११ चैत्र २०७४
पटना, भारतको राष्ट्रिय जनता दलका नेता तथा विहारका पूर्वमुख्यमन्त्री लालु प्रसाद यादव चौथौं भ्रष्टाचार मुद्दामा पनि दोषी ठहरिएका छन् ।
भारतको सिबिआई अदालतले शनिबार यादवलाई १४ वर्षको कारावास सजायका साथै ६० लाख जरिवाना सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अदालतले उनलाई दुम्का कोषबाट गैरकानुनी रुपमा ३ करोड ७६ लाख भारतीय रुपैया अपचलन गरेको ठहर गरेको
थियो ।
फैसलाको सजाँय सुनाउँदै यादवलाई १४ वर्ष जेल र ६० लाख रुपैया जरिवाना तोकिएको हो । उक्त मुद्दामा विहारका पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्रालाई भने अदालतले सफाई दिएको छ ।
यादवका कानुन व्यवसायी प्रभात कुमारले उक्त फैसलाविरुद्ध उच्च अदालत अपिल गर्ने बताएका छन् । यादवविरुद्धका अझै २ मुद्दामा फैसला हुन बाँकी छन् । यसअघि ३ वटा मुद्दामा दोषी ठहर भएका यादब गत डिसेम्बर २३ देखि राँचीस्थित विर्सा मुण्डा जेलमा छन् ।
यादव सन् २०१३ मा ३७ करोड ७० लाख हिनामिना गरेकोमा दोषी ठहर भएका थिए । उक्त फैसलापछि संसद पदका लागि अयोग्य घोषित भएका यादबलाई ११ वर्ष चुनाव लड्न रोक लगाइएको थियो । यद्यपी, उनी गत डिसेम्बर १३ मा सर्बोच्च अदालतबाट जमानतमा रिहा भएका थिए ।
त्यसैगरी गत जनवरी ६ मा सिबिआई अदालतले यादवलाई दोस्रो मुद्दामा ४४ महिना जेल सजायका साथै १० लाख जरिवाना सुनाएको थियो । त्यसको तीन सातापछि तेस्रो मुद्दामा यादवलाई ५ वर्ष जेल सजाँय तोकिइसकेको छ ।
यादवविरुद्धको १ अर्ब ३९ करोडको पाँचौं मुद्दा भने अदालतमा विचाराधिन छ । वर्षौसम्म विहारको मुख्यमन्त्री बनेका यादवले सन् १९९० को दशकमा विभिन्न जिल्लाका सरकारी कोषबाट ९ अर्ब भन्दा बढी रकम गैरकानुनी रुपमा अपचलन गरेका थिए ।सन् १९९० मा विहारको मुख्यमन्त्री बनेका यादवले गाईबस्तुलाई दिइने चारा खरीदमा भ्रष्टाचार गरेको अभियोगपछि राजीनामा दिएका थिए । सन् १९९७ मा उनको राजीनामापछि विहारमा उनकी पत्नी रावरी देवी मुख्यमन्त्री बनेकी थिइन् ।