काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा वरीयताक्रमलाई लिएर फेरि विवाद सुरु भएको छ। शुक्रबारदेखि सुरु केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा नेता गोपालमान श्रेष्ठलाई पदाधिकारीपछिको पहिलो नम्बरमा राख्ने प्रस्ताव राखिएपछि विवाद सुरु भएको हो।
पार्टीमा पटकपटक वरीयता विवाद उठेपछि समाधानका लागि केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की नेतृत्वमा गठि समितिले श्रेष्ठको नाम पदाधिकारीपछिको पहिलो नम्बरमा राख्न प्रस्ताव गरेको थियो । श्रेष्ठको मात्र वरीयता टुंगो लगाउँदै समितिले उक्त प्रस्ताव राखेपछि पूर्वमहामन्त्री प्रकाशमान सिंह तथा नेता बलबहादुर केसीले आपत्ति जनाए।
एउटा नेता विशेषलाई लक्षित गर्दै निर्णय गर्नु गलत भएको भन्दै सिंह र केसीले तीव्र असन्तुष्टि जनाएका हुन्। सिहंले वरीयताको आधार र मोडालिटी तयार नगरी बलमिच्याइँ नगर्न नेतृत्वलाई सचेत गराएका छन्। एउटा व्यक्तिको विषयमा मात्र लिइएको निर्णय आफूहरूलाई मान्य नहुने भन्दै सिंह र केसीले विरोध जनाएपछि बैठकको वातावरण असामान्य बन्न पुगेको जानकारी एक सदस्यले दिए।
पार्टी नेता रामचन्द्र पौडेलपछिको वरीयताक्रम दाबी गर्दै आएका श्रेष्ठले १३औं महाधिवेशनपछि केन्द्रीय समिति बैठकहरूमा उपस्थित भए पनि निर्णय पुस्तिकामा हस्ताक्षर गरेका छैनन्। पार्टीले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पनि वरीयताको विषयलाई लिएर उनले पटक पटक उनले असन्तुष्टि व्यक्त गर्दै आएका छन्।
नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकबीच एकता हुँदा उपसभापतिको हैसियतमा पौडेलपछिको वरीयतामा श्रेष्ठ थिए। उनले त्यसलाई नै आधार मान्दै पौडेलपछि आफ्नो नाम हुनुपर्ने अडान राख्दै आएका छन्। पार्टी एकता हुँदा श्रेष्ठपछिको उपसभापतिमा सिंह थिए। १२औं महाधिवेशनमा सिंह महामन्त्रीमा निर्वाचित भएका थिए। १२औं महाधिवेशनपछि केन्द्रीय सदस्यद्वय मीनेन्द्र रिजाल र प्रकाशशरण महतमध्ये कसको नाम पहिला भन्ने विवाद चलेको थियो । तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिकमा प्रकाशमान सिंह र विमलेन्द्र निधिबीच पनि वरीयता विवाद भएको थियो। दुई नेताबीच वरीयता विषयलाई लिएर असन्तुष्टि बढ्दै गएपछि तत्कालीन पार्टी सभापति शेरबहादुर देउवाले एउटालाई उपसभापति र अर्काेलाई महामन्त्रीको जिम्मेवारी दिएर विवाद समाधान गरेका थिए। दुईमध्ये एउटालाई उपसभापतिमा लैजाने प्रस्ताव देउवाले राखेपछि सिंहले उपसभापति रोजेका थिए।
केन्द्रदेखि गाउँ तहसम्म वरीयता विवादले पटकपटक समस्या ल्याएपछि कार्की नेतृत्वमा एक वर्ष पहिला आनन्दप्रसाद ढुंगाना र फरमुल्ला मन्सुर सदस्य रहेको समिति गठन गरिएको थियो।
पुरानै ढर्राबाट अब पार्टी चल्दैन
कांग्रेसका केन्द्रीय सदस्यहरुले पुरानै ढर्राबाट अब पार्टी अघि बढ्न नसक्ने बताएका छन्। विधि, विधानअनुसार सञ्चालन गर्न नसके संगठन अझै कमजोर हुने तर्क गर्दै सदस्यहरुले कार्यशैलीमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका हुन्।
केन्द्रीय समितिको शनिबारको बैठकमा बोल्ने सदस्यहरुले पार्टीभित्र गुटबन्दी मौलाउँदै गएकाले त्यसको अन्त्य जरुरी रहेकोमा पनि जोड दिए। निर्वाचन पार्टीले हार्नुको दोष एकले अर्कालाई लगाएर समाधानमा पुग्न नसकिने तर्क गर्दै सदस्यहरुले हैसियतअनुसार जिम्मेवारी तोकिनुपर्ने पनि बताए। केन्द्रीय सदस्य नरहरि आचार्यले पार्टीलाई नयाँ ढंगबाट अघि बढाउनुपर्नेमा जोड दिए। ‘कांग्रेस कमजोर अवस्थामा आइपुग्नुको जिम्मेवारी सबैले लिनुपर्छ। पार्टीलाई सुधार्न हामी प्रत्येक सदस्य जिम्मेवार र भविष्यमुखी बन्नुपर्छ,’ १३औं महाधिवेशनपछि पहिलोपटक केन्द्रीय समिति बैठकमा उपस्थित आचार्यले भने, ‘यतिखेर वस्तुपरक र कठोर समीक्षा समीक्षा जरुरी छ। आरोप–प्रत्यारोपले मात्रै कांग्रेस र मुलुकका चुनौती सामना गर्न सकिन्न।’
केन्द्रीय समिति बैठकमा लिखित धारणा राख्दै आचार्यले प्रतिकूल परिस्थिति सामना गर्न सक्ने संरचना बनाउन नसकेको पार्टीले वाम गठबन्धनको रणनीति चिर्न पनि नसकेको बताए। ‘निर्वाचनमा हामीले लोकतान्त्रिक गठबन्धन भने पनि कांग्रेस एक्लै भयो,’ उनले भने, ‘त्यसैले कांग्रेस दोस्रो पार्टी हुनु स्वाभाविकै थियो।’
कांग्रेसलाई अब नयाँ ढंगबाट अघि बढाउनुपर्ने उल्लखे गर्दै आचार्यले चुनावको सन्दर्भमा मात्रै नभएर दीर्घकालीन कार्ययोजना बनाएर अघि बढ्नुपर्ने बताए । ‘कांग्रेसले आफूलाई जिम्मेवार प्रतिपक्षको रुपमा उभ्याउनुपर्छ,’ उनको लिखित मन्तव्यमा उल्लेख छ, ‘सत्तापक्षका गल्ती कमजोरी केलाउनुका साथै आफैंले विकास र समृद्धिका सकारात्मक अजेन्डा अघि ल्याउनुपर्छ।’
अर्का केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पार्टीको मुलभूत मान्यता जोगाउन नसक्दा प्रतिनिधि र प्रदेशसभा निर्वाचन परिणाम पक्षमा नआएको बताए। गल्ती स्वीकार्न सकेमात्र पार्टी संगठन आगामी दिनमा बलियो हुने उनको भनाइ थियो।
इतिहासको प्रत्येक मोडमा कांग्रेसले जनताको हित र राष्ट्रलाई सर्वोपरी राख्दै बलिदानी गरेको स्मरण गर्दै उनले भने, ‘उच्च नैतिकता, न्यायपूर्ण समाज, राष्ट्रियता वा राष्ट्रवाद पार्टीको मूल सिद्धान्त भए पनि हामीले यसबारे जनतालाई बुझाउन सकेनौं।’
पार्टी र जनताबीचको सम्बन्ध टाढा हुँदै गएको बताउँदै जोशीले त्यसलाई सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । ‘कांग्रेस र जनताबीचको सम्बन्ध मात्र होइन पार्टीका शीर्ष नेताहरुबीचको सम्बन्धमा पनि ठूलो खाडल देखियो,’ उनले भने, ‘पार्टी अप्ठेरो परेका बेला पनि नेताहरू एकठाउँमा बस्नुको साटो कोटरी जन्माउनतिर लाग्दा त्यसले हामी सबैलाई कमजोर बनायो।’
पार्टीलाई विधि र विधानअनुसार चलाउनुपर्नेमा जोड दिँदै उनले विधानविपरीत गठन भएका निकायलाई तत्काल विघटन गर्नुपर्ने दोहो-याए।
केन्द्रीय सदस्य जीवनबहादुर शाहीले निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी सामूहिकरुपमा लिनुपर्ने तर्क गरे । एकले अर्कालाई आरोप लगाएर समस्या समाधान नहुने तर्क गर्दै उनले हैसियत अनुसार जिम्मेवारी लिएर पार्टीलाई अघि बढाउनुपर्ने बताए। ‘ठूलाले ठूलै र सानाले सानै जिम्मेवारी लिनुपर्छ,’ शाहीले भने, ‘नराम्रो हुँदा सभापतिले जिम्मेवारी लिनुपर्ने र राम्रो हुँदाको जस सबैले लिने भन्ने हुँदैन। सबैले गल्ती स्वीकार गरांै र जिम्मेवारी पनि लिऔं,’ उनले भने।
कार्यसम्पादन र संसदीय समितिमा बसेर टिकट वितरणमा सहभागी नेताहरूलाई लक्षित गर्दै शाहीले त्यतिबेला किन विधानको कुरा नउठाएको त भन्ने प्रश्न गरे। पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलासहितका नेताले कार्यसम्पादन र संसदीय समिति विधानविपरीत गठन गरिएका भन्दै विघटनको माग गरेका छन्।
अहिले नेतृत्व परिर्वतन गरेर अर्काे आउँदैमा कुनै ‘मिराकल’ नहुने तर्क गर्दै शाहीले पार्टीलाई बलियो बनाउन केन्द्रदेखि गाउँसम्म बनाइएका गुट र समूह भंग गर्नुपर्ने आवश्यकता औंल्याए।
केन्द्रीय सदस्य गुरुराज घिमिरेले पार्टीभित्रको अव्यवस्थाका कारण निर्वाचनमा कांग्रेसको हार भएको बताए। पार्टी संरचनाहरु निर्वाचनमा क्रियाशील हुन नसकेको बताउँदै उनले भने, ‘आन्तरिक व्यवस्थापन भएन। विधि र विधान पन्छाएर व्यक्ति र गुटगत आधारमा टिकट वितरण भयो। योग्यलाई होइन आफ्नालाई उम्मेदवार बनाउँदा निर्वाचनमा हार बेहोनुपरेको हो हो।’ उनले निर्वाचनमा भएको पराजयको जिम्मा पार्टी सभापति र महामन्त्रीले लिनुपर्ने तर्क गरेका थिए। बिपी कोइरालाको छोरा भएर मात्र नहुने भन्दै घिमिरेले महामन्त्रीको नियमित कार्यक्रम हुनुपर्ने धारणा राखे। ‘अब नेतृत्व सुध्रिन तयार हुनुपर्छ,’ घिमिरेले भने, ‘नयाँ पुस्तालाई आकर्षण गर्ने कार्यक्रम ल्याउनुपर्छ।’
पार्टीमा न्याय र अवसर दुवै हुन्छ भन्ने महसुस नेता तथा कार्यकर्ताले गर्नसकेमात्रै सकारात्मक परिणाम हात पार्न सकिने अर्का केन्द्रीय सदस्य कल्याण गुरुङले बताए। उनले प्रतिनिधि, प्रदेश, राष्ट्रियसभा निर्वाचनमा टिकट वितरणको आधार प्रस्तुत गर्न नेतृत्वलाई आग्रह गरे। उनले भने, ‘नेतृतवसँग नजिक नभएका र फरकमत राख्नेले कति पुस्तासम्म अवसर नपाउने हो भनिदिनु प¥यो?’
कांग्रेसलाई पहिलो पार्टी बनाउन महासमिति बैठकमार्फत नयाँ नीति र कार्यक्रम तय गर्नुपर्नेमा जोड दिँदै गुरुङले, ‘गुटका आधारमा होइन योग्यता, क्षमताका आधारमा अवसर वितरण भएमात्र पार्टी संगठन मजबुत हुनसक्छ। नेताको तजबिजीले पार्टी चल्दैन।’ नेतृत्व विधानविपरीत चल्दा कांग्रेस कमजोर बन्न पुगेको आरोप पनि उनले लगाए।
बैठकमा केन्द्रीय सदस्य हरि नेपाल र वीरबहादुर बलायरले पनि निर्वाचनमा भएको पराजयको दोष सभापतिको टाउकोमा मात्र थुपारेर अरु पानीमाथिको ओभानो बन्न खोज्ने प्रवृत्ति गलत भएको बताएका थिए । अर्को बैठक सोमबार बिहान ९ बजे बस्नेछ। (नागरिक न्युज)