खानपानमा उनले विशेष ध्यान दिने गरेका छन् ।

रामचन्द्र पौडेल: वरिष्ठ नेता, नेपाली कांग्रेस
लामो समयदेखि सुगर, प्रोस्टेट, ढाड र युरिक एसिडको समस्या छ उनलाई । यूरिक एसिडका कारण कहिलेकाहीँ खुट्टाको पनि समस्या देखिने गरेको छ । उनी निकट स्रोतका अनुसार अहिले युरिक एसिड नियन्त्रणमा आइसकेको छ । प्रेसर र प्रोस्टेटको नियमित औषधि सेवन गरिरहेका छन् उनी । केही समयअघि पौडेलले प्रोस्टेट र पायल्सको शल्यक्रिया गराएका थिए ।

माधवकुमार नेपाल: वरिष्ठ नेता, नेकपा एमाले
उनलाई मुटु र फोक्सोसम्बन्धी समस्या छ । उच्च रक्तचाप पनि छ उनलाई । उनले अहिले नियमित योग र व्यायाम गरिहेका छन् । निमोनिया र पिसाबमा संक्रमणसमेत देखिएपछि नेपाल केही सयमअघि लामै समय अस्पताल बसेका थिए । रोगले च्याप्न थालेपछि नेपालले खानपान र दैनिक व्यवहारमा निकै ध्यान पुर्याउने गरेका छन् ।

डा. बाबुराम भट्टराई: नेता, नयाँ शक्ति नेपाल
डा. भट्टराईलाई लामो समयदेखि रक्तचापको समस्या छ । रक्तचाप नियन्त्रण गर्न भट्टराईले नियमित औषधि सेवन गर्दै आएका छन् । उनी खानपिनमा विशेष ध्यान दिन्छन् । चिल्लो/पिरो कम खान्छन् ।

कृष्णप्रसाद सिटौला: महामन्त्री, नेपाली कांग्रेस
उनी अहिले गंगालाल हृदय केन्द्रमा छन् । चार वर्षअघि मुटुको शल्यक्रिया गराएका सिटौलालाई उच्च रक्तचाप, सुगरका साथै खुट्टा झमझमाउने समस्या पनि छ । मुटुका नसा साँघुरिएकाले रक्तप्रवाहमा अवरोध उत्पन्न भएपछि मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्ट उनको उपचार गरिरहेका छन् । चार वर्षअघि पनि उनलाई यस्तै समस्या भएको थियो ।

राजेन्द्र महतो: अध्यक्ष मण्डल, राजपा नेपाल
उनी नियमित रूपमा उच्च रक्तचाप र मधुमेहको औषधि खाइरहेका छन् । महतो मर्निङवाक र योग गर्छन् । खानपिनमा सावधानी अपनाइरहेका उनी महिनामा एकपटक डाक्टरकोमा जान्छन् ।

उपेन्द्र यादव: अध्यक्ष, संघीय समाजवादी फोरम नेपाल
उपेन्द्र यादव सात वर्षयता मधुमेहबाट पीडित छन् । उनी दैनिक मधुमेहको औषधि लिन्छन् । व्यायाम र आरामका लागि समय मिलाउन गाह्रो हुने भएकाले उनी खानपिनमा भने विशेष ध्यान दिन्छन् ।

महन्थ ठाकुर: अध्यक्ष मण्डल, राजपा नेपाल
महन्थ ठाकुरको पाँच वर्षअघि भारतको दिल्लीमा मुटुमा पेसमेकर राखिएको छ । लामो समयदेखि मुटु रोगबाट पीडित ठाकुर पेसमेकर राखेपछि पनि नियमित रूपमा औषधि खान्छन् । उच्च रक्तचाप र मधुमेहको औषधि पनि खान्छन् उनी ।

महेन्द्र यादव: अध्यक्ष मण्डल, राजपा नेपाल
दस वर्षदेखि मधुमेहको नियमित औषधि खान्छन्, महेन्द्र यादव। बिहान योग र व्यायाम गर्ने यादव घरबाट निस्कनुअघि केही खाएरमात्र बाहिरिन्छन् ।

शरतसिंह भण्डारी: अध्यक्ष मण्डल, राजपा नेपाल
उनलाई मधुमेहको समस्या छ । उच्च रक्तचापको औषधि पनि नियमित खाइरहेका छन् । हरेक दिन कम्तीमा एक घण्टा व्यायाम गर्ने भण्डारी हप्तामा दुई–तीन दिन मर्निङवाकमा निस्कने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्