फेसबुकबारे अनेक विवाद



फेसबुक बिस्तारै नेपाली समाजको अभिन्न सम्पर्क माध्यम बन्दै गएको छ । विश्वका धनी, विकसित र सञ्चारमाथि सहज पहुँच भएका देशका लागि त यो कुनै नयाँ विषय पनि भएन । हाम्रो जस्तो भर्खर दूरसञ्चारले ठड्याएका मोबाइल टावरले भिरटाकुरा रंगीन देखिन थालेका स्थानमा पनि बजार र विप्रेषणबाट आएको पैसा सँगसँगै प्रवेश गर्दै गयो र त्यससँग मोबाइल पनि पुग्यो ।

र, यससँगै पुग्यो इन्टरनेट या फेसबुक एप्सहरूको सञ्जाल । यसले गाउँगाउँका मान्छे आफ्ना चिनेका नचिनेका साथीसँग गाँसिँदै गए, आफ्ना वैयक्तिक सम्बन्ध मात्र होइन, तिनले सामाज, राजनीति, अर्थतन्त्र, कूटनीति र विश्व सम्बन्धबारे आफ्ना धारणा पोख्न थाले ।

यो एकप्रकारको मञ्च बन्यो, जहाँ कुनै न कुनै स्रोतासामु कसैले पनि आफ्ना विचार खुलमखुला व्यक्त गर्न पायो, नेताहरूलाई गाली गर्न, आफ्ना वरपरका घटनाबारे सूचना दिन, विकास भएन भन्ने जानकारी दिन, विद्यालयमा पढाइ भएन, स्वास्थ्य केन्द्रमा सिटामोल र चिकित्सक पुगेनन्, मेनपावर कम्पनीले ठग्यो भन्नेबारे नडराई सार्वजनिक गर्न सक्ने भयो ।

सार्वजनिक सभाअघि उभिँदा मनको विचार खोल्न डराउनेले पनि यी मञ्च प्रयोग गरेर जेसुकै पनि भन्न सक्ने भयो । यो गज्जबको मञ्च बन्यो ।

सँगै यसलाई दुरुपयोग पनि गरिएको छ । यसको प्रयोग बढ्दै जाँदा भर्चुअल दुनियाँमा रमाउने र वास्तविक समाज वा परिवारसँग अन्तत्र्रिmया गर्ने अवसर घट्ने क्रम पनि बढ्यो । कसैले यसलाई आपराधिक काममा प्रयोग गरे ।

त्यसले अनेक विवाद पनि निम्त्यायो । तैपनि, फेसबुक हाम्रो समयको एकदम ठूलो उपलब्धि हो, जसले समाजलाई क्षणक्षणमा एकापसमा जोडेको छ, सूचनाको प्रवाह गरेको छ । तर, यो विवादमुक्त भने छैन ।

फेसबुकलाई निषेध या विरोध गरेर होइन, यसको दुरुपयोग हुन कम गराएर या फेसबुकका प्रयोगकर्तालाई सजग गराएर प्रयोग गर्नेतर्फ अघि बढ्नुपर्छ

यसै साता कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो प्रदेशका कार्यालयमा कार्यालय समयमा फेसबुक प्रयोगमा रोक लगाउने घोषणा गरे । उता यसै साता क्याम्ब्रिज एनालिटिका भन्ने एउटा परामर्शदाता कम्पनीले फेसबुकबाट करोडौँ व्यक्तिका सूचना चोरेर अमेरिकाको निर्वाचनका समयमा डोनाल्ड ट्रम्पका पक्षमा उपयोग गरेको सार्वजनिक भयो ।

यसलाई फेसबुकका संस्थापक मार्क जुकरबर्गले पनि फेसबुकको कमजोरी भनेर स्वीकार गरे । यता जुकरबर्गले सार्वजनिक रूपमा बोल्नुभन्दा पहिले नै एनालिटिकाका निर्देशकलाई पदबाट हटाइसकिएको थियो भने फेसबुकको सेयर मूल्यमा भारी गिरावट आएर उसले ६० अर्ब गुमाइसकेको थियो । यी विवादबीच फेसबुक भने हाम्रो जीवनको अनिवार्य अंग बन्दै गएको छ ।

यसले धेरै टाढा सात समुद्रपारिसम्म पुगेका पारिवारिक आफन्तदेखि साथी सम्बन्धी, नेता कार्यकर्ता, समाजको व्यापक हिस्सालाई एकअर्कासँग नजिक ल्याइदिएको छ । यसलाई निषेध या विरोध गरेर होइन, यसको दुरुपयोग हुन कम गराएर या फेसबुकको प्रयोगकर्तालाई सजग गराएर प्रयोग गर्नेतर्फ अघि बढ्नु आवश्यक छ ।

कार्यालय समयमा फेसबुक चलाएर कसैले आफूलाई दिइएको जिम्मेवारी पूरा गरेन भने उसलाई कार्बाही गर्नु पनि पर्छ । तर, यसको प्रयोगका कारण प्रयोगकर्ताले कामका लागि ऊर्जा पनि प्राप्त गरिरहेको हुन सक्छ भन्नेतिर पनि अध्ययन हुनु जरुरी छ । सूचना र सञ्चारका क्षेत्रमा भएको यो महान् क्रान्तिकारी उपलब्धिलाई भने जोगाइरहनु जरुरी छ । प्रयोग गर्न नजाने त हामीले खाने दालभातले पनि स्वास्थ्यलाई हानि गर्छ भने फेसबुकले के नगरोस् ! (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्