मुम्बई – दक्षिण भारतका चर्चित कलाकार हुन् प्रकाश राज। बलिउडमा पनि छुट्टै पहिचान बनाउन सफल प्रकाश प्रायः खलनायकको भूमिकामा देखिन्छन्। उनै चर्चित कलाकार प्रकाश राजको सोमबार (आज) जन्मदिन परेको छ। २६ मार्च १९६५ बैंगलोरमा जन्मिएका उनी ‘दक्षिणपन्थी विचारधारा’विरुद्ध खरो रुपमा बोल्दै आएका छन्।
उनले आफ्ना विभिन्न अन्तर्वार्तामा देशका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई चुनौती दिँदै उनीहरूलाई हिन्दू मान्न अस्वीकार गरेका छन्। उनी भन्छन्, ‘जो कुनै पनि हत्या र हिंसाको समर्थन गर्छ त्यसलाई म हिन्दू मान्दिन्। मेरो बुझाईमा त्यो हिन्दू होइन।’
उनले आफू अमित शाह र नरेन्द्र मोदीको विरोधी भएको भन्दै खुलेआम चुनौती समेत दिएका छन्।
उनको भनाई छ– ‘म मोदी विरोधी हुँ, म हेगडे (विजेपी सांसद एवं केन्द्रीय मन्त्री अनन्त कुमार हेगडे) विरोधी हुँ, म अमित शाहको विरोधी हुँ र मेरो बुझाईमा उनीहरू हिन्दू होइनन्।’
प्रकाश फेरि भन्छन्– जो मानिसहरु ‘मार्नुस्’ भन्छन् वा हिसांत्मक गतिविधिको समर्थन गर्छन त्यो हिन्दू हुनै सक्दैन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनका यी भनाईहरू हिन्दू अतिवादी गतिविधिविरुद्ध आएका हुन्।
१९९८ मा फिल्म हिटलरबाट बलिउडमा आफ्नो करियर सुरु गरेका प्रकाश राज खलनायकको रुपमा चर्चित छन्। फिल्ममा खलनायक भएपनि वास्तविक जीवनमा भने उनले सामाजिक एजेण्डाको सकारात्मक पक्षमा आवाज उठाउँछन्। (नागरिक न्युज)