जसले विद्यार्थीहरूलाई निःशुल्क खाना खुवाउँछन्



भोजपुर – हाम्रो समाजमा यस्ता उदाहरणीय व्यक्ति पनि छन् जसले समाजको लागि निस्वार्थ रुपमा योगदान गरिरहेका छन्। यस्तै एक समाजसेवी व्यक्तित्व हुन् भोजपुरको पौवादुङ्मा गाउँपालिका– ५ सानोदुङ्माका जयनारायण राई उनले स्थानीय एक विद्यालय गरिरहेको योगदान प्रसंशायोग्य र उदाहरणीय छ। गाउँको विद्यालयका विद्यार्थीहरूलाई निःशुल्क खाना खुवाउँदै आएका छन् । उनले विद्यालयमा आएका विद्यार्थीलाई दिउँसोको समयमा खाजाको साटो खाना खाने व्यवस्था मिलाएका हुन।

उनकै पहलमा स्थापना भएको पौवादुङ्मा गाउँपालिका वडा नं –५ लुभुवामा रहेको पूर्व क्षितिज प्राथमिक विद्यालयका विद्यार्थीलाई निशुल्क खानाको व्यावस्था गरेका हुन् । राईले विद्यालयको स्थापना देखि हालसम्म विद्यालयको हरेक आर्थिक पक्षमा सहयोग गर्दै आएका छन्। उनले स्थापना कालमा शिक्षकलाई तलव खुवाउने, विद्यालयको भवन निर्माणसंगै पढ्न आउने विद्यार्थीलाई निशुल्क खानाको व्यावस्था समेत गरिदिएका छन्।

विद्यार्थीका लागि निशुल्क रुपमा विद्यालयमा नै दाल भातको व्यावस्था गरिएको छ। मासिक रुपमा खर्चहुने रकम समाजसेवी जयनारायण राईले काठमडौँबाट विद्यालयलाई पठाउँदै आएका छन्। खानाका लागि मासिक न्यूनतम ५ हजार बराबरको खाद्यान्न लाग्ने गरेको प्रध्यानध्यापक जिवयकुमार केसीले बताए। विद्यालयमा नियमित खाजाको रुपमा खाना खान पाउने भएपछि विद्यार्थीहरू नियमित विद्यालय आउने गरेको प्रध्यानध्यापक विजयकुमार केसीले बताए। विद्यालयमा नै खाजाको व्यवस्था भएपिछि अभिभावहरुलाई पनि सहज भएको अविभावक गोपाल राईले बताए। विद्यालयले नजिकैको पसलबाट चामाल दाल लगायतका खाद्यान्न ल्याइ खाना बनाउने गरिएको छ। खाना विद्यालयका कार्यालय सहयोगी हिरादेवी राईले बनाउने गरेकी छिन् । तरकारी चाँहि गाउँघरमा पाइने नै उपयोग गर्ने गरिएको विद्यालयले जनाएको छ।

समाजसेवी राईको पहलमा २०४७ प्रस्तावित विद्यालयको रुपमा स्थापना भएको सो विद्यालयमा तीन वर्ष पछि दुई जना शिक्षकको व्यावस्था सरकारले मिलाएको छ भने अन्य आर्थिक तथा भौतिक निर्माण मा समेत राईले भुमिका खेलेका छन्। राईले भने ‘विद्यालयको भवन निर्माण देखि फर्निचर निर्माण लगाएत सवै आर्थिक क्रियाकलापमा मैले सहयोग गर्दै आएको छु । त्यसमा भवन निर्माणको लागि स्थानीयले श्रमदान भने गरेका छन्।’ हाल विद्यालयमा पुस्ताकालय समेत विस्तार गरि दिएको राईको भनाइ छ।

विद्यालयमा विद्यार्थीको उपस्थिति नियमिति गराउनको लागि उनले शुरुमा मकै मटमास खाजा दिने व्यवस्था मिलाएका थिए । केही वर्ष पछि खाजा परिवर्तन गरी उनले चिउरा विस्कुट हुँदै अहिले आएर खानाको व्यावस्था मिलाएको बताएका छन् । हाल विद्यालयमा ३२ जना विद्यार्थी रहेका छन । विद्यालयमा एक महिना सम्म नियमित हाजिर हुने सबै विद्यार्थीलाई कलम, कपी र तीन महिना सम्म नियामित हाजिर हुने विद्यार्थीलाई धारा तेल दिने गरेको राईको भनाई छ।

उनले २०५६/५७ साल तिर विद्यालयमा नै कपडा सिलाउने व्यावस्था मिलाएर सबै विद्यार्थीलाई एक साथ पोसाक समेत वितरण गरेका थिए। उनले भने ‘ विद्यार्थीलाई नियमित विद्यालय आउने वातातरण मिलाउनको लागि शैक्षिक सामग्री वितरण, खाजा तथा खानाको व्यावस्था लगायत मैले नै गरी दिएको हँु ।’विद्यालयमा विद्यार्थीलाई खेलकुद सामग्री पनि आफैँले व्यक्तिगत रुपमा व्यवस्था गदै आएको राईको भनाई छ । राईले यस आर्थिक वर्षमा पनि विद्यार्थीहरूलाई ४० हजार बराबरको झोलाको किनिदिएका छन् । साथै विद्यालयको खानेपानीको व्यवस्था समेत राईले नै गरिदिएको विद्यालयले जनाएको छ । (नागरिक न्युज)

प्रतिक्रिया दिनुहोस्