कृषि तथा औद्यौगिक मेला चैत १५ देखि



विराटनगर, ११ चैत

‘बूढीगंगाको पहिचान हाम्रा अभियान’ नाराका साथ स्थानीय कृषि तथा औद्योगिक उत्पादनलाई प्रचार प्रसार गरी उपभोक्तालाई आकर्षण गर्ने उद्देश्यका साथ मोरङको बूढीगंगा गाउँपालिकामा कृषि तथा औद्योगिक मेला आयोजना गरिने भएको छ ।

मेला आयोजक समाज विकास केन्द्र  नेपालद्वारा शनिबार यहाँ पत्रकार सम्मेलनमा यही चैत १५ देखि २५ गतेसम्म बूढीगंगा–३ गकुवा चौकमा आयोजना गरिने मेलामा ४९ वटा स्टल रहने जानकारी गराइयो । मेलामा मोरङ सुनसरी औद्योगिक क्षेत्रका उत्पादन, चाउचाउ, बिस्कुट, जुत्ता, चप्पल, कृषि यान्त्रीकरणका साथै झापा, इलाम, धनकुटा, भोजपुर लगायतका जिल्लाका घरेलु उत्पादन र कृषि उत्पादन बिक्री–वितरणका लागि राखिने केन्द्र अध्यक्ष नगेन्द्र मण्डल राजवंशीले बताउनुभयो । मेलामा स्थानीय थारू, राजवंशीको मौलिक खाद्य परिकारका भक्का बगिया राखिने भएको छ ।

नेपालका लोकप्रिय साथै स्थानीय कलाकारको दैनिक सांस्कृतिक प्रदर्शन गरिने कला संयोजक रमेश भट्टराईले जानकारी दिनुभयो । मेला सञ्चालन गर्न रु ३८ लाख खर्च लाग्नेछ भने  रु दुई करोड बराबरको विभिन्न सामग्री बिक्री–वितरण हुने अनुमान आयोजकले गरेको छ । यसअघि दुई पटक कृषि मेला आयोजना गरिएको मेलाका सल्लाहकार कुमार कोइरालाले बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस्