वाशिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६० जना रुसी कुटनीतिज्ञलाई देश निकाला गर्न आदेश दिएका छन् ।
बेलायतमा एक पूर्व रुसी जासूसलाई विष दिएर हत्या गरेको प्रकरणमा अमेरिकाले यो कदम चालेको अमेरिकी मिडिया सिएनएनले जनाएको छ ।
यस अघि बेलायतले पनि २३ रुसी कुटनीतिज्ञलाई देश निकाला गरेको थियो भने त्यसको जवाफमा रुसले पनि २३ बेलायती कुटनितिज्ञलाई निकालेको थियो ।
मिडिया रिपोर्टका अनुसार अमेरिकाले सियाटलमा रहेका रुसी कन्सुलरको कार्यालय पनि बन्द गर्न आदेश दिएको छ । राष्ट्रपति ट्रम्पको आदेशमा रुसी कुटनीतिज्ञहरुलाई एक साता भित्र अमेरिका छोड्न आदेश दिइएको बताइएको छ ।
अमेरिकाको वाशिंगटनस्थित रुसी राजदुतावासमा हाल ४८ जना रुसी कुटनीतिज्ञ रहेका छन् भने एक दर्जन जति न्युयोर्कमा रहेको संयुक्त राष्ट्रसंघका लागि कार्यरत छन् ।