व्यापारीलाई आश्वस्त पार्दै गृहमन्त्री



काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले निर्धक्क भएर लगानी गर्न व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिमण्डलसँग आइतबार भएको छलफलमा गृहमन्त्री थापाले सुरक्षाको पूर्ण प्रत्याभूति दिन आफू तयार रहेको भन्दै बिनासंकोच लगानी गर्न व्यवसायीलाई आग्रह गरेका हुन् । गृहमन्त्री थापाले कुनै व्यक्ति वा समूहले जबर्जस्ती चन्दा मागे त्यसको तत्काल सूचना दिन पनि व्यवसायीलाई भनेका छन् ।

छलफलमा गृहमन्त्री थापाले भने, ‘कस-कसले चन्दा माग्छन् मलाई सूचना दिनुहोस् । गृह मन्त्रालयले त्यस्ता व्यक्तिमाथि तत्काल कारबाही गर्छ ।’ उनले अहिले लोडसेडिङ पनि नभएको र सुरक्षाको प्रत्याभूतिसमेत भएको हुँदा लगानीको पूर्ण वातावरण भएको बताए । गृहमन्त्री थापाले कामको सिलसिलामा घुस माग्ने कर्मचारी र दुःख दिने सुरक्षाकर्मीमाथि आफूले कडा कारबाही गर्ने बताए ।

उनले कर छल्नेहरूको सूचना दिनसमेत व्यवसायीलाई आग्रह गरे । ‘को-को छन् कर छल्ने मलाई सूचना दिनुहोस्, गृहमन्त्री थापाले भने, ‘घुस माग्ने कर्मचारी र अनावश्यक दुःख दिने सुरक्षाकर्मीमाथि कारबाही गर्न कुनै कसर बाँकी राखिने छैन ।’ भेटमा चेम्बरका प्रतिनिधिहरूले कालोबजारी ऐन र उपभोक्ता ऐन धेरै पुरानो भएकाले समयानुकूल परिमार्जन गर्नुपर्ने माग गरेको गृहमन्त्रीको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । (अन्नपुर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्