युएईमा कविता कन्सर्ट



छोेटो समयमा चर्चामा आएका कवि नवराज पराजुली युएईमा प्रस्तुत भएका छन् । कविता कन्सर्ट कार्यक्रममा उनी दुबईको पानारोमा ग्रान्ड होटेलको सभाहलमा प्रस्तुत भएका हुन् ।

वैदेशिक रोजगारीका लागि खाडीमा रहेका नेपालीको वास्तविकतालाई समेटेर लेखिएको कविता ‘सगरमाथाको गहिराइ’का स्रष्टा पराजुलीको यो खाडी मुलुककै पहिलो कविता कन्सर्ट हो । परालुलीले ‘सगरमाथाको गहिराई’, ‘च्याउ’, ‘खोया’, ‘रूख’ र ‘हेप्पी बर्थ डे’ गरी पाँचवटा कविता वाचन गरेका थिए ।

खाडीमा आएर कविता वाचन गर्न पाउँदा चार वर्षअघि सगरमाथाको गहिराई कविता रचना गर्ने वेला आफूले देखेको ठूलो सपना पूरा भएको उनले बताए । कविता सुन्दै गर्दा श्रोताहरू भावुक भएका थिए ।

कार्यक्रममा साहित्यकार मञ्जु काँचुलीले ‘बिदेसिएका सन्तानलाई हेर्दै’ कविता वाचन गरेकी थिइन् । आयोजकका तर्फबाट साहित्यकार मञ्जु काँचुली र कवि नवराज पराजुलीलाई सम्मानपत्र र दोसल्ला ओढाइएको थियो ।

साहित्यकार काँचुलीद्वारा लिखित नाटक चन्द्रमामा हनिमुनको लोकार्पण पनि गरिएको थियो । नाटक नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष भूपराज बस्याल, इनास युएईकी अध्यक्ष रेखा घिमिरेलगायतले लोकार्पण गरेका थिए ।

स्रष्टा भेटघाट तथा सिर्जजा वाचन डबली, गैरआवासीय नेपाली संघ युएई, अन्तर्राष्ट्रिय कलाकार समाज युएई, विवेकशील साझा सद्भाव समूह युएई, ट्राभहिल डट कम, काठमाडौं सप र इनास भाषा तथा साहित्य प्रवद्र्धन ग्लोबल समितिको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्