१२ चैत्र २०७४
दमक, एक समय पूर्वको कुरा चल्दा विराटनगरको नाम पहिला आउँथ्यो । हुन त अहिले पनि विराटनगर पूर्वको प्रमुख सहर हो । प्रदेश १ को राजधानीमा पनि । तर, अचेल राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा पूर्वतिरको विषयमा बहस र छलफल हुँदा विराटनगर होइन, दमकको नाम पहिला आउन थालेको छ ।
दमकको विकास र समृद्धिका लागि प्रभावशाली व्यक्तिदेखि नगरवासी सबै एकजुट देखिन्छन् । नगरभित्र चीन सरकारको लगानीमा बन्ने भनिएको औद्योगिक क्षेत्र, विश्वकै अग्लो बुद्ध मूर्ति निर्माण, भ्यु टावरजस्ता राष्ट्रिय गौरवका योजना सफल बनाउन स्थानीयको भूमिका सराकात्मक देखिन्छ । यतिमात्रै होइन, यहाँका युवा नगरलाई सफा, हरियाली र सुन्दर बनाउनेतिर पनि जुटेका छन् । उनीहरूले नगरको मुख्य चोकस्थित राजमार्गको दायाँ–बायाँ राखिएका गमलामा फूल रोपेर नगरलाई सुन्दर बनाउन जुटेका छन् । उनीहरूले चोकमा रोपिएका फूललाई मर्न नदिन साप्ताहिक रूपमा पानी हाल्ने, गोडमेल गर्ने, हेरचाह गरिरहेका छन् ।
राजमार्ग दायाँ–बायाँ र गणतन्त्र चोकमा उद्योग वाणिज्य संघले सय फूल रोपिएका गमला राखेको छ । ती गमलाको रेखदेख अहिले स्थानीय युवाले गरिरहेका छन् । ‘हाम्रो नगरलाई हरियाली र सुन्दर बनाउन लागिपरेका छौं,’ युवा व्यवसायी विमल शर्माले भने, ‘फूल रोपिएका गमला राखेर चोक क्षेत्र थप सुन्दर बनेको छ । यो सुन्दरतालाई सधैं कायम राख्न हामी जुटेका हौं ।’ स्थानीय जीवन चक्र समाज र आस्था कलेजका विद्यार्थीले प्रत्येक शनिबार बिहानै फूल गोडमेल गर्ने, पानी हाल्ने र गमला फुटेको भए, परिवर्तन गर्ने गरेका छन् । ‘शनिबार छुट्टीको दिन भएकाले हामी ६–७ साथी बिहानै चोकमा आएर पानी हाल्ने र फूलको स्याहारसुसार गर्छौं,’ आस्था कलेजमा बीबीएस प्रथम वर्षकी निशा पाठकले भनिन् । ‘फूलसहितको गमला राखेपछि २ महिनायता दमक चोक सुन्दर देखिएको छ । त्यो सुन्दरता जोगाउन सातामा एक दिन, बिहानको २ घण्टा फूल र गमला रेखदेखमा बिताउने गरेका छौं,’ अर्की विद्यार्थी पेरिसा आचार्यले भनिन् । वाणिज्य संघले पुस अन्तिम साता ती गमला राखेको थियो ।
‘लगत्तै हामीले पानी हाल्न थालेपछि अहिले सबै गमलाका फूल जागेका छन्,’ जीवन चक्र समाजका अध्यक्ष गणेश गौतमले भने, ‘अब त यी फूलसहितका गमला बचाउनुपर्ने हाम्रो दायित्व बनेको छ ।’ गमलाहरूमा करिब दुई दर्जन प्रजाति फूलका बिरुवा रोपिएका छन् । फूललाई आवश्यक पर्ने अर्गानिक मलको पनि युवाहरूले नै व्यवस्था मिलाएका छन् । कुनै फूल मरे स्थानीय थुलुङ नर्सरीबाट ल्याएर रोप्ने गरिएको हरि पाण्डे बताउँछन् । ‘फूलसहितको गमला राखेर नगरको मुख्य चोक क्षेत्रको सुन्दरता बढाएकोमा वाणिज्य संघ धन्यवादको पात्र भएको छ,’ प्राध्यापक टेकनाथ भण्डारीले भने । उनले यसको संरक्षणले नगरलाई हरियाली र सुन्दर बनाइराख्न ठूलो टेवा पुग्ने बताए ।
वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले पुसमा आयोजना गरिएको दमक महोत्सवमा स्वागतका लागि फूलसहितको गमला राखिए पनि अब, सधैंका लागि राख्ने बताए । उनले भने, ‘गमला राखेपछि दमकको सुन्दरता बढेको छ । यसलाई संस्थागत रूपमै रेखदेख गर्ने व्यवस्था मिलाउन हामी छलफल गरिरहेका छौं ।’ उनका अनुसार केही समयभित्रै एक माली र २ भ्यानको व्यवस्था गरिनेछ । (कान्तिपुर)