कर्णाली प्रदेश : महिनापछि संसद् बैठक आह्वान



बिजनेस नपाउँदा अनिश्चित बनेको कर्णाली प्रदेश सभा बैठक एक महिनापछि बस्ने भएको छ । आइतबार प्रदेश सभा सचिवालयले सूचना जारी गरी १६ चैतका लागि बैठक बोलाएको छ ।

संसद्मा विधेयक दर्ता भएपछि बैठक आह्वान गरिएको सचिव राजेश पौडेलले बताए । उनका अनुसार १६ चैत दिउँसो १ बजे कर्णाली प्रदेश सभा बैठक बस्नेछ । आर्थिक मामिला तथा योजना मन्त्रालयले शुक्रबार प्रदेशको आर्थिक कार्यविधि विधेयक दर्ता गरेको थियो ।

यसअघि प्रदेश सभा बैठक १५ फागुनमा बसेको थियो । प्रदेश सभा सदस्यहरू एक महिनादेखि संघीय राजधानीमा रहेकाले एक साताको समय दिएर बैठक आह्वान गरिएको सचिव पौडेलको भनाइ छ ।

एक विधेयक दर्ता
एक महिनापछि बोलाइएको संसद् बैठकका लागि पनि पर्याप्त बिजनेस छैन । आइतबारसम्म संसद् सचिवालयमा आर्थिक कार्यविधि विधेयक र कर्णाली प्रदेश सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन मात्रै दर्ता भएका छन् । यो अवधिमा थप विधेयक दर्ता हुने सचिवालयको विश्वास छ ।

संसद् बैैठक आह्वान गरिए पनि कार्यसूची भने तयार भएको छैन । १५ चैतसम्म थप विधेयक दर्ता भए पनि मात्रै कार्यसूची तयार गरिने सचिवालयले जनाएको छ ।

चार संसदीय समिति प्रस्ताव
आगामी संसद् बैठकले आर्थिक कार्यविधिसँगै प्रदेश सभा नियमावली पारित गर्नेछ । कर्णाली प्रदेश सभा नियमावली मस्यौदा समितिले चार समिति बनाउने प्रस्ताव गरेको छ । जसअनुसार प्रदेश सभामा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत र सामाजिक विकास समिति गठन गरिनेछन् । १६ चैतको बैठकमा समिति गठन गरिने संसद् सचिवालयले जनाएको छ । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्