२५ चैतभित्रै पार्टी एकताको तयारी



एकतापछि मात्रै भारत भ्रमणमा निस्किने प्रधानमन्त्रीको योजना

प्रधानमन्त्री केपी ओलीले पार्टी एकता गरेर मात्रै भारत भ्रमणमा निस्किने योजना बनाएका छन् । प्रधानमन्त्रीको योजनाअनुसार नै एकताका बाँकी काम टुंग्याउन सम्बन्धित दुई कार्यदलले तयारी तीव्र बनाएका छन् ।

प्रधानमन्त्री ओली २३ चैतमा भारत भ्रमणमा निस्किने चर्चा चले पनि औपचारिक मिति तय भएको छैन । यता पार्टी एकता २५ चैतभित्र गर्ने तयारी भइरहेको नेताहरूले बताएका छन् ।

‘सकेसम्म २५ चैतभित्रै एकता टुंग्याउने तयारी भइरहेको छ, दुवै पार्टीका सबै नेताहरू ढिला नगर्ने मुडमा हुनुहुन्छ,’ प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले भने, ‘कुनै विषय अल्झिएन, जिज्ञासा कायम रहिरहेकै कारण समय लियो भने मात्र अन्यथा हुन सक्छ नत्र ०७४ नकटाउने लक्ष्यका साथ काम भइरहेको छ ।’

उनले प्रधानमन्त्रीको भारत भ्रमणअगावै एकता टुंग्याउने योजनाभन्दा पनि छिटो टुंग्याउने मुडका साथ नेताहरूले गृहकार्य गरिरहेको बताए । ‘कुनै तिथिमिति कुरिराख्ने भन्ने छैन, दुवै पार्टीका सिनियर नेताहरूबीच दिनहुँ छलफल र भेटघाट चलिरहेको छ,’ रिमालले भने, ‘कार्यदलका नेताहरूले पनि प्रधानमन्त्रीज्यूलाई आवश्यकताअनुसार ब्रिफिङ गरिरहनुभएको छ ।’

यसअघि विधान मस्यौदा कार्यदलमा कम्युनिस्ट पार्टी स्थापना दिवसका दिन अर्थात् ९ वैशाख (२२ अप्रिल)मा पार्टी एकता घोषणासभा गर्ने समझदारी भएको थियो ।

तर, प्रधानमन्त्रीले भारत भ्रमणअगावै एकता गर्ने चाहना राखेपछि कार्यदलले तयारी तीव्र पारिरहेको छ । तर, भ्रमणअगावै कुनै विषयका कारण एकता लम्बिए ९ वैशाखमै धुमधामसँग एकता घोषणासभा गर्ने दुवै दलको तयारी छ ।

१४ गते राजनीतिक प्रतिवेदन टुंग्याउने तयारी
एकीकृत पार्टीको अन्तरिम राजनीतिक प्रतिवेदन तयारीका लागि गठित कार्यदलले १४ चैतमा काम सक्ने तयारी गरेको छ । आइतबार एमाले संसदीय दलको कार्यालयमा बसेको कार्यदलको बैठकमा अन्तरिम राजनीतिक प्रतिवेदनमाथि आएका सुझाबलाई समेटेर १४ चैतको बैठकमा छलफल गर्ने समझदारी भएको एमाले नेता सुवास नेम्वाङले बताए ।

‘सबै सुझाब समेटेर १४ गते टुंग्याउने गरी छलफल गर्दै छौँ,’ नेम्वाङले भने, ‘छिटो टुंग्याउने निर्देशन आएको छैन, तर हामी जतिसक्दो छिटो काम सम्पन्न गर्ने अन्तिम गृहकार्यमा छौँ ।’ अन्तरिम राजनीतिक प्रतिवेदन लेखन समितिको संयोजक एमाले नेता माधवकुमार नेपाल छन् । समितिमा रहेका नेताहरूबीच आइतबार करिब ४ घन्टा छलफल भयो ।

माओवादी नेता नारायणकाजी श्रेष्ठले दुवै कार्यदलमा धेरै विषय टुंगिसकेका कारण अब ढिलाइ नहुने जानकारी दिए । ‘दुवै कार्यदलमा धेरै विषय मिलिसकेका छन् । त्यसैले ढिलोमा १४ या १५ गतेभित्रै पार्टी एकता संयोजन समितिलाई प्रतिवेदन बुझाइनेछ,’ श्रेष्ठले भने, ‘प्रधानमन्त्रीज्यूको भारत भ्रमणअगावै एकता गर्ने गरी नै गृहकार्य भइरहेको छ, नभ्याइएमा मात्र भ्रमणपछि बाँकी विषय टुंगो लाग्नेछ ।’

विधानमा केन्द्रीय कमिटीको संख्या टुंगिन बाँकी
संगठन तथा विधान मस्यौदा कार्यदलमा एकीकृत पार्टीको केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी समितिसहित तल्लो तहसम्मका कमिटीको संख्या र संरचना टुंगो लाग्न बाँकी छ । एमाले र माओवादी नेताहरूले संख्याका विषयमा मस्यौदा समितिमा अहिलेसम्म औपचारिक छलफल गरेका छैनन् । तीन सयआसपासको संख्या रहने गरी केन्द्रीय कमिटी बनाउने अनौपचारिक समझदारी भए पनि अहिलेसम्म छलफल नभएको कार्यदलका एक सदस्यले बताए ।

संगठन निर्माण ७०/३० या ६०/४० को अनुपातमा

केन्द्रीय कमिटीसहित तल्लो तहसम्म सांगठनिक एकता गर्दा के कुरालाई आधार मान्ने अहिलेसम्म औपचारिक छलफल भएको छैन । दुई पार्टीले चुनावमा ६०/४० को अनुपातमा सिट बाँडफाँड गरे पनि एमालेले ७० र माओवादीले करिब ३० प्रतिशत सिट जितेको थियो ।

यी दुईमध्ये एउटालाई आधार मानेर सांगठनिक एकताको टुंगो लाग्न सक्ने एमालेका एक नेताले बताए । यद्यपि, पार्टी एकताको ‘स्पिरिट’विपरीत संख्या भागबन्डाको सन्देश नदिने दुवै पक्षबीच समझदारी भइसकेको छ ।

माओवादी नेताहरूले एकतामा संख्या भागबन्डा नहुने भन्दै ‘फिफ्टी–फिफ्टी’को स्पिरिटमा एकता हुने बताउँदै आएका छन् । जनसंगठनको हकमा कतिपयको नामबाट ‘पुच्छर’ हटाउने, महासंघीय ढाँचामा रहेका पेसागत संगठनहरूलाई एउटै जनसंगठन बनाउने सैद्धान्तिक सहमति भइसकेको छ ।

रिपोर्ट तयार पार्न माओवादीले तोक्यो इन्चार्ज

माओवादीले एमालेसँग पार्टी एकताको निर्णय गर्न बिहीबारका लागि सचिवालय वैठक बोलाएको छ । बैठकले एकताको महत्वपूर्ण निर्णय गर्न सक्ने माओवादी नेता मणि थापाले बताए । एकताका लागि माओवादी प्रदेश इन्चार्जहरूले अन्तरिक गृहकार्य गर्न लागिसकेका छन् ।

आन्तरिक गृहकार्यकै लागि माओवादीले शनिबार पूर्व हेडक्वार्टर सदस्यको बैठक बोलाएर प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको थियो । सचिवालय बैठकमा इन्चार्जहरूले प्रदेश, जिल्ला क्षेत्र र गाउँसम्मको पार्टीको वैचारिक संगठनिक विषयमा रिपोर्ट पेस गर्नेछन् ।

प्रचण्ड र नेपालसँग प्रधानमन्त्रीको प्रस्ताव एकता छिटो गरौँ

प्रधानमन्त्री ओलीले २५ चैतभित्रै दुई पार्टी एकता गर्ने प्रस्ताव माओवादी अध्यक्ष प्रचण्ड र आफ्नो पार्टीका नेता माधवकुमार नेपालसँग गरेका छन् । छिटो एकता गर्दा सकारात्मक सन्देशसहित भारत भ्रमण हुने भन्दै ओलीले शनिबार दुवै नेतासँग त्यसअनुसार तयारीका काम अघि बढाउने विषयमा परामर्श गरेका हुन् ।

माओवादीले पनि कार्यदलमा छिटो काम गर्नुपर्ने र तीन दिनभित्रै पार्टीको केन्द्रदेखि तलसम्मको सांगठनिक संरचनाको रेकर्ड उतार्न गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापालाई निर्देशन दिएको छ । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्