अन्तिम नर्दन ह्वाईट गैंडा पनि मर्‍यो, गैंडाको हालत चाँडै डाइनोसारको जस्तो हुनसक्ने



काठमाडौँ — पृथ्वीको अनुमानित उमेर ४.५ अर्ब मानिन्छ । विभिन्न कालखण्डहरुमा विविध प्रजातिका जीवहरुको उत्पत्ति, विकास र विनाश हुने क्रममा जारी रह्यो । जुन अहिले पनि निरन्तर चलिरहेको छ । पृथ्वीको इतिहास अध्ययन गर्ने क्रममा डाइनासोसरको बारेमा हामीलाई धेरै चासो हुन्छ ।

पृथ्वीको मेसोज्वाइक इरामा यो जीवको उत्पति, विकास र विनाश भयो। यसलाई प्रत्यक्ष रुपमा कसैले नदेखे पनि प्राप्त जीवाशेष र प्रमाणहरुले पृथ्वीमा कुनै समय डाइनोसरको ‘साम्राज्य’ थियो भन्ने पुष्टि गर्छ।

पृथ्वी अहिले आधुनिककालमा आइपुगेको छ। यो काल मानव जातिको हो। जहाँ उसको साम्राज्य चलिरहेको छ। संसारको सबैभन्दा विवेकशील प्राणीको उत्पत्ति यही कालमा भएको छ, र यही कालमा यसको अस्तित्व हराउँछ कि हराउँदैन भन्न सकिन्न। किनभने पृथ्वीको हरेक कालमा एउटा जीवको उत्पति र विनाश निरन्तर रुपमा भइरहको छ।

जीवहरुको उत्पति, विकास र विनाश प्राकृतिक रुपमा हुन्छ। यो चलिरहने प्रक्रिया हो। प्रकृतिलाई नै चुनौती दिंदै जीवहरुलाई सांसरबाटै लोप बनाउने कार्यमा हामी आधुनिककालका मानव जाति लागिपरेका छौँ। यसले हामीलाई प्रत्यक्ष रुपमा अहिले त असर नगर्ला तर दीर्घकालीन रुपमा यसले धेरै असर पुर्‍याउने छ।
हामी मानव जाति पृथ्वीलाई हाम्रो ‘पेवा’ ठान्छौँ। धर्तीको सर्वश्रेष्ठ प्राणीको हैसियतले मानव जातिलाई यसो भन्न दिएको हो। वास्तवमा पृथ्वी जैविक र अजैविक बस्तुहरुको साझा धरोहर हो।

गत मंगलबार विश्वकै अन्तिम् नर्दन ह्वाईट गैंडा प्रजातिको एकमात्र भाले गैंडाको मृत्यु भयो। ४५ वर्षसम्म बाँचेको सुडान नाम गरेको उक्त गैंडा विश्वको सबैभन्दा धेरै वर्षसम्म बाँच्ने गैंडा पनि हो। गैंडाको औसत आयू ४० वर्षको हुन्छ। अब नर्दन ह्वाईट गैंडा पृथ्वीमा दुई वटा मात्र बाँकी छन्।

उक्त गैंडा केन्याको ओल पेजेता कन्जरभेन्सीमा संरक्षित गरिएको थियो। वेस्टर्न ब्ल्याक गैंडा सन् २०११ मै पृथ्वीबाट लोप भयो। गैंडा विश्वबाट लोप हुने खतरामा छ। १९ औ शताब्दीतिर विश्वमा १० लाख गैंडाहरु थिए। अहिले आएर यसको संख्या ३० हजारको हाराहारीमा मात्र छ।

यस्तो समय नआओस् कि गैंडा पनि हाम्रा लागि डाइनोसरको कथा सुने जस्तो नहोस्। सेतो, कालो, समुतरन, जभान र ग्रेटर–वान हर्न गरी संसारमा ५ प्रजातिका गैंडा छन्। जसको संख्या ३० हजारको हाराहारीमा छ। जसमा अफ्रिकन कालो गैंडाको संख्या ५ हजार देखि ५ हजार चार सय ५८, अफ्रिकन सेतोको संख्या १९ हजारदेखि २१ हजारसम्म, जभान गैंडाको संख्या ६३, सुमतरनको संख्या एक सयवटा र एसियामा पाइने ग्रेटर वान–हर्न राइनोको संख्या ३ हजार ५ सयभन्दा केही माथि मात्र रहेको सेभ द राइनो नामक संस्थाको तथ्यांक छ।

अफ्रिकामा अब साउदर्न ह्वाइट गैंडा मात्र बाँकी छन्। जसको संख्या २० हजारको हाराहारीमा छ। अफ्रिकामा प्रत्येक ९ घण्टामा एउटा गैंडा मारिने गरेको तथ्यांक छ। अघिल्लो वर्ष अफ्रिकामा एक हजार २८ वटा गैंडा मारिए। यही अवस्था रहिरहे गैंडा एक दशकमै लोप हुने खतरा छ।

गैंडा प्रकृतिमा पाइने उच्च शाहकारी (हाइ लेभल हर्बीभोरस) स्तनधारी जनावार हो। यसलाई ‘अम्ब्रेला स्पाइसिस’को रुपमा समेत लिइन्छ। अर्थात्, गैंडाको बसाइ वा मरणले अन्य स–सना प्रजातिका स्तनधारी, चरा, किरा, माछा र वनस्पतिहरुलाई प्रत्यक्ष रुपमा असर पुर्‍याउँछ। पारिस्थितीक पद्दतीमा गैंडाले ठूलो भूमिका खेलको हुन्छ।

गैंडाले आफू बसेको क्षेत्रमा अरु स–साना शाहकारी जनावहरुका लागि खानेकुराको जोह गरिदिएको हुन्छ। ठूलाठूला घासपातलाई खानेक्रममा उसले ससना शाहकारी जनावरलाई खानाका लागि पहुँच स्थापित गराइदिएको हुन्छ। गैंडाको गोबरले माटोको उर्वरशक्ति क्षमतामा वृद्धि गराउन मद्दत पुर्‍याउछ जसले वनस्पतिका लागि पर्याप्त पौष्टिक तत्वको जोह गरिदिन्छ।

स्मिथसोनियन डट कमका अनुसार गैंडा बसेको ठाँउमा हरिण, जंगली खरायो, जेब्रा जस्ता जनावहरुलाई २० गुणा बढी चरिचरण क्षेत्रको निर्माण गरिदिएको हुन्छ। अथार्त, गैंडा पाइने स्थानमा २० गुणा बढिले स–सना जनावरहरुलाई चरिचरण क्षेत्र प्राकृतिक रुपमा निर्माण भइरहेको हुन्छ। जसले सन्तुलित पारिस्थीतिक प्रणाली निर्माणका लागि सहयोग गरेको हुन्छ। खाद्य चक्र सन्तुलनको हिसाबले यो महत्वपूर्ण मानिन्छ।

पृथ्वीमा करिब चार करोड वर्षअघि गैंडाको उत्पति भएको थियो। वन क्षेत्रमा मानवीय अतिक्रमण, शिकारी र प्रदूषणका कारण गैंडाको संख्या घट्दै गइरहेको छ। चोरी शिकारीका कारण गैंडाको संख्या घट्दै गएको हो। अफ्रिकामा सन् २००७ देखि २०१४ मा ९ हजार प्रतिशतले गैंडाको शिकारी बढेको तथ्यांक सेफ द राइनो नामक संस्थाले निकालेको छ। जुन निकै संवेदनशील छ।

नेपाल, भारत, मलेसिया, अफ्रिकालगायतका देशहरुमा यसको बासस्थान छ।
गैंडाको खाग बहुमुल्य मानिन्छ। खागका लागि यसको तस्करी हुने गरेको छ। अन्तर्राष्ट्रिय बजारमा एक किलो गैंडाको खागको मूल्य ५० हजार डलरभन्दा माथि छ।अफिमर सुन तस्करीभन्दा गैंडाको खाग तस्करीमा पैसा बढि देखिएपछि यसको चोरी शिकारी बढ्न गएको हो।
गैंडाको खाग रसायनिक रुपमा जटिल किसिमका पदार्थहरुले निर्माण भएको हुन्छ। सल्फरको मात्रा बढि भएको एमिनो एसिडले खाग बनेको हुन्छ।

चिनियाँहरुले दुई हजार वर्षअघिदेखि गैंडाको खाग औषधीको रुपमा प्रयोग गरेका थिए। ज्वरो, बाथलगायत अन्य रोगका लागि यसको प्रयोग हुँदै आएको छ। चिनियाँहरुले सर्पको डसाई, टाइफाइड, टाउको दुखाई, वाकवाकीलगायतको रोगहरु निको पार्नका लागि प्रयोग गरेपनि खागले ती रोगको निदान गर्छ भन्ने कुनै प्रमाणिक तथ्याङ छैन।

विशेषत: गैंडाको खागलाई कामोत्तेजकको रुपमा लिइन्छ। मानिसको कामवासना जागृत गराउने भएकाले कामवासना जगाउने औषधीको रुपमा प्रयोग हुन्छ। तातोपानीमा धुलो बनाइएको गैंडाको खागलाई मिसाएर विरामीहरुलाई ख्वाएमा विभिन्न रोगहरुको निको हुने चिनियाँ विश्वास छ।

‘टाइगर बोन एण्ड राइनो हर्न’का लेखक रिचार्ड इलिसका अनुसार गैंडाको खागले हालसम्म कुन रोगलाई निको पार्छ भनेर कुनैपनि आधिकारिक तथ्यांक नभएकाले पुरातनवादी उपचार विधिमा विश्वास गर्नेहरुले मात्र प्रयोग गरेको बताएका छन्।

नेपालमा चितवन राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा सन् २००० देखि २००३ सम्म ९१ वटा गैंडा मारिएको इतिहास छ। सरकाले वन क्षेत्रमा संरक्षण र सुरक्षालाई गम्भीर रुपमा लिएपछि यसको संरक्षण हुन थालेपनि तस्करी रोकिएको छैन।

सबै वन्युजन्तुहरुका आ–आफ्ना महत्वहरु रहेका हुन्छन्। हामी डाइनोसरलाई कल्पना मात्र गर्न सक्छौं। तर, प्रत्यक्ष रुपमा देख्न सक्दैनौँ। गैंडा जस्ता अन्य जनवारहरुलाई हामीले संरक्षण गर्न सक्यौ भने भावी पुस्ताले प्रत्यक्ष रुपमा देख्न पाउने अवसर पाउनेछन्।

नर्दन ह्वाईट प्रजातिको भाले गैंडा संसारबाटै लोप भयो। संसारबाट तस्मनियन टाइगर, गोल्डेन टोड, जन्जिबार लियोपार्ड, जवान टाइगरलगायतका जनवारहरु लोप भए। यस्ता जनवारहरु चोरी शिकारी र मानवीय क्रियाकलापका कारण लोप भएका हुन्।

पृथ्वीमा सबै प्राणीलाई समान रुपमा बाँच्न पाउने हक छ। जनवारहरुको विकास क्रमको इतिहास केलाउने हो भने मानव जातिभन्दा अगाडि पृथ्वीमा उत्पति भएर आएका जनवारहरुको अहिले पनि अस्तित्व छ। मानवीय कारणले प्राणीहरुलाई हानी पुर्‍याउनु गलत हो किनभने पृथ्वी सबै प्राणी र वनस्पतिको साझा हो। (कान्तिपुर दैनिकबाट)

प्रतिक्रिया दिनुहोस्