मन्दिर निर्माणमा एउटै परिवारद्वारा रु दुई लाख सहयोग



पर्वत, १२ चैत

पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीमा निर्माणाधीन राधाकृष्ण मन्दिरको सत्तल निर्माणमा एक युवाले सहयोग गरेका छन् ।

साविकको शंकरपोखरी–४ राहालेपानी घर भई हाल नेपालगञ्जमा व्यवसाय गर्दैआएका राजुप्रसाद काफ्ले र उहाँकी पत्नी सीमा काफ्लेले दिवंगत बाबुआमा अनिरुद्र/मोतीकुमारी काफ्लेको स्मृतिमा रु दुई लाख एक हजार १११ सहयोग गर्नुभएको हो ।

रामनवमीको अवसरमा मन्दिरमा आयोजित कार्यक्रममा उहाँका आफन्त सन्तोष रिमालले काफ्लेले पठाएको रकम मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको समितिका सचिव हरिप्रसाद तिवारीले बताउनुभयो ।

सत्तल निर्माणको काम अहिले चलिरहेको छ । सत्संग समाजले मन्दिरको सत्तल निर्माण गर्न लागेको हो । केही वर्ष पहिले राधाकृष्ण मन्दिर बनाइएको थियो । सोही मन्दिर परिसरमा सत्तल बनाउन लागिएको हो । सत्तल बनाउन सहयोगको खोजी भैरहेको तिवारीले बताउनुभयो ।

राधाकृष्ण मन्दिरले विपन्न परिवारलाई सघाउन ‘धर्म भकारी’ सञ्चालन गर्दै आइरहेको छ । गाउँमा आगलागी पीडित, विपन्न परिवार तथा खाद्यान्न अभाव झेलेको परिवारलाई हरेक वर्ष खाद्यान्न वितरण गर्दै आएको सत्संग तथा राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले मन्दिर परिसरमा निर्माणाधीन सत्तलमा आर्थिक अभाव भएको बताएपछि आफूले सहयोग गरेको काफ्लेले बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस्