रामको शासनकालमा कुकुरले पनि न्याय पाउँथ्यो
रामनवमी नेपालीहरूको विशेष पर्व हो । वाल्मीकीय रामायणअनुसार लोकहितका लागि यसै दिन भगवान् राम लोकमा अवतीर्ण भएका थिए । त्यसैले यस दिनलाई विशेष पर्व मानिएको हो । (कल्याण वेद-कथांक पृष्ठ ४०) यद्यपि उनको भगवत्ताबारे मतभेद हुन सक्छ । श्रद्धा र विश्वासको कुरा हो, मान्नेले मानेकै छन् । कतिले नमान्न पनि सक्छन् । यो उनीहरूको खुसीको कुरा हो तर उनी मर्यादापुरुषोत्तमका साथै शान्ति, सदाचार, सत्य र धर्मका अनुयायी भने पक्कै हुन् । शान्ति, सुशासन र सुव्यवस्थाका निम्ति आज पनि उनको नाम लिने गरिन्छ ।
भनिन्छ, उनको शासनकालमा कुकुरले पनि न्याय पाउँथ्यो । अहिले पनि कुनै सुशासनको कुरो गर्नुपर्यो भने ‘रामराज्यजस्तो’ भन्ने गरिन्छ । उनको शासनकाललाई कतिले दस हजार वर्षपूर्व मानेका छन् । कतिले दुई करोड वर्षपूर्व मानेका छन् (कल्याण अवतार कथांक, गीताप्रेस- गोरखपुर) ।
पौराणिक ग्रन्थहरूमा उल्लेख भएनुसार राम त्रेतायुगका हुन् । यो भनेको झन्डै पौने नौ लाख वर्षपूर्वको अवस्था हो तर डा. शास्त्रदत्त पन्तले भने भारतीय अन्वेषक पुष्कर भट्नागरको हवाला दिँदै अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) को तथ्यांकका आधारमा उनको शासनकाल ७११६ वर्षअघिको हुन सक्ने निचोड निकालेका छन् (महर्षि वाल्मीकि पत्रिका पृष्ठ २५, प्रकाशक महर्षि वाल्मीकि परिषद् तदर्थ समिति) । डा. स्वामी प्रपन्नाचार्यका अनुसार रामको जन्म समय ईपू ७३२३ डिसेम्बर ४ मा मानिएको छ (वेदमा के छ पृष्ठ १८०) ।
तुलसीदासले रामलाई भगवान्को नरावतार (मान्छेको स्वरूप) भनेका छन् । उनका अनुसार भगवान्ले रामावतार लिुनका पछाडि धेरै कारण छन् । तथापि सबैको अन्तर्य उनलाई शान्ति, सद्भाव, सुशासन कायम गराउने कार्यमा उभ्याउनु नै रहेको देखिन्छ (रामचरित मानस १ । १२२ । ४-८) । वेदले पनि उनलाई भगवान्को नरावतारकै रूपमा स्वीकार गरेको छ । यसअनुसार उनी तीनै लोकको हितका खातिर प्रकट भएका देखिन्छन् (ऋग्वेद १०।१।३) । त्यस्तै ऐं.ऐं १।१६४।१० को आशय पनि करिब यस्तै भेटिन्छ । व्यासजीका अनुसार भगवान् विष्णुका अनन्त अवतार छन्, जसले संसारलाई निरन्तरता दिएका मात्र छैनन्, तिनको हित सम्वहन आएका पनि छन् (अवतारा ह्यासंक्षेया हरे ः सत्वनिधेद्र्विजा भागवत् १।३।२६) ।
निसन्देह रामले ११ हजार वर्ष लामो आफ्नो जीवन यात्रामा जेजति गरे, समाजकै भलाइका लागि गरे । शान्तिकै लागि गरे र सुशासनकै लागि गरे ।
भागवत्का अनुसार कीटपतंगदेखि मानिससम्म सबै उनकै अवतार हुन् । गीतामा कृष्णले यस्तै आशय व्यक्त गरेका छन् । उनका अनुसार प्राणी समुदाय सबै भगवान्कै अंश हुन् । तीमध्ये मानिसमा एकदेखि पाँच अंशसम्म रहेका हुन्छन् भने त्यसमाथिका विशिष्ट अवतार मानिन्छन् । यिनमा राम १२ अंशका अवतारमा पर्छन् । (कल्याण अवतार कथांक पृष्ठ ४०६) साथै उनी भगवान्को मुख्य १० अवतारमध्येमा पनि पर्छन् (ऐं. ऐं. पृष्ट ४०४) ।
वेदले उनलाई एकैसाथ अजायमान पनि भनेको छ र बहुधा विजायमान पनि भनेको छ (प्रजापतिश्चरति गर्भे अन्तरजायमानो बहुधा वि जायते शुक्लयजुर्वेद ३१।१९) । उपनिषद् दर्शनको आशय पनि करिब यस्तै छ । यसअनुसार उनी कर्तुम, अकर्तुम अन्यथा कर्तुम सर्वसमर्थ मानिएका छन् । उनी हातगोडाबिना हिँड्न र समाउन पनि सक्छन् ।
आँखा र कानबिना देख्न र सुन्न पनि सक्छन् (अपाणि पादो जबनो ग्रहिता पश्यत्यचक्षु ः स श्रृणोत्यकर्ण ः श्वोताश्वतरोपनिषद् ३।१९) । तैपनि उनी लोकका लागि नानाभाँतीका मानवोचित व्यवहार गर्दै हिँडेका छन् । वेदान्त दर्शनका अनुसार यस्ता आप्तकाम पुरुषका व्यवहारलाई लीला भनिन्छ (लोकवत्तु लीलाकैवल्यम् ब्रह्मसूत्र २।१।३३) । उनी अरूलाई यसो गर्नुपर्छ, त्यसो गर्नु हुँदैन भन्दै हिँड्दैनन् । आफैं उदाहरण बनी गर्नुपर्ने काम गर्छन् र अरूले पनि त्यस्तै गरून् भन्ने चाहन्छन् । जहाँ दशरथजस्ता बाबु, कौशल्याजस्ती आमा, रामजस्ता छोरा, सीताजस्ती पत्नी, रामजस्ता पति, लक्ष्मणजस्ता भाइ, सुग्रीवजस्ता साथी र हनुमानजस्ता सेवक तथा रामजस्ता मालिक हुन्छन्, उसै÷उनैको जीवन सफल हुन्छ । रामकोे जीवन कहानीमार्फत पाइने सन्देश यिनै हुन् ।
उनी दया, माया, मैत्री र करुणाका खानी मानिएका छन् । उनले आफ्नो शरणमा आउने राक्षस तथा पशुपक्षी सबैलाई समान व्यवहार गरी स्नेह र सद्भाव प्रकट गरेका छन् । बाँदर त उनका सेना नै हुन् । आफ्ना पथमा आउने सबैको उद्धार गर्ने कुरा उनी आफैंले उद्घोष गरेका छन् (सकृदेव प्रपन्नाय तवास्मिति च याचते । अभयं सर्वभूतेभ्यो ददाम्येतद् व्रतं मम । वाल्मीकीय रामायण ६।१८।३३) । वेदमा उनका निर्गुण र सगुण स्वरूपको चर्चा छ (रामचरित मानस ७।१३ छं. १) । यस्तै कुराको चर्चा उपनिषद् दर्शनमा पनि आएको छ (छान्दज्ञोपनिषद् ८।७।१)। यसमध्ये निगुणस्वरूप योगीहरूको धारणाको आधार मानिएको छ । उनको नामको व्युत्पत्ति नै यतैतर्फ लक्षित छ (रमन्ते योगिनो यस्मिन् स रामः) । जहाँसम्म सगुण स्वरूपको कुरा छ, त्यसलाई भने चराचर जगत् सञ्चालक मानिएको छ, जसलाई रामायणले सम्यक रूपमा देखाएको वा बताएको छ ।
रामायण भनेको रामले हिँडेको बाटो देखाउने पद्धतिको नाम हो । यस्ता रामायण धेरैवटा छन् । यिनमा योगवाशिष्ट महारामायण, मूल रामायण, अध्यात्म रामायण, वाल्मीकीय रामायण, अद्भूत रामायण, आनन्द रामायण, काकभुसुण्डी रामायण, भविष्य रामायण, भानुभक्तीय रामायण र तुलसीकृत रामायण आदिको नाम प्रायः सुनिन्छ (प्रा.डा. ऋषिराम पोखरेल, महर्षिवाल्मीकि पत्रिका पृष्ठ १७) । उपरोेक्तमध्ये केही रामायण नेपालमै लेखिएको पाएको छ । यिनमा वाल्मीकीय रामायण, आनन्द रामायण, भानुभक्तीय रामायण आदि पर्छन् (प्रा.डा. वेणीमाधव ढकाल ऐ.ऐ. पृष्ठ ४) ।
रामका विमाता कैकेयीलाई प्रायः खलपात्रको रूपमा लिने गरिएको छ । उनकै कारण रामले १४ वर्ष वनवास जानुपरेकाले त्यसो भनिएको हो तर उनी खलपात्रचाहिँ होइनन् । यहाँ उल्टो परेको छ । उनकै कारण धर्मस्थापन अर्थात् शान्ति र सुशासन कायम गर्न आएका रामको उद्देश्य पूरा भएको मात्र छैन, स्वयं महाराज दशरथकै चाहना पूरा भएको छ । दशरथ र रावण तत्कालीन भूगोलका शक्तिशाली राजा हुन् । उनीहरूमध्ये एक समुद्रपारिको सहर लंकामा बस्थे भने अर्को वारिको सहर अयोध्यामा । उनीहरू वैज्ञानिक अनुसन्धानमा जोडतोडले प्रतिस्पर्धा गरिरहेका थिए । यसमा रावणले आफ्नै भाइ कुम्भकरणलाई प्रयोग गरेका थिए भने दशरथले महर्षि विश्वामित्रको सहयोग लिएका थिए ।
कुम्भकरण वर्षको ६ महिना अनकन्टार स्थानमा बसेर अनुसन्धान गर्थे तर बाहिर उनलाई ६ महिनासम्म सुत्ने व्यक्तिको रूपमा चिनाइएको थियो । उता महर्षि विश्वामित्र पनि यस्तै गोप्य स्थानमा बसेर अनुसन्धान गर्थे । यसलाई पनि गोपनीयताका कारण गोप्य वैदिक अनुष्ठानको संज्ञा दिइएको थियो । तैपनि रावणको चतुराइको कारण उनको गोपनीयता टिक्न सकिरहेको थिएन । त्यसैले रावणलाई सदाका लागि हटाउन उनीहरूले एउटा नाटक गरे । यसमा सूत्राधारको भूमिका विश्वामित्रले निर्वाह गरेका थिए भने कैकेयी र दशरथले नेपथ्यमा बसेर सघाएका थिए । रामजानकीको विवाह, सीताहरण तथा रावणबध आदि यावत् काम सोही योजना सम्पन्न भए तैपनि कसैले सुइँकोसम्म पनि पाएनन् । सायद राम र सीताले थाहा पाएका थिए तर उनीहरू पनि नपाएको अभिनय गरेका थिए (सुकर्म, प्रकाशक साङ्ग्रिला बुक्स पृष्ठ २८४) ।
वैदिक साहित्यले त्यतिबेलासम्म रिमोट कन्ट्रोलबाट चल्ने पुष्पक विमान, मनोगतिमा उड्ने र अवतरण गर्ने जहाज तथा हेलिकप्टर, वायेव्यास्त्र, पर्जन्यास्त्र, आग्नेयास्त्र, पाशुपतास्त्र, ब्रह्मास्त्र, नारायणास्त्रजस्ता गगनभेदी क्षेप्यास्त्र तथा हतियार निर्माण गरिसकेको थियो । यीमध्ये नारायणास्त्र त यति बढी विनाशक थियो कि जसलाई हालको आणविक हतियारको पनि बाजे मान्न सकिन्छ । यसलाई महाभारत युद्धको अन्त्यमा एकपटक अश्वत्थामाले प्रयोग गरेका थिए तर कृष्णको चलाखीका कारण त्यसले खासै केही गर्न सकेन ।
अहिले पनि यदाकदा कुनै सन्काहा शासकहरू आणविक हतियारको कुरा गर्छन् तर प्रयोग भने भएको छैन । आशा गरौं, त्यस्तो दिन कहिल्यै नआओस् । जे होस्, हाम्रो तत्कालीन समाज वैज्ञानिक यन्त्र र उपकरणले पूर्णत : सुसज्जित थियो तर तीमध्ये केही त रामायणकै युद्धमा सकिएका थिए भने बाँकी रहेका जति महाभारतको युद्धमा सखाप भए (डा. स्वामी प्रपन्नाचार्य, वेदमा के छ पुष्ठ १९७) ।
निसन्देह रामले ११ हजार वर्ष लामो आफ्नो जीवनयात्रामा जेजति गरे, समाजकै भलाइका लागि गरे । शान्तिकै लागि गरे र सुशासनकै लागि गरे । लंका विजयपछि सुनको लंका उनको हातमा आएको थियो । तैपनि स्वीकार गरेनन् । ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ भन्दै आफ्नै जन्मभूमि अयोध्या फर्किए राम । उनलाई सुनको लंकाभन्दा अयोध्याको झुपडबस्ती नै प्रिय लाग्यो । यसै पनि उनी राज्य गर्न लंका गएका थिएनन् ।
मानव धर्म र मानवीय मर्यादाको कायम गर्न गएका थिए । सो गरेर फर्के । यसैको कारण उनको अहिलेसम्म पनि स्मरण भइरहेको छ । यद्यपि, जाँदाजाँदै उनले केही अप्रिय आरोप पनि खेप्नुपरेको छ । तैपनि यो उनका लागि दुषण नभई भूषण नै मानिएको छ । उनको शासनकालमा बाँदर र भालुले समेत मानवजस्तो आचरण प्रस्तुत गरेका थिए । त्यसको दशांश मात्र व्यवहारमा उतार्न सक्ने हो भने पनि आजको समाज अर्कै हुनेछ । त्यसैले रामनवमी पर्व मनाइरहँदा हाम्रो ध्यान यतातिर पनि जानैपर्ने देखिन्छ । (अन्नपुर्ण पोस्ट)