फरक शैलीमा बाँचिरहेका बब मार्ली



हरकोही कसै न कसैको फ्यान या अनुयायी हुन्छ । कोही खुलेर हुन्छ त कोही सुसुप्त रूपमा । हुन त मान्छे यस्तो प्राणी हो, जसलाई ईश्वर बन्न मन लाग्छ । उनीहरूको मनोविज्ञान त्यसैवरिपरि घुमिरहेको हुन्छ ।

सबैभन्दा ठूलो कुरा त मान्छे आफ्नो परिचयको लागि दौडिन्छ र दौडिँदादौडिँदै जीवनको रेस रोकिन्छ । यो कहिल्यै नसिद्धिने लडाइँ हो । र, मान्छेको ईश्वर बन्ने चाहना पनि परिचयको लागि हो । अस्तित्वको लागि हो । सत्य के हो भने मान्छे हरेक सानातिना कुराबाट प्रभावित भइरहन्छ ।

मरेपछि पनि उत्तिकै चर्चामा रहिरहने गायक बब मार्लीको प्रसंग हो, यो । जसको मृत्यु पनि रहस्यात्मक नै छ, आजसम्म पनि । उनको झ्याप्प परेको कुनै बाँसको झ्याङजस्तो या भनौँ कुनै सिंहले सिकार गर्ने डरलाग्दो झाडीजस्तो कपाल । धुवाँको मुस्लो फालिरहेको स्टिकर । फोटो हेरेर लाग्छ, उनी कुनै पुरानो रेल या ट्रक हुन् । कुनै हेराइले उनी कतै नपाइने दुर्लभ एलियनजस्ता पनि लाग्छन् ।

घरबार छाडेर हिँडेको सन्यासीजस्ता पनि देखिन्छन्, उनी । जसलाई मायावी संसारको कुनै मतलब नै छैन । यस्तो पनि लाग्छ, कुनै धुवाँ निस्किरहेको गाउँको पुरानो घरजस्तो पनि छ, उनको स्टिकर, जसको छानो डढ्न बाँकी छ । जस्तै मूल्यांकन गरिए पनि उनलाई नचिन्ने संगीतप्रेमी सायदै होलान्, दुनियाँमा ।

प्रायजसो काठमाडौंमा चल्ने सार्वजनिक यातायातमा उनको फोटो अंकित स्टिकर निकै भेटिन्छन् । गाडीमा जताततै टाँसिएका हुन्छन् । बब मार्लीले चुरोटको धुवाँ उडाइरहेको स्टिकर अनेक कारणले र फरक सोचले गाडीहरूमा टाँसिएका हुन् । कोहीले लहैलहैमा लागेर टाँसेका छन्, कोहीले बुझेर नै ।

मान्छेको एउटै कुरालाई हेर्ने र बुझ्ने दृष्टिकोण फरक–फरक हुन्छ । तर, के कारणले गाडीमा सजिने गर्छ त बब मार्लीको तस्बिर (स्टिकर) ? जिज्ञासाको विषय हो । कुन मनोविज्ञानले प्रेरित गराउँछ उनीहरूलाई बब मार्लीको स्टिकर टाँस्न ? बब मार्लीप्रतिको बुझाइ कस्तो छ त आममान्छेको ?

०००

क्याप लगाएका । उमेरले त्यस्तै २३–२४ टेकेका आयुष गिरी बा२ख २७१२ नम्बरको बस काठमाडौंको रत्नपार्कदेखि सिन्धुपाल्चोकको चौतारासम्मका लागि चलाउँछन् । उनलाई बब मार्लीबारे त्यति थाहा छैन । तर, बब मार्लीले उडाएको चुरोटको धुवाँ आकर्षक लाग्छ, गिरीलाई । उनले बब मार्लीको गीत पनि सुनेका छैनन् । भन्छन्, ‘आफू त शिवजीको भक्त परियो । त्यही भएर टाँसेको फोटो ।’

हरेक कुरालाई बुझ्ने तरिका मान्छेको आ–आफ्नै हुन्छ । सबैभन्दा ठूलो कुरा त विश्वस्त हुनुमा रहेछ । आफू कुनै पनि कुराबाट जसरी विश्वस्त भइन्छ, त्यसरी नै हरेक कुरालाई बुझिँदो रहेछ । गिरीजस्तै बसपार्कदेखि मच्छेगाउँ कीर्तिपुरसम्म चल्ने बा४ख ५३५०का बसचालक कवीन्द्र लामा आफूलाई बब मार्लीबारे केही थाहा नभएको, तर सजाउनका लागि स्टिकर टाँसेको बताउँछन् ।

बब मार्लीको फोटो आकर्षक भएका कारण गाडीमा राखेको उनी भन्छन् । बसपार्कदेखि थानकोटसम्म माइक्रो बस चलाउने गोर्खाका विकास प्रजा भन्छन्, ‘राम्रो लाग्छ । बब मार्लीबारे थाहा त छैन तै पनि मनपर्छ । उसले उडाएको धुवाँ ‘सही’ लाग्छ ।’

कतै ऐनामा राखिएको छ । कतै ढोकामा त कतै गाडीको अगाडिपट्टि । लाग्छ, उनीहरू बब मार्लीका ठूला फ्यान हुन् । बब मार्लीका हरेक गीत सुन्छन् । कण्ठै पारेका छन् ! बब मार्लीबारे हरकुराहरू थाहा छ, उनीहरूलाई । तर वास्तविकता कहिलेकाहीँ मान्छेकोे सोचाइभन्दा ठीक विपरीत हुने गर्छ । हाम्रा हरेक क्रियाकलाप हाम्रो बुझाइले निर्धारण गर्ने गर्छ । सबैको बुझाइको सीमिततालाई स्विकार्नुपर्छ, मान्छेले ।

कोहीकोही भने बब मार्लीको साँच्चिकै फ्यान भएकाले राख्ने गर्दा रहेछन् । बा२ख १५७४ नम्बर बसका चालक सुशान्त घर्ती भन्छन्, ‘म उनको फ्यान हुँ । त्यही भएर बब मार्लीको तस्बिर राखेको हँ । म प्रायः उनका गीतहरू सुनिरहन्छु । गीतमा छुट्टै किसिमको मजा छ ।’

मान्छेले आफूवरिपरि भएका सबै कुरालाई प्रयोगमा ल्याउन सक्छन् र ल्याउँछन् पनि । त्यो मान्छेको सिर्जनशीलतामा भर पर्छ । बब मार्लीको स्टिकरहरू पनि कोहीकोहीले सवारी स्क्र्याच भएको ठाउँमा टाल्नका लागि प्रयोग गर्दा रहेछन् ।

बसपार्कदेखि सुन्दरीजलसम्म चल्ने बा३ख ६२२९का चालक कुमार विष्ट भन्छन्, ‘अरूले केका लागि प्रयोग गर्छन् त्यो त थाहा भएन । तर, म भने स्क्र्याच भएको ठाउँमा टाल्नका लागि प्रयोग गर्छु ।’ अनि अरू स्टिकर टाल्दामा पनि त हुन्थ्यो नि ? भन्ने जिज्ञासामा भन्छन्, ‘सबैले यही टाँस्छन् । हेर्दामा राम्रो पनि देखिन्छ ।’

बसपार्क देखि बाह्रबिसेका लागि गाडी चलाउने आले लामा भन्छन्, ‘बाउहरूले पनि बब मार्लीको गीत सुने । छोराहरूले पनि त्यही गरेको हो । सिंगर हो । म ठूलो फ्यान हुँ । उनको भाषा कतिपय नबुझिएला, गीतको शैली र स्टाइल मन पर्छ ।’

०००

सन् १९४५ मा जन्मिएका बब मार्ली (रोबर्ट नेस्टा मार्ली)ले विशेषतः गीतको माध्यमबाट सांस्कृतिक उत्थानको कुरा गरे । गीतको माध्यमबाटै विद्रोहको आवाज उठाए । गीतका माध्यमबाट सम्राज्यवादको विरोध गरे । जमैकाका यी गायकको मृत्युलाई अहिलेसम्म पनि रहस्यका रूपमा लिने गर्छन्, कतिपय । हामी मान्छेहरू त भ्रममा बाँच्छौँ । र, भ्रममै मर्छौं । हामी हल्लाको पछि दौडिन्छौँ । तर, जता जसरी दौडिए पनि आफ्नै किसिमको सौन्दर्य छ । त्यो नै सबैभन्दा सुन्दर पक्ष हो ।

अधिकांश गाडीका चालक र सहचालकले बब मार्लीबारे नबुझेरै पनि प्रेमले स्टिकर टाँस्दा रहेछन् । उनीहरूले अनेक सोचले टाँस्ने गर्छन् । मान्छेको प्रभावित हुने तरिका आ–आफ्नै किसिमको हुन्छ । कोही स्वरबाट प्रभावित हुन्छन् भने कोही तस्बिरबाट अनि कोही अनेक हाउभाउबाट । यो मान्छेको चाहनाअनुसार फरक हुने कुरा हो ।

पुरानो बसपार्कदेखि धुलिखेलसम्म गाडी चलाउने बा३ख ६२७७ बसका चालक सञ्जय धोँजु भन्छन्, ‘उसको गीत मनपर्छ । कलाकार हुन् । गाँजा खान्छन् । गाँजा खानु ठीक होइन होला, तर स्टाइल गजब छ ।’ त्यस्तै पुरानो बसपार्कदेखि कीर्तिपुरसम्म गाडी चलाउने बा२ख २६९का चालक विजय बस्नेत भन्छन्, ‘बब मार्लीको फ्यान भएका कारणले स्टिकर टाँसेको हुँ । उसको गेटअप औधी मन पर्छ ।’

०००

हरेक समुदायको आफ्नो संस्कृति हुन्छ । संस्कृतिको पहिलो खुड्किलो टेकेर मान्छे सामाजिकीकरणमा सामेल हुन्छ । मान्छेसँग संस्कृति भएन भने ऊ निर्जीव हुन्छ । कुनै पनि समुदायलाई जोगाउने र पृथक बनाउने भनेको उसको संस्कृतिले नै हो । संस्कृतिविना त मान्छे सामाजिक प्राणी हुनै सक्दैन । परिचय नै रहँदैन ।

मान्छेले आफ्नो संस्कृतिलई अनेक माध्यमबाट जोगाउने गर्छन् । अनेक तरिकाबाट जीवित राख्ने गर्छन् । अहिले सबैभन्दा बढी चपेटामा परेको भनेको संस्कृति नै हो । जब संस्कृतिले सास फेर्न छाड्छ, तब एउटा सिंगै सभ्यता डुबानमा पर्छ । यो हामीले देखिरहेको र भोगिरहेको कुरा हो । बब मार्लीले पनि विशेष गरेर यही कुराको उठान गरे ।

०००

उनको तस्बिर बढी किन बिक्छ त ? यो सायद खोजीको विषय हुन सक्ला । तर, उनको कपाल र उनले मुखबाट उडाएको ‘धुवाँ’ विशेष आकर्षक छ । त्यसैले विशेषगरी चालकहरू उनको स्टिकरलाई ज्यादा रुचाउँछन् । विशेषगरी सार्वजनिक यातायातमा भेटिन्छन्, उनका स्टिकरहरू । चालक या सहचालकलाई लाग्न सक्छ कि बब मार्लीको स्टिकर आफ्नै पुरानो साथी हो, जो बचपनमा छुटिगएका थिए ।

या सँगै चुरोट तान्ने मित्र हुन्, जसको समय क्रममा जिन्दगीको गाडीको दिशा फेरियो । फेरि यो पनि लाग्न सक्छ कि बब मार्ली दुःख–सुख साट्ने साथी हुन्, जो मन दुखेको ठाउँहरूमा मलम बनेर आइदिन्छन् । र, त कसै–कसैले स्क्र्याच भएको ठाउँमा उनको स्टिकर टाँस्ने गर्छन् ।

यो पनि हुन सक्छ कि बब मार्ली भनेको पुर्खाबाट पाएको सबैभन्दा ठूलो उपहार हो, जो सधैँ साथ रहनुपर्छ । र, त भन्छन्, ‘बाउले पनि यसै गर्थे, त्यही भएर टाँसेको ।’ कहिलेकाहीँ त लाग्छ, बब मार्ली भनेको एउटा यस्तो मान्छे हो, जो यतैकतै हराएको छ । जसलाई सञ्चारमाध्यमहरूले समाचार बनाउन बिर्सिए । त्यहीकारण उनको फोटो/स्टिकरहरू जताततै टाँसिएका छन्, गाडीहरूमा भेटिन्छन् कि भन्ने आशामा । जो यो दुनियाँबाट नै हराइसकेका छन्, कहिल्यै नभेटिनेगरी । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्