प्रहरी प्रशासन उद्योगीसँग मिलेको मुख्यमन्त्रीको आरोप



सर्लाही – प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद् लालबाबु राउतले स्थानीय प्रहरी प्रशासन चिनी उद्योगीसँग मिलेमतो गरेको आरोप लगाएका छन्। उखुको भुक्तानी तुरुन्त पाउनुपर्ने माग राखेर इन्दुशंकर चिनी उद्योगको मूलगेटमा आमरण अनसनसहित जारी आन्दोलनप्रति समर्थन मन्तव्य राख्ने क्रममा मुख्यमन्त्री राउतले उक्त आरोप लगाएका हुन्।

प्रदेश उद्योग मन्त्री रामनरेश राय एवं कृषि मन्त्री शैलेन्द्र साहसहित आएका मुख्यमन्त्री राउतले भने, ‘दलालमार्फत भारतीय उखु ल्याउने अनि मुलुकभित्रैका किसानलाई भने भुक्तानी रोकेर उद्योगपतिले ठूलो अन्याय गरेका छन्।’
भारतीय सिमाबाट ट्रकका ट्रक उखु भित्रिएपनि स्थानीय प्रहरी प्रशासनले आँखा चिम्लिएको मुख्यमन्त्री राउतले आरोप लगाए। ‘भारतबाट सानो पोको छिराउँदा पनि रोक्ने प्रहरी प्रशासन ट्रकका ट्रक उखु छिर्दा के हेरेर बसेको छ?,’ प्रमुख जिल्ला अधिकारी एवं नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखसमेत उपस्थित कार्यक्रममा मुख्यमन्त्री राउतले प्रश्न गरे। दलालमार्फत नगद तिरेर पर्याप्त भारतीय उखु भित्र्याउन पाएकाले उद्योगपतिले मुलुकभित्रका किसानलाई लामो समयदेखि भुक्तानी रोकेको मुख्यमन्त्री राउतको आशय थियो।

उद्योगपतिले उद्योग सञ्चालन गर्ने बहानामा किसानलाई पिडा दिने कार्य गलत भएको र त्यस्तो कार्य आफूलाई सह्य नभएको चेतावनी दिए। ‘उद्योगधन्दा पनि सञ्चालन हुनुपर्छ तर उद्योगमैत्रीको नाममा किसानले दुःख पाउने कुरा सह्य हुदैन,’ मुख्यमन्त्री राउतले चेतावनी दिए, ‘किसानलाई पिडा दिने उद्योगीमाथि कारबाही गरिनेछ।’

डेढ वर्षअघि लगाएको उखु बेचेबापतको रकम समयमै नपाउँदा किसानको दैनिक जनजीवन नै अस्तव्यस्त भएकाले उद्योगीले तुरुन्त भुक्तानी सुरु गर्नुपर्ने मुख्यमन्त्री राउतको भनाइ थियो। मूल्य तयमा बखेडा, भुक्तानीमा ढिलाइलगायत वर्षौंदेखि उखु किसानले झेल्दै आएको समस्याको दीर्घकालीन समाधानका लागि संघीय उद्योग मन्त्री मातृका यादवसँग समन्वय गरेर प्रदेश सरकारले ठोस कदम चाल्ने राउतले आश्वासन दिए।

वार्ता विना निष्कर्ष टुंगियो
त्यस्तै हरिवनमा प्रदेश सरकार, उद्योगपति र किसान प्रतिनिधिबीच त्रिपक्षीय वार्ता आयोजना गरिएको भएपनि उद्योगपति नआएका कारण वार्ताबाट कुनै निचोड निस्किएन। त्रिपक्षीय वार्तामा इन्दुशंकर चिनी उद्योगको पक्षबाट प्रशासकीय अधिकृत ठाकुर नेपाल नेतृत्वको कर्मचारी टोली सहभागी बनेको थियो। कर्मचारी टोलीले नीतिगत निर्णयको जिम्मेवारी बहन गर्न नसक्ने जानकारी गराएपछि मुख्यमन्त्री आक्रोशित भएको बताइएको छ।

शनिबारदेखि आमरण अनसन बसेका हरिवन नगरपालिकाका वडा अध्यक्ष शेष मेहबुब रेजालाई अनसन तोडाउने तयारीका साथ सर्लाही आएका मुख्यमन्त्री राउत उद्योगपति नआएका कारण कुनै निश्कर्ष ननिस्केपछि साँझ त्यसै फर्किए। ‘आइप¥यो भने प्रदेश सरकारको तर्फबाटै निर्णय गर्ने तयारीका साथ सम्बन्धित दुईजना क्याबिनेट मन्त्रीसमेत बोकेर आएको थिएँ, तर उद्योगीले बेवास्ता भएको छ,’ उद्योगपतिप्रति आक्रोशित मुख्यमन्त्री राउतको भनाइ उद्धृत गर्दै किसान नेता राजकुमार उप्रेतीले भने, ‘अनसनकारीको स्वास्थ्य अवस्था बिग्रदै गएको देखिन्छ, भोलि तलमाथि भयो भने त्यसको सम्पूर्ण जिम्मेवारी उद्योगीले लिनुपर्छ।’

कार्यक्रम स्थलमा प्रदेश सांसद्हरु डिल्लीप्रसाद उप्रेती, उपेन्द्र महतो, अशोककुमार यादव, संजय यादव, प्रदेश मुख्य न्यायाधिवक्ता दिपेन्द्र झालगायत उपस्थित थिए।

आन्दोलन जारी
उखु दिएको पौने तीन महिना बितिसक्दा समेत उद्योगीले भुक्तानी नदिएपछि गत चैत ५ गतेदेखि किसानले आन्दोलन सुरु गरेका हुन्। इन्दुशंकर चिनी उद्योगको मूलगेटमा किसानले जारी रिले अनसन शनिबारदेखि आमरण अनसनमा परिणत भएको छ। किसानको बैंक खातामा सबै भुक्तानी नभएसम्म नतोडिने अनसनमा बसेका वडाअध्यक्ष रेजाले बताए। रक्तचाप अत्यन्त न्यून भएपछि आइतबार बिहानदेखि रेजालाई स्लाइन पानीसमेत चढाइएको छ। किसान नेता उप्रेती पनि किसानको भुक्तानी सुरु नभएसम्म आन्दोलन नरोकिने बताउँछन्। (नागरिक न्युज)

प्रतिक्रिया दिनुहोस्