भीमदत्तनगर, ११ चैत
तीस वर्षीय नरेश दमाईं शनिबार दमाहा बजाउँदै गर्दा बुबा ७३ वर्षीय करवीरराम दमाईंसँग भीमदत्त नगरपालिकाको निङ्गलाशैनी मन्दिर परिसरमा भेटिनुभयो ।
चैत्र शुक्ल अष्टमी शनिबार कञ्चनुरको भीमदत्तनगरपालिका–१८ स्थित निङ्गलाशैनी भगवती मन्दिरमा भक्तजन पूजाअर्चना गर्दै बलिका लागि तयारी गरिरहँदा बेदकोट नगरपालिका–७ गाउँजी नरेश दमाईंका बुबा–छोरा भने दमाहा बजाउन व्यस्त थिए ।
युवापुस्तामाझ लोप हुँदै गइरहेको दमाहा बजाउने परम्परा भने दमाईं परिवारले चार पुस्तादेखि निरन्तरता दिँदै आइरहेको बताएका छन । “बाजे नरुवा दमाईं पनि पहाड घर बैतडीको निङ्गलाशैनीमा पर्वका बेला दमाहा बजाउनु हुन्थ्यो,” करवीरराम दमाईंले भन्नुभयो, “अहिले बसाइँ सरेसँगै छोरो नरेश पनि एक दशकदेखि दमाहा बजाउन सक्रिय छ ।” उहाँले बुबा बलिराम दमाईंले पनि लामो समय दमाहा बजाएको बताउनुभयो । “मैले पनि दमाहा बजाउन थालेको ६ दशक भइसक्यो”, उहाँले भन्नुभयो, “दमाहा बजाउँदाको रौनक यहाँभन्दा पनि पहाडमा देखिन्छ ।”
प्रदेश नं ७ मा खासगरी पहाडी जिल्लामा दमाहा बाजाको छुट्टै मौलिक एवं धार्मिक महत्व रहेको करवीरराम दमाईंले बताउनुभयो । “पुर्खाले बजाउँदै आएको परम्परागत रीतिलाई निरन्तरता दिन देवालयमा पर्वका बेला मात्रै दमाहा बजाउन आउँछौँ”, उहाँले भन्नुभयो, “देउताप्रतिको आस्थाले बाजा बजाउन छाडेका छैनौँ ।”
यहाँको बैतडी, दार्चुला, बझाङ, बाजुरा लगायतका पहाडी जिल्लामा लोकप्रिय बाजा दमाहा संकटमा रहेको उहाँको भनाइ छ । “मैले पहाड बैतडीमै बाजेबाट दमाहा बजाउन सिकेको थिएँ”, दमाईंले भन्नुभयो, “दमाहा बजाउन पर्वका बेला बोलाउनेले परिश्रम अनुसारको रकम दिन्छन् ।” सुदूरपश्चिमको कला संस्कृतिसँग जोडिएको दमाहा बाजा संरक्षण अहिलेको आवश्यकता रहेको उहाँको बुझाइ छ । देवीदेवाताको पूजापाठ गर्दा होस् अथवा विवाह, व्रतबन्ध जस्ता शुभकार्य गर्दा दमाहा बाजा प्रचलन रहिआएको भए पनि पछिल्ला वर्षमा देवालयमा मात्रै यसको प्रयोग भएको देखिन्छ ।
अरू बेला सिलाइकटाईको काम गर्ने दमाईंका बुबा–छोरासँगै उहाँका इष्टमित्र र आफन्तसमेत पूजाका बेला दमाहा बजाउन सामेल हुने गरेका छन् । “बुबा र म लामो समयदेखि सिलाइकटाईको काम गरेर परिवारको खर्च चलाएका छौँ”, नरेशले रासससित भन्नुभयो, “दमाहा बजाउन मन्दिर पस्दा आत्मसन्तुष्टि मिल्ने गर्छ ।”
बालिघरे प्रथाका रुपमा दमाईं जातिका मानिसले दमाहा बजाएबापत अनाज लिने परम्परा रहेको थियो ।
यहाँ जिल्लापिच्छे दमाहा बजाउने हातको तालमा भने फरक–फरक हुने गरेको उहाँले बताउनुभयो । “समूहमा बजाउने दमाहामा पाँचदेखि १० जनासम्म पनि हुन्छन्,” उहाँले भन्नुभयो, “दमाहा बजाउन मौलिकताको सुगन्ध फैलिन्छ ।” कला संस्कृतिको संरक्षण गर्ने निकायले दमाहाको संरक्षणका लागि जोड दिनुपर्ने बताउनुभयो । “यसलाई कसरी संरक्षण गर्ने भन्नेमा चिन्ता व्यक्त गर्नुपर्ने बेला आएको छ”, उहाँले भन्नुभयो, “बेवास्ता भइरहे कुनै दिन दमाहा बजाउने खोज्दा पनि नभेटिन सक्छन् ।” दमाहा बजाउँदा जातीय विभेद नरहे पनि युवापुस्ता बजाउनतर्फ आकर्षित हुन नसकेको उहाँको भनाइ थियो ।