सिरियामा जारी गृहयुद्धले यसै साता सात वर्ष पूरा गरेको छ। संयुक्त राष्ट्रसंघको पछिल्लो तथ्यांकअनुसार हालसम्म चार लाखभन्दा बढीको ज्यान गएको छ, झन्डै ५५ लाख मानिसले देश छोडेका छन् भने ६१ लाख मानिस आन्तरिक रूपमा विस्थापित भएका छन्। विद्रोहीहरूको कब्जामा रहेको भनिएको पूर्वीगुटामा रसियाली सेनाको सहयोगमा राष्ट्रपति वसार अल असादसमर्थित सरकारी सेनाले केही सातायता गर्दै आएको आक्रमणले स्थिति झन् भयावह बनेको छ। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले त्यहाँको परिस्थितिलाई ‘पृथ्वीको नरक’ भनेका छन् भने युद्धपीडित बालबालिकाको कारुणिक र वीभत्स तस्बिरहरूले सिंगो विश्वको मन रोएको छ।
संकटको सुरुवात १७ डिसेम्बर २०१० मा उत्तर पश्चिमी अफ्रिकी राष्ट्र ट्युनिसियामा मोहम्मद वउजिजी नामका २६ वर्षीय एक युवकले सार्वजनिक स्थानमा आत्मदाह गरे। ठेलामा फलफूल बेचेर आठजनाको परिवार पाल्दै आएका वउजिजीको ठेला स्थानीय सरकारी अधिकारीको आदेशमा प्रहरीले जफत गर्यो। आफ्नो ठेला फिर्ता पाउन उनले अनुनय–विनय गरे, तर पाएनन्। जिउने आधार केही नदेखेपछि वउजिजीले आफैंलाई जलाएर आत्महत्या गरे।
वउजिजीको आत्महत्यापछि ट्युनिसियालगायत उत्तरअफ्रिकी राष्ट्रहरू, मध्यपूर्वी तथा सारा अरब राष्ट्रहरूमा वर्षौं सत्तामा रहेका शासकहरूविरुद्ध प्रदर्शनहरू भए। अरब स्प्रिङ अर्थात् अरब विद्रोह नाम दिइएको उक्त क्रान्ति सरकारविरोधी अभियानका रूपमा अल्जेरिया, बहराइन, कुबेत, यमन, इजिप्ट, जोर्डन, टर्की, कतार, साउदी अरेबिया, इरान, लिबियालगायतका विभिन्न देशमा फैलियो। यही क्रान्तिका कारण ट्युनिसियाका राष्ट्रपति जिन अल अविदान विन अली, इजिप्टका राष्ट्रपति होस्नी मोबारक, यमनका राष्ट्रपति अली अब्दुल्लाह सलेह सत्ताच्युत भए भने लिबियाका राष्ट्रपति मोअम्मर गद्दाफी मारिए। केही राष्ट्रहरूले विद्रोहीहरूसँग सम्झौता गरे र केहीले दमन गरेर आन्दोलनलाई मत्थर पारे तर सिरियामा लागेको विद्रोहको आगो भने हालसम्म निभ्न सकेको छैन।
७५ प्रतिशत सुन्नी मुस्लिम समुदायको बाहुल्य भएको सिरियामा १२ प्रतिशत सिया समुदाय छन्। सिया समुदायकै एकखेमा अलवाइत्स समुदायका वसार अल असादको हातमा सत्ताको बागडोर छ। सन् १९७० देखि उनका पिता हफिज अल असादले ३० वर्षसम्म शासन गरे र सन् २००० देखि वसार अल असादले सत्ता सम्हालेका हुन्। दसकौंसम्म एकै परिवारबाट सत्ता कब्जा गरिनु, अल्पसंख्यकद्वारा बहुसंख्यक शासित हुनु, बेरोजगार, भ्रष्टाचार बढ्दै जानु, वैदेशिक ऋणको भार बढेर अर्थतन्त्र कमजोर हुँदै जानुजस्ता यावत् कारणले जनतामा चरम असन्तुष्टि बढ्दै गएको थियो।
अरब विद्रोहको प्रभावले ट्युनिसियाका राष्ट्रपति जिन अल अविदान अली र इजिप्टका राष्ट्रपति होस्नी मोबारक सत्ताच्युत भएपछि सिरियालीहरूमा राष्ट्रपति वसारविरोधी भावना उत्कर्षमा पुगेको थियो। त्यसै क्रममा सिरियाको दक्षिण भागमा पर्ने दारा सहरका १४ वर्षीय बालक नायफ अवाजिदले आफ्नो स्कुलको भित्तामा ‘अब तिम्रो पालो डा. वसार अल असाद’ भन्ने लेखेर विरोध जनाए। ६ मार्च २०११ मा सरकारले उनीलगायत २२ जना किशोर विद्यार्थीलाई गिरफ्तार गरी हिरासतमा चरम यातना दियो। त्यसको विरोधमा जनता सडकमा उत्रे र देशव्यापी प्रदर्शन भयो। नायफ अवाजिदको भित्तेलेखन नै सिरियाली गृहयुद्धको उद्गम बन्न पुग्यो।
आन्तरिक शक्तिबीच स्वार्थको लडाइँ
सरकारविरुद्धको प्रदर्शन देशव्यापी भइरहँदा २०११ अप्रिलमा वसार सरकारले सेना प्रयोग गरी शान्तिपूर्ण प्रदर्शन दमन गर्यो। कति प्रदर्शनकारी मारिए त कतिलाई पक्राउ गरियो। सरकारी ज्यादतीको विरुद्धमा आन्दोलन चर्कंदै गयो र सरकारी सेनाबाट भागेका सैनिकहरूसहितको संलग्नतामा २०११, जुलाई मा फ्री सिरियन आर्मी नामक सशस्त्र विद्रोही समूह गठन भयो। विद्रोही र सरकारबीच युद्ध चलिरहँदा इस्लामिक अतिवादी समूहहरू पनि संगठित हुन थाले। आतंककारी समूह अलकायदाले जवात अल नुसरा (हाल जवात फतेह अल साम) नामक शाखा स्थापना गर्यो। चरमपन्थी धार्मिक संगठनहरूसँग मिलेर असादका विरुद्धमा लड्न विश्वका विभिन्न देशहरूबाट लडाकुहरू सिरियामा आए। इराकको मसुल, फलुजा र टिक्रिट सहरमा कब्जा जमाइसकेको इस्लामिक स्टेट अफ इराक एन्ड लेभान्त (आईसील हाल आईसीस) ले पनि सिरियाली द्वन्द्वमा सक्रियता देखायो र राक्का सहर कब्जा गर्यो। सिरिया र टर्कीको उत्तरी भागलाई जोडेर आफ्नो मेटिएको कुर्दिस्तान राज्यको पुनस्र्थापना गर्न उत्तरी भागमा बसोबास गर्ने कुर्दिसहरूको समूह सिरियन डेमोक्र्याटिक फोर्सले पनि सरकारको विरुद्धमा विद्रोह सुरु गर्यो।
सिरियाली गृहयुद्ध पाँचपक्षीय भिडन्त हो। वसारको सत्ता, फ्री सिरियन आर्मीले नेतृत्व गरेको मध्यमार्गी विद्रोही समूह सिरियाली राष्ट्रिय गठबन्धन, धार्मिक अतिवादी समूह जवात फतेह अल साम, कुर्दिसहरूको विद्रोही समूह रोजवा र आईसिस (यद्यपि आईसिसको प्रभाव हाल नगन्य छ)। वसार अल असाद जसरी पनि सत्ता जोगाउन चाहन्छन् भने उनका विरुद्धमा विद्रोह गरेका विद्रोहीको आआफ्नै उद्देश्यका लागि लडेका छन्। सिरियाली राष्ट्रिय गठबन्धन वसारलाई सत्ताच्युत गरेर आधिकारिक शक्ति बन्न चाहन्छ, जिहादी समूह जवात फतेह अल साम सिया समुदायको विरुद्धमा बलियो अतिवादी समूह बन्न चाहन्छ, आईसिस इस्लामिक स्टेट अर्थात् खालिफात स्थापना गर्न चाहन्छ भने कुर्दिस विद्रोही समूह कुर्दिसहरूको स्वायत्त राज्य स्थापना गर्न चाहन्छ।
वाह्य शक्ति र तिनका स्वार्थ
आन्तरिक रूपमा संघर्षरत विभिन्न समूहमध्ये अमेरिका र युरोपेली राष्ट्रहरू, साउदी अरेबिया, कतार, टर्की र जोर्डनले सिरियन राष्ट्रिय गठबन्धनलाई समर्थन गरेका छन्, इरान, रसिया र लेबनानी लडाकु समूह हिजबुल्लाहले वसार अल असाद र साउदी अरब र कतारले जिहादी समूह जवात फतेह अल सामलाई सहयोग गर्छन् (कतार र साउदी दुवै अमेरिकी गठबन्धनका राष्ट्र हुन् र अमेरिकाले जिहादी समूहलाई सहयोग नगर्न चेतावनी दिइसकेको छ)। कुर्दिस विद्रोही समूहलाई अमेरिकाले सहयोग गर्छ तर टर्कीले दमन गर्छ। आईसिस सबैका लागि समस्या हो र ऊ सरकारलगायत अन्य समूहको विरुद्ध पनि लड्छ।
सिरियामा विद्यमान संकट आन्तरिक र बाह्य स्वार्थहरूबीचको लडाइँ हो। यो सरकार र विद्रोहीबीचको गृहयुद्ध मात्र नभएर सिया र सुन्नी समुदायबीचको धार्मिक युद्ध तथा अमेरिका र रूसबीचको शीतयुद्ध पनि हो।
बाह्य शक्तिहरूको स्वार्थ ऊर्जा (ग्यास र तेल), भूराजनीति र भूरणनीतिसँग सम्बन्धित छ र यसको केन्द्रबिन्दुमा रसिया छ। युरोपियन राष्ट्रहरूले खपत गर्ने प्राकृतिक ग्यासको झन्डै ४० प्रतिशत रसियाले आपूर्ति गर्छ। रसियाको ग्याँस आपूर्तिले एकातिर युरोपियन राष्ट्रहरू रसियामा निर्भर हुँदै गएका छन् भने अर्कोतिर युरोपियन बजारमा ग्याँस बेचेर रसियाको अर्थतन्त्र सुदृढ हुँदै गएको छ। रसियासँगको निर्भरतालाई कम गर्न युरोपियन राष्ट्रहरू विकल्पका रूपमा अरब देशहरूसँग पाइपलाइनमार्फत ग्याँस आपूर्ति गर्न चाहन्छन्।
पर्सियन खाडीमा ठूलो प्राकृतिक ग्याँस भण्डार छ, जसको दक्षिणी भाग कतार र उत्तरी भाग इरानमा पर्छ। ग्याँस भण्डारको ठूलो हिस्सा कतार र केही हिस्सा इरानको स्वामित्वमा छ। युरोपियन बजारको ग्याँसको मागलाई आपूर्ति गर्न कतारले साउदी अरेबिया, सिरिया, टर्की हुँदै युरोप पुर्याउने पाइपलाइन निर्माणको प्रस्ताव गरेको छ। यो प्रस्तावलाई सबैले स्वीकृति दिए, तर रसियाली गठबन्धन राष्ट्र सिरियाले आफ्नो भूमिबाट लैजान नदिने भन्दै कतारको प्रस्तावलाई सन् २००९ मा अस्वीकृत गरिदियो। अर्कोतर्फ इरानले इराक, सिरिया र भूमध्य सागरको रुटबाट युरोप पुर्याउने पाइपलाइनको प्रस्ताव गरेको छ।
१० अर्ब डलरको उक्त परियोजनामा सिरियाली राष्ट्रपति वसार अल असादले सन् २०१२ मा हस्ताक्षर गरेर अनुमति दिएका छन्। यी दुई प्रतिस्पर्धी पाइपलाइन युरोप पुग्दा रसियाको ग्याँसको बजार खुम्चने भएकाले रसिया यी दुवै पाइपलाइन युरोपियन बजारमा नभित्रिऊन् भन्ने चाहन्छ। आयो नै भने पनि आफ्नो गठबन्धन राष्ट्र इरानको पाइपलाइन आओस् भन्ने चाहन्छ ताकि इरान र सिरियालाई आफ्नो प्रभाव क्षेत्र बनाइराख्न सकियोस्। क्षेत्रीय हिसाबले आफ्नो प्रमुख प्रतिद्वन्द्वी राष्ट्र इरानले युरोपियन बजारमा ग्याँस बेचेर अर्थतन्त्र सुधारोस् भन्ने साउदी अरेबिया चाहँदैन। अमेरिका जसरी पनि कतारको ग्याँस युरोपमा भित्रियोस् भन्ने चाहन्छ। यसो हुँदा रसियाको अर्थतन्त्रमा धक्का लाग्छ, ऊर्जामा युरोपियन राष्ट्रहरूको रसियामाथिको निर्भरता हट्छ, मध्यपूर्वमा रसियाको प्रभाव घट्छ र इरान एक्लिन्छ।
भूराजनीतिक दृष्टिकोणले सिरिया रसियाका लागि महत्वपूर्ण राष्ट्र हो। त्यसकारण ऊ कुनै पनि हालतमा वसार अल असादलाई सत्तामा टिकाउन चाहन्छ। सिरिया, रसिया र इरानको सम्बन्धलाई मजबुत बनाउने, सिरियाको तार्तस बन्दर्गाहस्थित नौ सैनिक अखडा विस्तार गरी भूमध्य सागरमा सामरिक उपस्थिति मजबुत पार्ने र आफ्नो गठबन्धन राष्ट्रहरूलाई हतियार बेच्ने रसियाली स्वार्थ हो। अर्कोतर्फ रसियाप्रति झुकाव राख्ने शासकहरू सद्दाम हुसेन, गद्दाफी अमेरिकी सिकार बन्नु र युक्रेनका प्रोरसियन राष्ट्रपति भिक्टोर याकोनोभिचलाई युरोपियन युनियनले ढाल्नुले पनि रसियाको सिरियाप्रति बढी चासो छ। वसार अल असादको पतन रसियाका लागि भूमध्यसागर क्षेत्रमा बाटो बन्द हुनुजस्तै हो। यो हुन नदिन ऊ हरसम्भव प्रयास गर्नेछ।
इरान सिरियाको महत्वपूर्ण सहयोगी राष्ट्र हो। इरानले सन् २०१२ देखि राष्ट्रिय सेना, इस्लामिक रिभोलुस्नरी गार्ड क्रप्स र सिया मिलिसिया पठाएर वसार सरकारलाई सहायता गरिरहेको छ। इरान सिरियामा वसार अल असादको सत्ता टिकाउन चाहन्छ। इराकदेखि लेबनानसम्म सिया कोरिडोर स्थापना गरी उसका क्षेत्रीय प्रतिद्वन्द्वीहरू साउदी अरब र इजरायललाई दबाबमा राख्ने उसको प्रमुख स्वार्थ हो। इजरायलविरुद्ध लडिरहेको लडाकु समूह हिजबुल्लाहलाई सिरियामार्फत हतियारहरू आपूर्ति गराइरहेको छ।
टर्कीले कुर्दिस र आईसिसबाहेकका विद्रोही समूहलाई सहयोग गर्दै आएको छ। कतारले प्रस्ताव गरेको ग्याँसको पाइपलाइन सिरिया हुँदै आएमा आफ्नो देश खाडीको ग्याँस युरोपमा वितरणको हब हुने र आफ्नो आपूर्ति पनि सहज पूर्ति हुने र ट्रान्जिट कर पनि लिन पाइने उसको स्वार्थ छ। कुर्दिस विद्रोही समूहले स्वायत्तता हासिल नगरून् र आईसिस आफ्नो देशमा नछिरून् भन्ने उसको अर्को चासो छ।
शान्ति स्थापनाका असफल प्रयास
सिरियामा जारी द्वन्द्व अन्त्यका लागि अन्तर्राष्ट्रिय समुदायले वार्ता र कूटनीतिक पहल गरिरहेका छन् तर सफल भएका छैनन्। सन् २०१२ मा राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानलाई राष्ट्रसंघ र अरब लिगका तर्फबाट संयुक्तरूपमा विशेष दूत नियुक्ति गरियो। कोफी अन्नानले समावेशी नेतृत्वको सिरियाली राजनीतिक प्रक्रिया र प्रभावकारी अन्तर्राष्ट्रिय पर्यवेक्षण संयन्त्र निर्माण गर्ने अवधारणासहित सोह्रबुँदे शान्ति योजना प्रस्ताव गरे। अन्नानले प्रस्ताव गरेका शान्ति प्रक्रियाको योजनाअनुसार सन् २०१२ मार्चमा स्विजरल्यान्डको राजधानी जेनेभामा सरकार र विद्रोही पक्षबीच पहिलो वार्ता भयो तर बिनानिष्कर्ष टुंगियो। राष्ट्रसंघको पहलमा हाल सात चरणको जेनेभा वार्ता भइसकेको छ तर शान्ति स्थापनामा ठोस उपलब्धि हाँसिल गर्न सकेको छैन।
रूस र टर्कीको सक्रियतामा कजाकिस्तानको राजधानी अस्तानामा सन् २०१७ को जनवरीमा विद्रोही र सरकारबीच प्रत्यक्ष वार्ता भयो। रसिया, टर्की र इरानले अनुगमन गर्ने गरी युद्धविरामको घोषणा गर्ने प्रस्ताव अघि सारियो तर सरकार र विद्रोही पक्ष दुवै सहमतिमा आउन सकेनन्। ६ चरणको अस्ताना वार्ताले पनि समस्या समाधानको प्रभावकारी उपाय पहिल्याउन सकेको छैन। पछिल्लोपटक रसियाको सक्रियतामा रसियाली भूभाग सोचीमा सिरियाली संकट समाधानका लागि बृहत् शान्ति सम्मेलन आयोजना गरियो।
नयाँ संविधान निर्माण गरी प्रजातान्त्रिक पद्धतिलाई संस्थागत गर्ने प्रस्तावसहित आयोजना गरिएको उक्त सम्मेलनलाई विद्रोही पक्षले बहिस्कार गर्यो। शक्तिराष्ट्रहरू अमेरिका, बेलायत तथा फ्रान्सले पनि आफूहरूलाई राष्ट्रसंघको मध्यस्थतामा हुने वार्ता मात्र मान्य हुने भनेर उक्त वार्तामा सहभागी भएनन्। हालसम्म भएका वार्ताहरू वसार अल असादको सत्ता र भविष्यमा अड्किएको छ। विद्रोही पक्ष र उसका अन्तर्राष्ट्रिय सहयोगी राष्ट्रहरू, अमेरिका, साउदी अरेबिया, टर्की र युरोपियन युनियन वसारको सत्तापलट चाहन्छन् भने सरकार र उसका सहयोगी राष्ट्रहरू रसिया र इरान उनको सत्ता जोगाउन चाहन्छन्।
सिरियामा विद्यमान संकट आन्तरिक र बाह्य स्वार्थहरूबीचको लडाइँ हो। यो सरकार र विद्रोहीबीचको गृहयुद्ध मात्र नभएर सिया र सुन्नी समुदायबीचको धार्मिक युद्ध तथा अमेरिका र रूसबीचको शीतयुद्ध पनि हो। जुन सुन्नमा सजिलो, बुझ्नमा जटिल र समाधानका लागि कठिन समस्या बन्दै गइरहेको छ र सर्वसाधारणले दिनानुदिन ज्यान गुमाइरहेका छन्। (अन्नपुर्ण पोस्ट)