काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकीकृत पार्टी कमिटीमा दुवै पक्षका बराबरी संख्यामा नेता-कार्यकर्ता समेटिनुपर्ने प्रस्ताव गरेका छन् ।एकीकृत पार्टीका माथिल्लोदेखि तल्लो कमिटीसम्म ‘फिप्टी-फिप्टी’ (समानताको सिद्धान्त) अवधारणाका आधारमा बनाउनुपर्ने दाहालले प्रस्ताव गरेका हुन् ।
अन्तरिम विधान बनाउन गठित कार्यदलले एकीकृत पार्टीको केन्द्रीय संरचनादेखि तल्ला कमिटी कति संख्याको बनाउने र कुन पार्टीले कति प्रतिशतका आधारमा नेता-कार्यकर्ता व्यवस्थापन गर्ने भन्नेमा शीर्ष दुई नेताको निर्णय पर्खिएका बेला दाहालको पछिल्लो प्रस्ताव आएको हो ।
दुई पार्टीबीच प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका बेला एमालेलाई ६० र माओवादी केन्द्रलाई ४० प्रतिशतका आधारमा सिट बाँडफाँट भएको थियो । तर, चुनावी परिणाममा एमाले ७० र माओवादी केन्द्र ३० को नतिजामा देखिएपछि सरकार गठनमा भने ७०-३० को भागबन्डा भएको थियो।
तर, माओवादीले पार्टी एकता भने सिट बाँडफाँट र चुनावी नतिजाले मात्र निर्धारण नगर्ने भन्दै समानताको सिद्धान्तका आधारमा दुवै पक्षको समान हैसियत हुनुपर्ने बताउँदै आएको छ ।
दाहालले एमालेमा भन्दा माओवादीमा पूर्णकालीन र जुझारु कार्यकर्ता बढी भएको र विगतमा माले-माक्र्सवादीबीचको एकता, माओवादीले विभिन्न समूहसँग गरेको एकता समान ढंगले नै गरेकाले अहिले पनि दुई पार्टी एकता दुवै पक्षको अस्तित्व स्वीकार गरेर गरिनुपर्ने बताएका हुन् ।
दुई पार्टीबीच प्रधानमन्त्रीको आसन्न भारत भ्रमणअगावै पार्टी एकतालाई निष्कर्षमा पुर्याउने गरी तयारी हुन थालेपछि अब छलफल पार्टी कमिटीका आकार र कमिटीमा प्रतिनिधित्वका विषयमा केन्द्रित हुन थालेको छ ।
सोमबार साँझ प्रधानमन्त्री केपी ओली र दाहालबीचको छलफलमा पनि पार्टी एकताको तयारी, कार्यदलको काम र शीर्ष नेतृत्वले टुंगो लगाउनुपर्ने विषयमा केन्द्रित रहेर कुराकानी भएको थियो । ‘कार्यदलमा भएका प्रगति र टुंगो लगाउनुपर्ने विषयमा छलफल भएको छ’, दाहालको निजी सचिवालयले जानकारी दियो ।
ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने दुई अध्यक्षबीचको छलफल पार्टी एकताकै विषयमा केन्द्रित रहेर भएको बताए पनि छलफलका विषयमा भने अनभिज्ञता व्यक्त गरे ।
‘पार्टी एकताकै विषयमा छलफल भएको छ तर त्यसभित्रका पनि विषय यही भन्ने दुई शीर्ष नेता मात्र छलफलमा रहनुभएकाले ठ्याक्कै थाहा हुन सकेन,’ अधिकारीले भने ।
कार्यदलका संयोजक तथा गृहमन्त्री रामबहादुर थापाको सरकारीनिवास पुल्चोकमा सोमबार साँझ बसेको बैठकले पार्टी कमिटीको संख्या, सहभागिताको प्रतिशतका विषय शीर्ष दुई नेताको छलफलका आधारमा टुंगो लगाउने समझदारी गरेको छ ।
कार्यदल सदस्यसमेत रहेका माओवादी नेता जनार्दन शर्माले एकीकृत पार्टीको संगठनको आकार शीर्ष नेतामै छलफल गरी मिलाउने गरी कार्यदलले छोडेको बताए ।
माओवादीले एकीकृत पार्टीको कमिटी प्रतिशतका आधारमा नभई समानताका आधारमा हुने भएकाले त्यही सिद्धान्तमा जोड दिइरहेको पनि शर्माले बताए ।
अध्यक्ष दाहालले सोमबार मात्रै पार्टीनिकट विद्यार्थी संगठनको केन्द्रीय प्रशिक्षणलाई सम्बोधन गर्दै ओलीसँग आफूले बराबरी हैसियतको पार्टी कमिटीको प्रस्तावमा छलफल गर्न लागेको बताएका थिए ।
‘एकता सम्मानजनक हुन्छ, एकता गर्दा केन्द्रदेखि तल्लो कमिटीसम्म फिप्टी-फिप्टीकै आधारमा हुनुपर्छ, हाम्रो प्रस्ताव एमालेसँग त्यही हुन्छ,’ दाहालको भनाइ उद्धृत गर्दै अखिल क्रान्तिकारीका महासचिव उत्तम अधिकारीले अन्नपूर्णसँग भने ।
०६४ सालमा एमालेसँग माओवादीले राखेको प्रस्ताव पनि दाहालले विद्यार्थी नेताहरूको प्रशिक्षणमा स्मरण गर्दै एकता सम्मानजनक बनाउने केही आधार खुलाएका थिए ।
‘०६४ सालमा हामी ठूलो पार्टी थियौं, माधव नेपाल एमालेको नेतृत्वमा हुनुहुन्थ्यो, त्यसबेला एकताको छलफल गर्दा हामीले नै ५०-५० को प्रस्ताव राखेका थियौं, त्यसबेला हामीले ठूलो पार्टी भनेर दम्भ गरेका थिएनौं, ठूलो भनेर दम्भ गरेर पार्टी एकता हुँदैन’, दाहालले भने ।
उनले जनयुद्धका बेला र त्यसपछि पनि विभिन्न पार्टी र समूहसँग माओवादीले एकता गर्दा सम्मानजनक हैसियत दिएरै एकता भएको पनि दाहालले अनुभव सुनाएका थिए ।
‘हाम्रो अभ्यास भनेको जुनकुनै अवस्थामा पार्टी एकतामा आउनेहरूसँग पनि सम्मानजनक रूपमा गरेको अभ्यास छ,’ दाहालले भने, ‘एमाले-माओवादी दुवैमा त्यस्तै अभ्यास छ । अहिले पनि त्यही हुन्छ ।’ (अन्नपुर्ण पोस्ट)