काठमाडौँ । नेपाली क्रिकेटका लागि लन्डनबाट खुशीको खवर आएको छ । नेपालले नेदरल्याण्ड र एमसीसी क्लबसँग लर्ड्स क्रिकेट मैदानमा टी-२० सिरिज खेल्ने भएको छ ।
सोमबार एससिसीले दुई एसोसिएट राष्ट्रसँग टी-ट्वान्टी त्रिसिरिज खेल्ने घोषणा गरेको हो । एक दिनको सो प्रतियोगिता जुलाई २९ मा हुने भएको छ । पहिलो खेल आइतबार विहान १० बजे र फाइनल साढे ४ बजे हुने एमसिसीले उल्लेख गरेको छ ।
नेपाली कप्तान पारस खड्काले होम अफ क्रिकेट भनेर चिनिने लर्डसमा पुन: खेल्न पाउनु आफ्नो सौभाग्य रहेको प्रतिक्रिया दिएका छन् । लर्डसमा खेल्नु आफैमा महत्वपूर्ण भएको र आफुफूहरु पनि यस्तै मौकाको खोजीमा रहेको पारसले बताएका छन्।
नेपालले यसअघि नेपाल-वेलायत सम्बन्धको २००औं वर्ष पूरा भएको अवसरमा सन् २०१६ मा लड्स मैदानमा एमसिसीसँग प्रतिष्पर्धा गरेको थियो । खेलमा करिब ५ हजार नेपाली दर्शक उपस्थित भएका थिए ।
नेपाल र नेदरल्याण्ड दुबैले हालै एकदिवसीय मान्यता पाएका हुन् । यस प्रतियोगिताले नेपाललाई थप अन्तर्राष्ट्रिय एक्सपोजर दिने विस्वास गरिएको छ ।