कर्मचारी गाउँ जान नमान्दा सर्वसाधारण मर्कामा



दुई महिनामा एकपटक वडा कार्यालय पुगेर कर्मचारीले तलब थाप्छन्

स्थानीय निर्वाचन सम्पन्न भएको १० महिना बितिसक्दा पनि सरकारी प्रतिनिधि दुर्गम क्षेत्रका गाउँपालिकामा नपुग्दा सर्वसाधारण मर्कामा परेका छन् । स्थानीय सरकारका वडावासीले दिनहुँ वडा कार्यालय धाए पनि वडा सचिव नभेटेको गुनासो गर्न थालेका छन् । संविधानले स्थानीय तहमै वडाबाट सेवा दिने भने पनि सचिव गाउँमा नगएकाले स्थानीयलाई समस्या भएको हो ।

दुई महिनामा एकपटक कार्यालय हाजिरी गर्ने
स्थानीय तह सुरु भएको तीन–चार महिनासम्म गाउँपालिकाको वडा कार्यालयमा वडा सचिव बसे पनि अहिले नगएको वडावासीको गुनासोे छ । ‘वडा सचिव गाउँमा दुई महिनामा एकपटक आउनुहुन्छ । एकैपटक हाजिर गरेर सदरमुकाम फर्किनुहुन्छ । गाउँमा बस्नै मान्दैनन्,’ महाभारत गाउँपालिकाका एक कर्मचारीले भने, ‘गाउँमा कर्मचारी नबस्दा समस्या भइरहेको छ ।’

महाभारत गाउँपालिकाको एकै सचिवले दुई वडाको काम हेर्दै आएका छन् । ४ र ५ वडा रामचन्द्र ढकाल, वडा नम्बर २ र ३ मा भरत बस्नेत र ६ र ७ वडा सचिव शम्भु सापकोटा, १ र ८ वडा रेवती रमण निरौलाले हेर्दै आएका छन् ।

वडा नम्बर ५ का वडाध्यक्ष रबिन मोक्तानले वडा सचिव गाउँमा नबसेकाले समस्या भएको बताए । उनले भने, ‘पहिलाजस्तै सदरमुकाममै बसेर सेवा दिइरहनुभएको छ । वडावासी कार्यालयमा आउँछन्, सचिव भेट्दैनन् फर्किन्छन्, संघीयतामा सिंहदरबारको अधिकार गाउँमा भनेको त नारामै सीमित भइरहेको छ, कर्मचारीले टेर्दैनन् ।’

वडा ५ का वडा सचिव रामचन्द्र ढकालले एउटै सचिवले दुई वडा कार्यालय हेर्नुपरेकाले समस्या भएको बताए । उनले भने, ‘भर्खर भर्खर वडा कार्यालय सञ्चालनमा आएको छ, एउटा सचिवले दुई वडामा कसरी भ्याउन सकिन्छ ? भर्खर–भखर्र जान थालेको हो ।’ जिल्ला समन्वय समिति काभ्रेका स्थानीय विकास अधिकारी कोमलप्रसाद धमलाले स्थानीय तहमा वडाध्यक्षको महत्वपूर्ण भूमिका रहने बताए । ‘दैनिक हाजिर प्रमाणित गर्ने निकाय भनेको वडाध्यक्ष हो, हामीले सबै स्थानीय तहका प्रमुख अध्यक्षलाई भनेका छौँ । हाजिरको आधारमा तलब दिने र कार्यालय नआएका वेलामा हाजिर प्रमाणित नगर्ने भनेर उनले भने, ‘सबैभन्दा उत्तम जनप्रतिनिधिले कर्मचारीको हाजिरीमा प्रमाणीकरण नगर्ने र तलब रोक्का गर्ने हो । त्यही निर्देशन दिएको छु ।’

महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले वडा सचिवले काम नगरेका कारण सेवा प्रभावित भएको बताए । ‘अधिकांश वडा सचिवले काम गरिरहेका छैनन्,’ उनले भने, ‘गाउँमा नगएका सचिवको तलब मैले स्विकृति गरेको थिइनँ । तर, जनताको काममा फेरि गाउँ जान्छु भनेपछि बाध्य भएर रोकेको तलब फुकुवा गरेको छु ।’

निर्वाचनअघि वडाध्यक्षको समेत जिम्मेवारी लिएर काम गर्दै आएका सचिव अहिले गाउँ नगई सहरमै बस्न खोजेपछि तलब रोक्का गर्नुपरेको उनी बताउँछन् । वडा सचिवले काम नगरेको महिनौँ बितिसके पनि वडाबाट गर्नुपर्ने आवश्यक सिफारिसका काम नभएको गाउँपालिका कार्यालयले जनाएको छ । जिल्लाका अधिकांश वडा सचिवले गाउँमा गएर काम नगर्दा समस्या भइरहेको वडाध्यक्ष बताउँछन् । (नया पत्रिका)

प्रतिक्रिया दिनुहोस्