तनहुँ– न्यायसम्पादन छिटोछरितो एवं प्रविधिमैत्री बनाउने उद्देश्यले तनहुँ जिल्ला अदालतमा सोमबार भिडियो कन्फरेन्स सेवा शुभारम्भ गरिएको छ ।
कायममुकायम प्रधानन्यायधीश दीपकराज जोशीको उपस्थितिमा जिल्ला न्यायाधीश अर्जुनप्रसाद कोइरालाले भिडियो कन्फरेन्समार्फत जिल्ला प्रहरी कार्यालयमा लागूऔषधको मुद्दामा रहेका बमबहादुर विकलाई मुद्दाको म्याद थप गरेका हुन् ।
कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश जोशीले समयको मागसँगै प्रविधिलाई ग्रहण गर्ने अभियानमा आपूmहरू अगाडि बढेको बताए । ‘प्रविधिलाई प्रयोग गर्ने क्रममा न्यायालय पनि अग्रसर रहेको छ, यसबाट हुनसक्ने लाभ अवश्य ग्रहण गर्नुपर्छ,’ उनले भने । सत्य पत्ता लगाउने न्यायको अभियान भएको बताए ।
कानुन र तथ्यको जगमा हराएका सत्य पत्ता लगाउने मुख्यअभिभारा न्यायसम्पादन गर्न व्यक्तिहरूको भएको कायममुकायम प्रधानन्यायाधीश जोशीको भनाइ थियो । उनले अदालतको कामलाई छिटोछरितो बनाउने भन्दैमा सत्य पत्ता लगाउन भने कञ्जुस्याइँ गर्नु नहुने बताए ।
सोमबार गृहजिल्ला तनहुँ आइपुगेका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई सलामी दिँदै प्रहरी जवानहरू ।
कार्यक्रममा उच्च अदालत पोखराका मुख्य न्यायाधीश कुमार चुँडालले जिल्ला अदालत तनहुँमा शुभारम्भ गरिएको भिडियो कन्फरेन्सले न्यायका उपभोक्तालाई सेवा प्रवाहमा सहजीकरण हुने बताए । ‘समयअनुसार न्यायालय पनि प्रविधिमैत्री हुन आवश्यक भएकाले भिडियो कन्फरेन्सको शुभारम्भ गरियो,’उनले भने ।
सर्वोच्च अदालतका रजिस्ट्रार महेन्द्रनाथ उपाध्यायले सूचना प्रविधिको अत्यधिक प्रयोग गर्न र अदालतलाई सेवाग्राहीमैत्री बनाउन यस्तो कार्यक्रम सुरु गरिएको बताए । ‘काम कारबाहीलाई छिटोछरितो बनाउन अदालत र जिल्ला प्रहरीले मात्र गरेर हुँदैन, सबैकोसाथ र सहयोग आवश्यक पर्छ,’ उनले भने ।
तनहुँका निमित्त प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेलले अब जिल्ला प्रहरी कार्यालयमा मात्र नभई तनहुँको आबुखैरेनी, डुम्रे र वेलचौतारका इलाका प्रहरी कार्यालयमा समेत भिडियो कन्फरेन्स शुभारम्भ गर्न आवश्यक रहेको सुझाव दिए ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एवं प्रहरी उपरीक्षक उमेशराज जोशीले प्रदेश नम्बर ४ मै पहिलोपटक तनुहँ जिल्ला अदालत र प्रहरी कार्यालयबीच कन्फरेन्स सेवा शुभारम्भ भएको बताए। ‘हामी प्रविधिमैत्री हुनका लागि आवश्यक भएकाले जिल्ला प्रहरी कार्यालयले समेत भिडियो कन्फरेन्स कक्ष निर्माण गरेको छ,’ उनले भने ।
यसैबीच, तनहुँ जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालयबीच भिडियो कन्फरेन्स सेवा शुभारम्भ भएपछि न्यायका उपभोक्तालाई प्रहरी हिरासतमा रहेको थुनुवाको म्याद थप गर्न, लागूऔषध मुद्दाको म्याद थप गर्नका लागि सहयोग पुग्ने जिल्ला अदालतले जनाएको छ । (नागरिक न्युज)