ठूला जहाज उड्ने गन्तव्य व्यवस्थापनमा जुट्यो नेवानि



पहिलो चरणमा जापान, कोरिया र साउदी अरेबिया उडानको योजना

दुईवटा वाइडबडी जहाज ‘ए३३०–२००’ नेपाल आउने समय नजिकिँदै जाँदा नेपाल वायुसेवा निगम यी जहाज उडाउने गन्तव्यमा आवश्यक पर्ने व्यवस्थापकीय कार्यमा केन्द्रित भएको छ । निगमका अनुसार ‘जुन’ पहिलो साता (मध्य जेठ ०७५) मा निगमको पहिलो वाइडबडी जहाज हस्तान्तरण हुने कार्यक्रम छ ।

सो समयअघि नै यी जहाज उडाउने लक्ष्य लिएका गन्तव्यमा व्यवस्थापकीय काम भइरहेको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए । अहिले सम्बन्धित मुलुकमा सेल्स एजेन्ट नियुक्त गर्ने, विमानस्थलमा ‘स्लट (उडान–अवतरणको समय)’ मिलाउने, ग्राउन्ड ह्यान्डिलिङ तथा लाइन मेन्टिनेन्स र कम्पनी छनोटजस्ता काम भइरहेको निगमको भनाइ छ ।

निगमले वाइडबडी जहाजबाट पहिलो चरणमा जापान, कोरिया र साउदी अरेबिया उडानको योजना बनाएको छ । कोरियामा पहिलोपटक निगमले उडान थाल्दै छ । जापान र साउदी अरेबियामा भने निगमले पुनः उडान सुरु गर्ने तयारी गरेको होे । जापानमा सन् २००७ बाट उडान बन्द हुनुअघि निगमले १३ वर्षसम्म नियमित उडान गरेको थियो ।

निगमले मध्यम दूरीका गन्तव्यमा उडाउने लक्ष्यसहित दुईवटा ए३३०–२०० जहाज खरिद गर्दै छ । निगमको योजनाअनुसार यी जहाजबाट जापान, कोरिया, साउदी अरेबियासहित अस्टे«लिया र लन्डनसमेत उडान सम्भव छ । तर, अस्ट्रेलिया सँग हवाई सेवा सम्झौता हुन बाँकी छ भने लन्डनमा युरोपेली युनियनको कालोसूचीको अन्योल बाँकी छ ।

पहिलो चरणमा कुन–कुन विमानस्थलमा उड्दै छ वाइडबडी ?

इन्चेन अन्तर्राष्ट्रिय विमानस्थल : कोरिया
कान्साई अन्तर्राष्ट्रिय विमानस्थल : जापान
रियाद किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल : साउदी अरेबिया

जिएसए, ग्राउन्ड ह्यान्डिलिङ र लाइन मेन्टिनेन्सको प्रबन्ध

निगमले सन् २०१८ को प्रारम्भसँगै इन्चेन अन्तर्राष्ट्रिय विमानस्थल कोरिया, कान्साई अन्तर्राष्ट्रिय विमानस्थल र रियाद किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा स्ट्यान्डर्ड ग्राउन्ड ह्यान्डिलिङ एग्रिमेन्ट र लाइन मेन्टिनेन्स एग्रिमेन्टका लागि जुटेको थियो । निगमले गत बिहीबार कोरिया र जापानका लागि जनरल सेल्स एजेन्ट्स (जिएसए)का लागि प्रस्ताव आह्वान गरेको छ । निगमले यात्रु तथा कार्गो व्यवस्थापनका लागि (जिएसए) नियुक्त गर्न लागेको हो ।

मर्मत गर्ने कम्पनीको खोजी

निगमले निकट भविष्यमा भित्रिन लागेका ए३३०–२०० जहाजको इन्जिन मर्मत–सम्भार, पूर्ण परीक्षण र आवश्यकताअनुसार मर्मत (ओभरहउल) गर्ने कम्पनीको समेत खोजी थालेको छ । गत मंगलबार निगमले इच्छुक मेन्टिनेन्स रिपेयर ओभरहउल अर्गनाइजेसन (एमआरओ) वा वायुसेवा कम्पनीबाट प्रस्ताव मागेको हो । ए३३०–२०० जहाजमा ‘रोल्स रोयस ट्रेन्ट ७०० मोडल’को इन्जिन प्रयोग हुन्छ । रोल्स रोयस बेलायती कम्पनी हो ।

२४ अर्ब ऋणमा किनिँदै छ जहाज

यी दुई जहाज निगमले २४ अर्ब रुपैयाँ ऋण लिएर खरिद गर्न लागेको हो । दुई जहाजका लागि २० करोड ८० लाख १६ हजार डलर (झन्डै २२ अर्ब ६३ करोड रुपैयाँ) खर्च हुनेछ भने बाँकी रकम व्यवस्थापकीय काममा खर्च हुने निगमको भनाइ छ । निगमले जहाज खरिद गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट १२–१२ अर्ब रुपैयाँ ऋण लिएको छ ।

उक्त रकममध्ये झन्डै ८ अर्ब रुपैयाँ पठाइसकिएको छ । आयरल्यान्डको हाइफ्लाई एक्स लिजिङ कम्पनीमार्फत खरिद गरिएका यी जहाज अहिले फ्रान्समा निर्माण भइरहेका छन् । निर्माणाधीन दुई जहाजको अवलोकन तथा परीक्षणका लागि यसै साता निगमको प्राविधिक टोली फ्रान्स जाने निगम स्रोतको भनाइ छ । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्