‘हे ! गोरखनाथ उत्कृष्ट न्याय सम्पादन गर्ने शक्ति देऊ ’



गोरखा : कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी बिहान साँढे सात बजे नेपाली सेनाको एमआइसेभेन्टिनको हेलिकोप्टर चढेर गोरखा पुगे । स–परिवार गोरखा गएका उनी सेनाको हेलिप्याड नाम्जालीडाँडामा ओर्लेर गोरखकाली माताको दर्शन गर्न गए । गोरखकाली मन्दिर र गोरखनाथ गुफा रहेको ठाउँ गोरखा बजारबाट तीन किलोमिटर माथिल्लो डाँडामा पर्छ ।

त्यहाँ उनले पहिले गोरखकालीको भित्री कोठामा गएर आधा घण्टा पूजाआजा गरे । मन्दिरका पुजारी शारदाप्रसाद भट्टराईसँग टिका लगाए । भित्रिया सुसारेहरुसँग कुराकानी गरे । कर्खा गाउने गाइनेसँग भलाकुसारी गरे र गोरखनाथ गुफातर्फ लागे । गोरखनाथको गुफाभित्र पस्दै उनले त्यहाँ उपस्थित पूजारी प्रदीपनाथ योगी लगायतको शिष्टाचार फर्काए ।

गोरखनाथको पादुका रहेको भित्री कक्षमा प्रवेश गरेपछि उनले भने ‘यहाँभित्र छिरेपछि त कमरेड भन्दै मुठी उठाउनु भएन नि, नमस्कार गर्नुप-यो ।’ उनको कुराले त्यहाँ हाँसोको फोहोरा छुटेको थियो । करिब १० मिनेटको गोरखनाथको पूजा सकेपछि प्रधानन्यायाधीश जोशीले रोटघरमा नाथ सम्प्रदायका अन्य योगीसँग भेटघाट गरे । गोरखनाथको बिगुत ग्रहण गर्दै उनले भने ‘हे गोरखनाथ उत्कृष्ट न्याय सम्पादन गर्ने शक्ति देऊ ।’

नाथले धेरैबेर भट्याएर आशिर्वाद दिएपछि निर्माणाधीन गोरखा दरबार र गोरखा दरबार हेरचाह अड्डाको अबस्थाको निरीक्षण गरे । गोरखा जिल्ला अदालतको नियमित निरीक्षणको क्रममा समेत आएका कामु प्रधानन्यायधीश जोशीले जिल्ला अदालतमा प्रहरीको सलामी ग्रहण गरे ।

जिल्ला न्यायाधीश वसन्तराज पौडेलले १६ करोड रुपियाँको लागतमा निर्माणको चरणमा रहेको जिल्ला अदालतको बारेमा जानकारी गराए । सोमबार दिउसो कामु प्रधानन्यायाधीश जोशी तनहूँ जिल्ला अदालतको निरीक्षणका लागि प्रस्थान गरे ।

प्रतिक्रिया दिनुहोस्