फरक क्षमाता भएकाको नेपाल आइडल बन्ने सपना



धनगढी : डोटी सिलगढीका मुकेश देवल ९ बर्षको हुँदा घरमा सुतिरहेका बेला हात्केला नजिक सर्पले टोक्यो। लगत्तै आमाले उनलाई उनी पढ्ने स्कुलको गाडीमा राखेर डडेलधुराको टिम अस्पताल पुगाईन। चिकित्सकले छोराको ज्यान जोगाउने हो भने ५ मिनेट भित्र यसको हात काटेर फान्नुपर्छ भने।

चिकित्सकको सल्लाह अनुसार परिवारले उनको हात काट्न सहमति दियो। कलम समात्ने दायाँ हात काटिएपछि उनी अहिले बाँया हातको साहाराले सबै काम गर्छन्। उनीसँग दाँया हात त छैन तर बाँया हाँतले माईक्रोफन समातेरै भए पनि नेपाल आइडलको उपाधि जित्ने धोको भने उनको मनमा छ।

‘म नेपाल आईडल जितेर फरक क्षमता भएका ब्यक्तिहरुमा पनि प्रतिभा छ भनेर देखाउन चाहन्छु’ उनले भने। उनी आधुनिक, पप, र देउडा सबैखालका गीत गाउन सक्ने क्षमता राख्छन। ‘ म गीत गाउने मात्रै होईन, लेख्छु पनि’ उनले भने। नेपाल आईडलमा सहमागि हुने उनको घोको यसपालीको सीजन २ को अडिसनले पुराई दिएको छ।

गत बर्ष नेपालगंजमा भएकाले नेपाल आइडलको सीजन १ मा सहभागिता जनाउन नसकिएको उनले बताए। ‘यो बर्ष धनगढीमै भएकाले सहभागिता जनाउन सजिलो भएको छ। घरमा बुबा पहिले देखि गीत गाउने र डान्स गर्ने भएकै कारणले आफूमा पनि सानै देखि गीत संगीतमा रुची छ’ मकेशले भने।

रेडियो नेपालबाट नारायण गोपालका गीतहरु बज्दा उनमा पनि यस्तै गायक बन्न पाए हुन्थ्यो भन्ने सोच थियो। उनी भन्छन् ‘त्यहि सोचले नेपाल आइडलको पहिलो छनौट सम्ममा पुगाएको छ।’

बझांगको बुलग नगरपालिका १ का कमल जाग्रीको पनि दायाँ हात छैन। उनमा पनि नेपाल आइडल बन्ने धोको छ। त्यहि धोको बोकेर सुदूरपश्चिम बिश्वविद्यालय महेन्द्रनगरमा स्नातक तह तेस्रो बर्षमा अध्ययनरत कमल नेपाल आइडलको दोस्रो सिजनमा सहभागि हुन धनगढी पुगे।

काठमाण्डौमा कक्षा ८ मा पढ्दा बार्षिक परीक्षा दिन काकाको छोरासहित मोटरसाईकलमा स्कुलतर्फ जाँदै गर्दा दुर्घटनामा परेपछि उनको दाँया हात काटनु परेको हो। दायाँ हात नहुदा दायाँ हातले गर्ने सबैकाम उनी बायाँ हातबाट गर्छन्। पढाई संगसँगै उनी गीत गाउन निकै सौकिन छन्। ‘धनगढीमै नेपाल आइडलको छनौट हुँदा आफूहरु जस्ता गीत संगीतका पारखिहरुलाई सहभागिता जनाउन सुनौलो अवसर मिलेको छ’ उनले भने।

धनगढी उपमहानगरपालिका ६ कि तुलसी बोहोराको पनि बायाँ हात छैन। यस बर्ष धनगढी उच्च माविबाट एसइई परीक्षा दिदै गरेकी उनले विदाको दिन मिलाएर अडिसनमा भाग लिएको बताईन। उनमा पनि नेपाल आइडल बन्ने धोको छ।

तुलसी भने जन्मजात फरक क्षमताकी हुन। ‘आमाले म पेटमा हुँदा बिभिन्न औषधि सेवन गरेका कारण म अपांग भएर जन्मिएको हुन सक्ने घरका मान्छे बताउछन’ उनले भनिन्। गीत संगीतको रचना गर्न अपांगताले कुनै असर नपर्ने उनको बुझाई छ।

‘गत बर्ष देखि नै नेपाल आइडलमा सहभागि हुने तिव्र इच्छा थियो तर घर छोडेर नेपालगंज जान सकिनन’ उनले भनिन। ‘यो बर्ष धनगढीमै अडिसन भएकाले आफूलाई सुनौलो अवसर मिलेको महसुस भईरहेको छ।’ नेपाल आईडलको दोस्रो सिजनको धनगढी अडिसनमा तीनै जना हात नभएका उनीहरु सबैको आकर्षाण बनेका छन्। (अन्नपुर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्